स्वास्थ्य

गर्भावस्थामा यसकारण दुख्छ पेट 

गर्भावस्थामा यसकारण दुख्छ पेट 


काठमाडौं । गर्भावस्था संवेदनशील अवस्था हो । गर्भावस्थामा महिलामा थुप्रै परिवर्तन देखापर्छन् । खासगरी शरीरका अंगमा लचिलोपन आउने भएकाले पनि शारीरिक परिवर्तन देखापरेका हुन् । सामान्यतया समय बित्दै जाँदा गर्भको आकार पनि बढ्दै जाने गर्छ । जसका कारण पेटबाहेक अन्य अंग, मांसपेशी, आन्द्रा आदिमा भार पर्ने हुदाँ पेट दुख्ने गर्छ । गर्भावस्थामा पेट दुख्नु सामान्य हो । तर, अत्यधिक दुख्नु, बारम्बार दुख्नु र पेट दुखाइसँगै अन्य स्वास्थ्य समस्या देखापरेमा भने चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । अब जानौँ, गर्भावस्थामा पेट दुख्नुका कारणबारेः

 

कारण 
गर्भ डिम्बवाहिनी नलीमा गएर बसेमा तल्लो पेट दुख्ने गर्छ । जसले गर्दा कतिपयमा रक्रश्राव हुने र रोकिने हुन्छ । त्यस्तै, सुरुको अवस्थामा भ्रूण पाठेघरको पर्खालमा गएर बस्छ । जसका कारण समेत कतिपयमा पेट दुख्छ । जसलाई मेडिकल भाषामा ‘इम्प्लान्टेसन’ भनिन्छ ।


गर्भ रहेको ६ महिना वा अन्यतिर रगत बग्ने र रोकिने हुन्छ । यो अवस्थामा कतिपयमा नाल पाठेघरको घेराबाट खस्किन सक्छ । जसले गर्दा पीडा महसुस हुन्छ । 


 
कब्जियतको समस्या भएमा समेत पेट दुख्ने समस्या हुन्छ । कहिलेकाहीँ पाठेघरको दबाब आन्द्रामा पर्ने भएकाले कब्जियत हुन सक्छ । यसका लागि प्रशस्त पानी पिउनुका साथै खानपानमा ध्यान दिनुपर्छ । 

 

प्रसूति हुनुभन्दा अघि पेटमा अत्यधिक दुखाइ हुन्छ । छोटो समयमा यस्तो धेरैपटक हुन्छ । साथै, योनीबाट पानी र रगत बग्ने भएकाले निकै पीडादायक हुन्छ । 

 

अत्यधिक पेट दुखेमा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । कतिपयमा अत्यधिक रगत बग्दा समस्या हुने भएकाले स्वास्थ्यप्रति सचेत रहन जरुरी छ । यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा परोपकार प्रसूतिगृह, थापाथलीमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ  प्रा.डा. गेहनाथ बरालले लेखेका हुन् ।  

पेट गर्भावस्था

विशेष