खेल

विश्वकपः वेस्ट इन्डिजको सुखत अन्त्य, अफगानिस्तान २३ रनले पराजित

विश्वकपः वेस्ट इन्डिजको सुखत अन्त्य, अफगानिस्तान २३ रनले पराजित

काठमाडौं । इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई हराउँदै वेस्ट इन्डिजले सुखत अन्त्य गरेको छ । बिहीबार राति लीड्समा सम्पन्न खेलमा अफगानिस्तानलाई २३ रनले हराउँदै वेस्ट इन्डिजले सुखत अन्त्य गरेको हो । वेस्ट इन्डिजले दिएको ३१२ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २८८ रन मात्र बनाउन सक्यो ।

 

उसका लागि १८ वर्षीय इकरम अलिखिलले ८ चौकाको मद्दतमा ९३ बलमा ८६ रन बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । उनलाई क्रिस गेलले एल्बीडब्लू आउट गरेका थिए । यस्तै रहमत शाहले ६२, असघर अफगानले ४०, नजिबुल्लाह जर्दानले ३१, सायद शिर्जादले २५ रन बनाए । बलिङमा वेस्ट इन्डिजका कार्लोस ब्रेथवेटले ४, किमर रोचले ३, ओसेन थोमस र क्रिस गेलले एक–एक विकेट लिए । 

 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३११ रन बनायो । उसका लागि साई होपले ७७, इभन लुइस, निकोलश पूरनले ५८–५८, कप्तान जोसन होल्डरले ४५, शिमरोन हिटमायरले ३९, क्रिस गेलले ७ र कार्लोस ब्राथवेटले नट आउट १४ रन बनाए । बलिङमा अफगानिस्तानका दौलत जर्दानले २, मोहम्मद नाबी, रशिद खान, सायद शिर्जादले एक–एक विकेट लिए । 

 
जारी विश्वकपमा अफगानिस्तानले ९ खेलमा एक खेलमा पनि जीत हासिल गर्न सकेन् । यस्तै पूर्व विश्वविजेता वेस्ट इन्डिज ९ खेल खेल्दा मात्र २ खेलमा जीत दर्ता गर्दै विश्वकपबाट बाहिरिएको छ । उसले पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले हराएको थियो ।  

विश्वकप क्रिकेट वेस्ट इन्डिज भर्सेस अफगानिस्तान

विशेष