खेल

विश्वकप क्रिकेटः न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा

विश्वकप क्रिकेटः न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा

काठमाडौं । इंग्ल्याण्ड क्रिकेट टिम २७ वर्षपछि आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्न सफल भएको छ । बुधबार राति न्यूजिल्याण्डलाई १०९ रनले हराउँदै इंग्ल्याण्ड २७ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको हो । इंग्लिश टिम अन्तिम पटक १९९२ को विश्वकपमा सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो ।विश्वकपको ४१ औं खेलमा इंग्ल्याण्डले दिएको ३०६ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको न्यूजिल्याण्ड ४५ ओभरमा १८६ रनमै सेमेटियो ।

 

उसका लागि टम लाथमले सर्बाधिक ५७, रस टेलरले २८, कप्तान केन विलियम्सनले २७, जिमी नीशमले १९, मिचेल सान्टनरले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमासमेत रन बनाउनस सकेनन् । बलिङमा मार्क उडले ३, जोफ्रा आर्चर, बेन स्टोक्स, आदिल रशिद, क्रिस ओक्स र लायम प्लेङकटले एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन बनायो । उसका लागि जोनी बेरिस्टोले शतक बनाए । उनले १५ चौका र १ छक्काको मद्दतमा ९९ बलमा १०६ रन बनाए ।

 

जारी विश्वकपमा बेरिस्टोको यो लगातार दोस्रो शतक हो । यसअघि उनले भारतविरुद्ध १११ रन बनाएका थिए । न्यूजिल्याण्डविरुद्ध उनी र जेसन रोयबीच पहिलो विकेटका लागि १२३ रनको साझेदारी बन्यो । रोयले ६० रन बनाए । जारी विश्वकपमा उनको तेस्रो अर्धशतक हो । साथै रोयले यो विश्वकपमा एक शतकसमेत बनाइसकेका छन् ।

 

यस्तै कप्तान इओन मोर्गनले ४२, जो रुटले २४, जोस बटलर, आदिल रशिदले १६, बेन स्टोक्सले ११–११, क्रिस ओक्सले ४ रनको योगदान दिए । लायम प्लेङकट १५ र जोफ्रा आर्चर १ रनमा अविजित रहे । बलिङमा जिमी नीशम, म्याट हेनरी, ट्रेन्ट बोल्टले २–२, टिम साउथी र मिचेल सान्टनरले एक–एक विकेट लिए । इंग्ल्यान्ड ९ खेलमा ६ मा जीत र ३ मा हारका साथ १२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।

 

न्यूजिल्यान्ड ९ खेलमा ५ मा जीत र ३ मा हारका साथ ११ अंक बटुल्दै चौथो स्थानमा छ । शुक्रबार पाकिस्तान र बंगलादेश खेल्ने छन् । पाकिस्तान पराजित भए न्यूजिल्यान्ड स्वत सेमिफाइनलमा प्रवेश गर्ने छ । पाकिस्तान विजयी भए नेट रन रेटका आधारमा टुङ्गो लाग्ने छ । यद्यपि पाकिस्तानले असम्भव प्रायः नतिजा निकाले मात्र सेमिफाइनलमा प्रवेश गर्नेछ । अष्टेलिया र भारतले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।  

विश्वकप क्रिकेट न्यूजिल्याण्ड भर्सेस इंग्ल्याण्ड

विशेष