महिलाको तस्बीर हाइलाइट गर्ने तपोवन नै हो (भिडियोसहित)
स्वामी कृष्णानन्द भारती ओशो सन्यासी हुन् । उनको संसारिक वा औपचारिक नाम गुणचन्द्र विष्ट हो । नेपालको पोल्ट्री व्यवसायमा विष्टको योगदान ठूलो छ । नेपालआजसँगको कुराकानीमा ओशो दर्शन र व्यवसाय दुवै क्षेत्रबारे कुराकानी भएको छ ।
ओशो दर्शनमा नेपालमा मिसावट गरियो भन्ने गरिन्छ । हो ?
ओशोको कुनै ठोस सिद्धान्त छैन । हामी ठोस खोज्छौं, ओशोको दर्शन त्यस्तो छैन । ओशोलाई पढ्न जाँदा ठोस रुपमा एक दुई तीन गरेर खोज्न सकिदैन । विभिन्न धर्ममा गर्न हुने नहुने कुराहरु छुट्याइन्छ । जस्तो कि क्रिष्चियानिटीमा ‘टेन कमान्डमेन्ट्स’ छ । तर ओशोले त ‘टेन नन कमान्डमेन्ट्स’ भन्नु भएको छ । यसकारण ओशोले कुनै कमान्ड गर्नुभएको छैन । फ्रिडम भन्नुभएको छ । अर्थात सन्यास भनेको नै स्वतन्त्रता हो । अर्को शब्दमा भन्नु पर्दा सन्यास भनेको स्वतन्त्रताको घोषणा हो । समाज, शास्त्र, सम्प्रदाय, सिद्धान्तले मानिसलाई विभिन्न बन्धनमा बाँधेको हुन्छ । ती बन्धनबाट मुक्त भएपछि मानिस सन्यासी हुन्छ ।
संसारका सबै मानिसहरु यस्तो बन्धनबाट मुक्त हुने हो भने संसार कस्तो बन्थ्यो होला ?
तपाईंको प्रश्न हाम्रो समाजअनुकुलको छ । यस्तो समाजसँग मिल्दो उहाँको कुनै विचार नै छैन । हाम्रो र उहाँको भाषा नै मिल्दैन । उहाँले बुझेको हामीले बुझेभन्दा फरक छ । जस्तो कि हामी दिनको विपरितार्थ रात भन्छौं । तर उहाँले परिपुरक भन्नु हुन्छ । यी दुई पक्ष एक अर्काका विपरित होइनन् । नेगेटिभ खराब, पोजिटिभ राम्रो भन्ने बुझ्छौं । यदि नेगेटिभ हुँदैन भने पोजिटिभ मात्रै रहन सक्ला ?
ओशोका उत्तराधिकारी को हो ?
सम्पत्तिको उत्तराधिकारी हुन्छ । ज्ञानको उत्तराधिकारी कोही हुँदैन । ओशो त ज्ञानभन्दा पनि माथिको हुनुहुन्थ्यो ।
नेपालमा ओशो तपोवन चाहिँ ओशोको आधिकारिक संस्था भन्ने चलन छ नी ?
हामी नेपालमा बसेर नेपालको मात्रै हेर्छौं । कुवामा बसेर कुवालाई नै संसार ठान्छौं । फेरि पनि भन्छु, ज्ञानको उत्तराधिकारी हुँदैन । सम्पत्तिको हुन्छ । ओशोसँग केही पनि सम्पत्ति थिएन ।
अहिले ओशो भन्ने नामकै ट्रेडमार्क दर्ता गरेर व्यापार भइरहेको छ त ?
नेपालमा पनि कति छन् शरिर कामेको भरमा माता घोषणा गर्ने, कति होलान् बाबा घोषणा गर्ने । धेरै छन् विभिन्न दुःख निवारण गर्ने, उपचार गर्नेहरु धेरै छन् । यिनीहरु लोभीपापी हुन् । यस्ता लोभीपापीहरु जहाँ पनि छन् । लोभी मान्छे रहुञ्जेल पापीको पेट कहिल्यै भोको रहँदैन । ओशोले कहिँ पनि आफूलाई उत्तराधिकारी राख्नु भएन ।
तपाईंहरु ओशोलाई भगवान भन्नुहुन्छ । मान्छे भगवान हुन्छ ?
भन्छन्, म भन्दिनँ । किनभने उहाँले शरिर छाड्नु तीन महिना अघि पहिलाका नाम हटाएर ओशो भन्ने नाम आयो । उहाँले आफूले केही समय भगवान शब्द प्रयोग गर्नुभयो । आखिरीमा उहाँले यो शब्द आफूले छाडेको र कसैले आफूलाई भगवान भनेमा त्यो आफ्नो लागि गाली सरह हुने उल्लेख गर्नुभयो । भगवान भन्ने शब्द आफैंमा फोहोरी शब्द पनि हो । भग भनेको योनी, वान भनेको लिंग हो । यति भनेपछि हामीले किन विवाद गरिरहनु पर्यो र ?
ओशो कम्युन र कम्युनिस्ट पार्टीले चाहेको कम्युनमा के फरक छ ?
नेपालका कम्युनिस्टहरुले कस्तो कम्युन बनाउन खोजेका हुन् उनीहरुलाई सोध्नु पर्छ । जहाँसम्म कम्युनमा सबै समान भन्ने कुरा आयो, यस्तो कहिले पनि हुन सक्दैन । नेपालमा कम्युनिस्ट सरकार छ भन्छन् त्यो मैले बुझेको छैन । समाजवाद पनि भन्छन्, त्यो पनि मैले बुझ्न सकेको छैन । उहाँले बामपन्थी पनि हुँ भन्छन् । यो शब्द कहाँबाट, कहिले शुरु भयो, यसको अर्थ के हो ? र बामपन्थ कसले शुरु गरे भन्ने विषय एक गम्भीर विषय हो ।
मान्छेले बनाएका विषय छाड्ने हो भने त मानिसमा समानता होला नी त । ओशो कम्युनमा त्यस्तो हुन्छ ?
मलाई यो प्रश्नको जवाफ दिन गाह्रो भयो । यहाँ कसले कसलाई बनायो, कसले के बनायो भन्ने विषय नै जटिल छ । महिलालाई किन पढ्न नदिने ? भन्ने विषयमा याज्ञबल्क्य र गार्गीबीच शास्त्रास्त्र भयो । गार्गीले यो श्रृष्टि भगवानले सिर्जना गरे भने भगवानलाई सिर्जना गर्ने चाहिँ को हो त त्यो ? भन्ने प्रश्न गरिन् । याज्ञबल्क्यले ‘यो अति प्रश्न भयो’ भने । अर्थात उनले तर्कमा जित्न नसकेपछि निषेध गरे । त्यसपछि महिलालाई पढ्न दिनु हुँदैन । पढ्न दिँदा अति प्रश्न गर्छन् भन्ने मान्यता विकास गरियो । बनाउनेको खोजी गर्दै जाने हो हो भने अनन्तमा पुगिन्छ ।
जस्तो कि धर्म, मजहब र रिलिजन एक अर्काका पर्यायबाची हुन् । यी तीन एक अर्काको रुपान्तरण होइन ।
म सात वर्ष कम्युनमा बसे । म बस्दा सबै काम गर्थेँ । प्रायः म व्यवस्थापनमा बसेँ । लिगल, आर्थिक, पब्लिक रिलेसनमा म काम गर्थेँ । तर अरु धेरै कामहरु पनि गर्थेँ । जसको क्षमता जे छ उसले त्यही काम गथ्र्यो । काम सानो ठूलो भन्ने हुँदैन थियो ।
नेपालका कम्युनमा त भगवानलाई झै आरती उतारिन्छ नी ?
जसले गर्यो उसैलाई सोध्नु होला । नेपालका झ्याउरे स्याउरे भन्दा मै हुँ भन्ने अरु पनि थिए, तर ती कोही पनि ओशोका उत्तराधिकारी थिएनन् । उत्तराधिकारी हुँदा पनि हुँदैनन् । आरती, फूलमाला, मूर्ति पुजा गर्नेहरु परम्परागत ढर्रा चल्ने भएर त्यस्तो गरिएको हो ।
ओशो तपोवनमा त विशिष्ट व्यक्तिहरुको आरती उतारिन्छन किन ?
हाम्रो समाजमा अहिले पनि माग अन्धविश्वासको छ । त्यही अन्धविश्वास ओशो तपोवनले बिक्री गर्छ । ओशो तपोवन व्यापार हो । लगानी बिनाको लगानी हो । लोभी हुञ्जेल पापीको पेट खाली हुँदैन । ओशो तपोवन जानेहरु सबै ध्यानका लागि जाँदैनन् । विभिन्न स्वार्थ पूरा गर्नका लागि पनि जान्छन् । जति पनि समाजमा धर्मका ठेकेदारहरु छन् नी सबै व्यापारी हुन् । सन्यासी भएपछि श्री भन्ने उपाधि किन चाहियो ? स्वामी भएपछि किन चाहियो बोधिसत्व ?
आनन्द अरुणको पूरा नाम के हो थाहा छ ? म भन्छु, ‘बोधिसत्व आचार्य स्वामी आनन्द अरुण’ यो नामको उहाँले खुब प्रचार गर्नुहुन्छ । मानिलिनुस तपाईं आफ्नो मिडियाको सम्पादक हो र आफू सम्पादक भएको खुब प्रचार गर्नुहुन्छ भने तपाई ‘ठीकैको मान्छे’ हो । खासै गुदी भएको मान्छे होइन । आनन्द अरुण पनि आफ्नो टाइटलको खुब प्रचार गर्नुहुन्छ । त्यो पनि हुँदै नभएको उपाधि । उहाँ पनि त्यस्तै हो । ओशोले नामका अगाडिपछाडि अनेकन उपाधि जोडेर एक खेल खेल्नु भएको थियो । खेल सकिएपछि सबै फालिदिनुभयो । त्यो खेलमा अहिले पनि अरुणहरु रमाइरहनु भएको छ ।
ओशोका सन्यासीहरुले किन फेरि मूर्ती पुजालाई प्रश्रय दिएको होला ?
अब मूर्ती पुजाको प्रशंग आउँदा भगवान कृष्णको विषय जोड्छु । उनी विष्णुका अवतार हुन् भन्ने थाहा छ । तर उनलाई विरोध गर्ने पनि त्यो बेला थिए । महाभारत जितेपछि पाँच पाण्डवबीच विवाद भयो कि कसका कारण जित भयो ? यो प्रश्नको जवाफ कृष्णले नदिएपछि पाण्डप एकलव्यभए ठाउँ पुगे । जसरी भगवान कृष्ण बुझाउन कठिन छ । कृष्ण दिन पनि हुन् रात पनि हुन् । साँझ पनि हुन् बिहान पनि हुन् । गुलीयो पनि हुन्, तीतो पनि हुन् । सुगन्ध पनि हुन् दूर्गन्ध पनि हो । अर्थात उनी सम्पूर्ण हुन् । के हुन् के हैनन् भन्ने नै छैन । सबै हुन । कसैले कृष्णमा प्रेम देखेर पुज्छन्, कसैले सत्य, कसैले धर्म ।
ओशो पनि यस्तै भेग छन् । जता छोयो त्यो पनि छ, हेर्दा उल्टो पनि देखिन्छ । यसकारण म ओशोलाई यस्तै हुन् भनेर परिभाषा गर्न सक्दिनँ । अब तपाईंले अरुण र ओशो तपोवनलाई नै ओशोको मापदण्ड मानिदिनु भयो । यो साँघुरो घेरामा बसेर ओशो बुझ्न सकिदैन ।
धेरैले आनन्द अरुणलाई नै आधिकारिक प्रतिनिधि भनेर बुझ्छन नी त ।
अरुणको मात्रै किन कुरा । देवीमाताहरुका ठेकेदार छन्, ठेकेदारनीहरु छन् । विष्णु, महादेवका ठेकेदार अरु पनि छन् । जब ठेकेदार हुँ भनेपछि मात्रै बिक्री भइन्छ भने मान्छेले भगवानको ठेकेदार हुँ त भन्ने नै भयो ।
आनन्द अरुणले हिजोका दिनमा जस्ता परम्परा, अन्धविश्वास थिए हाम्रो समाजमा त्यसैलाई ओशोको विचारमा ल्याएर मिसाइएको छ । तपाईं बारम्बार उनी नै ‘म्यासेन्जर’ हुन् भन्नु हुन्छ भने त्यो तपाईंको कुरा हो म त भन्दिनँ । उनी खासमा केही पनि होइनन् । ओशोले शरिर त्याग्ने समयमा उनले काम गरेका पनि होइनन् ।
अरुण अब साथीभाई नै हुन् । मैले एकाधपटक सम्झाएको पनि थिएँ । उनले पनि बारम्बार भनेका थिए कि ‘म पथभ्रष्ट हुन सक्छु । साथीभाईले सुधार्नु पर्छ ।’ मैले उनलाई प्रष्ट भनेको पनि हो । तपोवनकै केसमा मैले उनलाई ‘कमजोरमाथि बद्मासी’ भयो यस्तो नगर्नूस् भनेको हो ।’
आफ्नै गुरुभाईहरुलाई जेल हाल्ने काममा उत्रिनु भएको छ नी त उहाँ !
हो, त्यो काम नगर भनेको थिए । झगडा नगर पनि भने मानेनन् । महिलाले खुट्टा मसाज गरेको तस्बीर प्रचार गर्ने काम तपोवनले नै गर्यो । केस तपोवनले नै गरेको हो । मुद्दा मामिला तपोवनले नै गर्यो । हाइलाइट गर्ने काम तपोवनले नै गरेर उचालेको हो ।
ओशोले ‘म नेपालमा बसिरहेमा अरुणको पत्ता कट्छ’ भन्नु भएको हो ?
अरुण हाइलाइट भएको कारण नै ओशो नेपाल आएर ६ हप्ता बसेका कारण हो । एक हप्ताका लागि आउनु भएको थियो । के कारण पर्यो ६ हप्ता बस्नुभयो । ओशो नेपालमा अटाउन सक्ने व्यक्तित्व नै हुनुहुन्थेन । समुद्रलाई कचौरामा हाल्न खोजेर हुन्छ र ? ओशो नेपाल आएपछि म नै हुँ सर्वेसर्वा जस्तो गरे । उनलाई अरुले उचालेको पनि छन् । पहिले पनि अरुणलाई दुइ पटक अरुले उचाल्दा दुई चार वर्ष सन्केका थिए । स्वामी कृष्णबेदान्तले ‘केही समस्या नभए को सन्यासी हुन्थ्यो र ? स्वामीजी’ भनेका थिए । त्यो सुनेर अरुण तिल्मिलाएका थिए । अरुणले गेरु वस्त्र लगाउनमा जोड दिए, कृष्णवेदान्तले भने कि ‘कुखुराको प्वाँख पनि गेरु नै हुन्छ । के कुखुरा पनि सन्यासी भयो ? ’ भनेर सोधे । उनी फेरि तिल्मिलाए ।
अहिले बजारमा बिक्री हुन्छ भनेर आरती उतार्ने, पुष्पमाला चढाउने, स्वागत सत्कार उस्तै गर्ने, चाकरी चाप्लुसी बिक्छ । उहाँले त्यही गर्नुहुन्छ ।