विचार

५२ प्रतिशत ल्याउने नागरिक हैनन ?

५२ प्रतिशत ल्याउने नागरिक हैनन ?

महाभारत कथाका पात्र राजा भरतले राजसिंहासनबाट आफ्ना नौ भाइ छोरा हुँदाहुँदै अर्कै व्यक्ति भारद्वाज मनुलाई युवराज घोषित गरेका थिए । राजमाता शकुन्तलाले ‘तिमी कस्तो पिता हौ, जसले आफ्नो पुत्रको अधिकार खोसेर अरुलाई प्रदान गर्छौ ?’ भन्दै असन्तुष्टि व्यक्त गरिन ।
राजमाताको प्रश्नको जवाफमा ‘म यस्तो पिता हुँ जो केवल पिता मात्र हुइँन, राजा पनि हुँ । हजुर त माता हो, ममताले हजुरलाई विवश गरिदिएको छ । म राजा हुँ , न्यायले मलाई बाँधी राखेको छ । मेरो परिवार विशाल छ । फेरि जसलाई मैले युवराज घोषणा गरेको छु उनी पनि त मेरै पुत्र हो । उनी पनि मेरै प्रजा मध्येकै एक हुन । सारा जनसमुदाय नै मेरो परिवार हो । यदि मेरो पुत्रलाई युवराज घोषणा गरेको भए यो राज्य र प्रजा दुबैलाई अन्याय हुन जान्छ । मैले जो गरें त्यसबाट त मेरो पुत्रले न्याय गर्यो भनेर हजुरलाई त गौरव पो लाग्नु पथ्र्यो ।’ राजा भरतले भनेका थिए । यो महाभारत कथाको मार्मिक संवाद हो । 

यसपल्ट लोकतान्त्रिक गणतन्त्र नेपालमा निजामती कर्मचारी पूर्तिका लागि उपयुक्त उम्मेद्वार छनौट गर्न अपनाउने प्रक्रियाको सिलसिलामा लिने परीक्षाको लोकसेवा आयोगले विज्ञापन प्रकाशित गर्यो । तर अन्तरिम संविधान र २०७२ सालको संविधानले समावेशिताको सिद्धान्त अपनाई अघि छुट्याइएको प्रतिशत बमोजिम नगरी आरक्षित प्रतिशतको कोटा घटाई विज्ञापन गरियो । आरक्षण पाउने जातजाति त्यसको विरुद्ध उत्रेर धर्ना, नाराजुलुस आदि लाउन थाले । त्यसै सन्दर्भमा सम्माननीय प्रधानमन्त्री  केपी शर्मा ओलीज्यूले कान्तिपुर टीभीका बरिष्ठ पत्रकार भूषण दाहाललाई अन्तर्वार्ता दिनु भएको रहेछ । सुनियो, हेरियो । 

सम्माननीय प्रधानमन्त्रीज्यू , तपाईंको सो अन्तर्वार्ताको प्रतिक्रिया स्वरुप मैले माथि महाभारत कथाको संवाद उद्घृत गरेको हुँ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो । यही नै नेपालको यथार्थ धरातल वा जग हो भन्दा अत्युक्ति नहोला । त्यसैले लोकतान्त्रिक गणतन्त्र स्थापना भएदेखि यता जनजाति, मधेशी, दलित, मुस्लिमहरुलाई मुलुकको विकास कार्यमा सहभागिताका लागि समावेशी गराउन कानुनको माध्यमबाट आरक्षित कोटा छुट्याई सोही बमोजिम सम्बन्धित निकायहरुले काम गर्दै आएका थिए । सोही कुरालाई मनन गर्दै ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र हो भन्दै ती विभिन्न जातजाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्न राष्ट्रिय सुरक्षा नीतिको आधारमा नेपाल सेना, प्रहरी सबै सुरक्षा निकायलाई समावेशी बनाउने र सबै सरकारी सेवामा पदपूर्ति गर्दा समानुपातिक समावेशी सिद्धान्तको आधारमा हुने व्यवस्था गरिएको छ’ भन्ने २०७२ सालको संविधानमा उल्लेख छ । 

सम्माननीयज्यूको सो अन्तर्वार्ता हेरें । ‘जातको आधारमा भागबण्डा दुनियाँको कुन देशमा छ ? शासन व्यवस्था जातका आधारमा, विद्यार्थीले जातका आधारमा पढ्न पाउने डाक्टर, इन्जिनियर जातका आधारमा हुने । धन्न पौडी खेल्न जातको आधारमा पानीमा हालेका छैनौं । नत्र कति मान्छे सिद्धिन्थे किनभने जातका आधारमा पानीले त मान्दैन नि । यो पढाइमा ८२ प्रतिशत अंक ल्याउने जातका आधारमा मेडिसिन पढ्न पाउँदैन, ५२ प्रतिशत अंक ल्याउनेले आरक्षण भनेर पढ्न पाउँछ । ५२ प्रतिशत ल्याउनेले मेडिसिन पढ्छ, हाम्रो अपरेसन गर्छ, उपचार गर्छ, औषधी दिन्छ । ५२ र ८२ भनेको एउटै हो ट्यालेन्सी ? कि त परीक्षा सिस्टम हटाई दिउँ’ अन्तर्वार्तामा यस्तो तर्क गर्दै प्रश्न गर्नु भएको रहेछ । 

वेष्टमिनिस्टर पद्धतिमा बहुमत ल्याउने दलको नेता प्रधानमन्त्री बन्ने गर्दछ तापनि वास्तवमा प्रधानमन्त्री भनेको त्यो दल र कार्यकर्ताको मात्रै होइन । त्यो मुलुकको सम्पूर्ण जनताको प्रधानमन्त्री हो, सम्पूर्ण जनताको अभिभावक हो । धनीमानी, ठूलाठालूको मात्र नभएर गरिबगुरुबा र दीनदुखीको पनि प्रधानमन्त्री हो । अझ भनौं देशकै अभिभावक हो । उ त्यो मुलुकको सरकार प्रमुख हो । मुलुकको सबै जनताको रक्षा गर्नु र सबै जनतालाई न्याय गर्नु प्रधानमन्त्रीको कर्तव्य हो । बलियो सिंहले अघाएर छोडेको मात्र हुँडारले खान पाउने, हुँडार अघाएर छोडेको मात्रै गिद्ध र गिद्ध अघाएर छोडेको मात्रै कमिलाले खान पाउने जंगली पशुको राजको जस्तो प्रधानमन्त्री पद होइन । निर्धो दुब्ला पातलोले खानै नपाउने भन्ने त मानव समाजको राज होइन । हो त्यसैले दुनियामा कल्याणकारी राज्य अझ भनौं रामराज्यको सिद्धान्त प्रतिपादन गरिएको हो । आरक्षणको कुरा पनि त्यही कल्याणकारी मुलुक र समाज निर्माणको जगमा खडा गरिएको न्यायपरायण पद्धति हो । कम्तिमा पशु समाज भन्दा माथि उठोस भनेर व्यवस्था गरिएको हो । पशु समाज र मानव समाजमा फरक होस भनेर गरिएको हो । 

म भन्छु ‘राजा भरतले महाभारत कथामा भने जस्तै सम्माननीय प्रधानमन्त्रीज्यूले भन्न सक्नु पथ्र्यो । त्यसो भन्नु भएको भए तपाईंको कद सगरमाथा भन्दा उच्च  हुन्थ्यो । ८२ प्रतिशत  र ५२ प्रतिशत ल्याउनेहरु पनि तपाईं प्रधानमन्त्री हुनु भएकै माटोका उपज हुन । ५२ प्रतिशत त के काला अक्षर भैंसी बराबर देख्नेहरु पनि मुलुकमा अझ पनि छन । आरक्षण छुट्याउने बित्तिकै सम्पूर्ण रिक्त पद ५२ प्रतिशत ल्याउनेहरुलाई सुम्पिने भन्ने होइन । तर पशुराज जस्तो भयो भन्ने मात्रै हो । त्यसैले तपाईं ८२ प्रतिशत ल्याउनेहरुको मात्र प्रधानमन्त्री नबन्नुहोस । त्यसले तपाईंको कद बामपुड्के पनि अति बामपुड्के भएको दुनियाँले महशूस गरिरहेको छ ।

फेरि ८२ प्रतिशत ल्याउनेहरु कस्ता रहेछन भन्दा सुरेन्द्र कोइराला, केदार भट्टराई जस्ता । जसले परीक्षा नियन्त्रण कार्यालयको कर्मचारीहरुलाई आर्थिक प्रलोभनमा पारेर ८२ प्रतिशत त के सतप्रतिशत ल्याउने हैसियत राख्दा रहेछन् । परीक्षा नै माथि तल पारेर आफ्ना आफन्तलाई उतीर्ण गराउनेहरुलाई अख्तियारले हालसालै मुद्दा चलाएको समाचार सुन्नमा  आएकै थियो । त्यस्ता ८२ प्रतिशत त के सतप्रतिशत ल्याउनेहरु नै लोकसेवा आयोगमा पनि फेरि त्यही तरिकाले उत्तीर्ण गरी, गराई राष्ट्रसेवक बने, बनाइएका छन् । डाक्टर, इन्जिनियर बनाइएका छन् ।

ती डाकछरहरुका ट्यालेन्ट कस्ता कस्ता छन भने अपरेसन थिएटरमा लगेर भित्रै सिध्याएपछि ‘सीसीयूमा राखिएको छ उपचार हुँदैछ’ भन्दै १५, २० दिनसम्म ढाकछोप गर्दै राख्ने अनि ढाकछोप गर्न नसक्ने भएपछि ‘बचाउन सकिएन’ भनेर आफन्तलाई मृतकको लास जिम्मा लाउने ट्यालेन्टहरु पनि देखिएकै छ । दाहिने घुँडाको अपरेसन गर्नु पर्ने देब्रे घुँडाको अपरेसन गर्ने, अपरेसन गरेर पेटभित्रै सिजरिङ सामान छोडेर फेरि अपरेसन गर्ने ट्यालेन्टहरु पनि मिडियामा प्रशस्त सुन्नमा आएकै हुन् । इन्जिनियरहरुको ट्यालेन्ट बताउँदा कुरा लामो हुन्छ नगरौं यहाँ ।

तपाईंले ८२ प्रतिशत ल्याउनेहरुको कुरा गर्नु भयो, तिनीहरुले नै राज्यको प्रायः सबै अंग छपक्कै ढाकेका छन, ओगटेका छन । तिनीहरुले समाजको लागि, मुलुक समृद्धिको लागि के गरेका छन् ? सम्माननीयज्यू , तपाईंले तिनीहरुको कामको हिसावकिताव लाउनु भएको छ ? प्रतिशत निकाल्नु भएको छ ? दिनदिनै भने जस्तो अख्तियारको फन्दामा पर्नेहरु को छन ? ३३-३८ किलो सुनको तस्करी गर्नेहरु को छन ? सुन तस्करीमा संलग्न सनम शाक्यको हत्या गर्ने को हुन् ? सिन्डिकेटको माफियाहरु को छन ? निर्मला पन्त बलात्कार र हत्याकाण्डमा संलग्न को छन ? वाईड बडी जहाज खरिद प्रकरणको भ्रष्टाचारमा निर्लिप्त, फोरजी काण्डमा संलग्न को छन ? एनसेलबाट कमिसन खाएर कर तिर्नु नपर्ने बनाउने शासक प्रशासक र ठहर गर्ने न्यायमूर्तिहरु को छन ? कर फछ्यौट आयोगका चुडामणि शर्मा को हुन ? भ्रष्टाचार मुद्दामा अहिलेसम्म अदालतबाट ठहर भएकाहरु को छन् ? आफ्नो जन्म दर्ता र नागरिकता नै किर्ते गर्ने, सच्याउने सम्माननीय हुन पुगेकाहरु को छन ? के तिनीहरु ५२ प्रतिशत ल्याउनेहरु मध्येका हुन ? हेक्का राख्नुहोस ती सबै तपाईंले ८२ प्रतिशत ल्याउनेहरु भन्नु भएकै मध्येका हुन । ५२ प्रतिशत ल्याउने मध्येका एकजना पनि तपाईंले पाउनु हुन्न ।

म तपाईंको सल्लाहकार होइन तर पनि तपाईंलाई सम्माननीय बनाएको माटो मुलुकमै जन्मिएको एउटा नागरिकको हैसियतले म यो नमागेको सल्लाह दिन चाहन्छु । तपाईं महाभारत कथाको भरत राजाको आमा जस्तो रगतको नाता हेरेर युवराज नियुक्ति गर्नु पर्ने तर्क दिने राजमाताले जस्तो तर्क नदिनुहोस । तपाईंले ८२ प्रतिशत ल्याउने भन्नु भएको वर्ग र जमातको मात्र सम्माननीय नबन्नुहोस । त्यो क्रियाकलाप र नीतिले तपाईंले नेतृत्व गर्नु भएको सरकार मात्र होइन दल पनि पातालमा भासिन्छ ।

तपाईंले ८२ प्रतिशत ल्याउने भन्नु भएको वर्ग र जमात विश्वमा बदनाम भएर जानेछ । ८२ प्रतिशत ल्याउनेले मात्र मुलुक बनाउँदै लैजाँदा त्यसले विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदाय बीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यवद्धता कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने जुन कुरा संविधानले परिकल्पना गरेको छ त्यो पनि ध्वस्त हुनेछ । अतः राजा भरतले जस्तो तपाईं सम्माननीय हुनु भएको मुलुकको सबै जनता, नागरिक पनि तपाईंको जनसमुदायकै मानिस हुन् । तिनीहरुको पनि सम्माननीय बन्नुहोस ।

मानि लिउँ तपाईंको छोराछोरी कोही दृष्टिविहीन होलान, कोही खुट्टाविहीन होलान कोही मन्द बुद्धिका होलान त कोही ८२ प्रतिशत ल्याउने होलान । अब ती अपाङ्गता भएका तपाईंको छोराछोरीले ८२ प्रतिशत ल्याउन सकेनन भने उनीहरुले जंगली राजमा जस्तो उभ्रेपाभ्रेको मात्रै खाने ख्वाउने गर्नु हुन्छ ? उनीहरुले अरु सन्तान समान बाँच्न नपाउने ब्यवस्था गर्नु हुन्छ ? उनीहरुलाई ८२ प्रतिशत ल्याउने सन्तानको तुलनामा हेलाहोचो गरेर राख्नु हुन्छ ? यसको जवाफमा तपाईं के भन्नु हुन्छ ?

सम्माननीयज्यू , तपाईंले जंगली राजकै प्रधानमन्त्री हुन खोज्नु भएको हो भने मेरो भन्नु केही छैन । त्यस्तो राज त कल्याणकारी वा रामराज्यमा हुन सक्तैन । तपाईंले त आरक्षणले मुलुकको सबै नागरिकहरुमा न्याय परेको छ, मुलुक रामराज्य नै हुन पुगेको छ भनेर गौरव पो मान्नु पथ्र्यो । तपाईंले राजनीति गर्दै आउनु भएको त सर्वहाराको वर्गको उत्थानको हो । तर  त्यो त तपाईंबाट आशा गर्ने ठाउँ भएन । कार्यकर्तालाई कनिका छरे जस्तो बजेट छर्ने तपाईंको आर्थिक नीति र योजनाहरुले मुलुक समृध्द बन्दा पनि बन्दैन । तर पनि ५२ प्रतिशत ल्याउने जनता र गरिब, निर्धा, रोइरहेका मुलुकवासी जनतालाई पनि सम्माननीय बन्नु भएको मुलुकको नागरिक हुन भन्ने सोचिदिनुहोस र न्याय गर्नुहोस । अब्राहम लिंकन र मण्डेला जस्तो विश्वको एउटा चर्चित नेता मध्येको नेता बन्नु होस । 
 

महाभारत कथा सुरक्षा नीति

विशेष