खेल

विश्वकपमा बाबरले रचे इतिहास, तोडियो जावेदको कीर्तिमान

विश्वकपमा बाबरले रचे इतिहास, तोडियो जावेदको कीर्तिमान

काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानका युवा ब्याट्सम्यान बाबर आजमले नयाँ उपलब्धि हासिल गरेका छन् । उनले पाकिस्तानका लागि एकै विश्वकपमा सर्बाधिक रन बनाउने खेलाडी बन्दै नयाँ उपलब्धि हासिल गरेका हुन् । शुक्रबार बंगलादेशविरुद्ध ९६ रन बनाएसँगै बाबर एकै विश्वकपमा सर्बाधिक रन बनाउने पहिलो पाकिस्तानी ब्याट्सम्यान बने ।

 

बाबरले आफ्नो पहिलो विश्वकपमै ८ खेलमा ४७४ रन बनाउन सफल भए । यसक्रममा उनले तीन अर्धशतक र एक शतक बनाए । यसअघि पाकिस्तानका लागि एउटै विश्वकपमा धेरै रन बनाउने खेलाडीको कीर्तिमान जावेद मियादादको नाममा थियो । उनले १९९२ को विश्वकपमा ४३७ रन बनाएका थिए । पाकिस्तान सेमिफाइनल पुग्न नसके पनि बंगलादेशको खेलमा ९४ रनले विजयी भयो । 

 

अफ्रिदिको नयाँ कीर्तिमान 
बाबरसँगै पाकिस्तानका १९ वर्षीय तिव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पनि नयाँ कीर्तिमान बनाएका छन् । उनले बंगलादेशविरुद्ध ६ विकेट लिएर कीर्तिमान बनाउन सफल भएका हुन् । अफ्रिदिले यो खेलमा ९.१ ओभरमा ३५ रन दिएर ६ विकेट हात पारे । उनी सबैभन्दा कम उमेरमा विश्वकपमा ६ लिने पहिलो बलर बनेका छन् ।  


अन्तिम ४ मा पुग्ने टिमको टुंगो
विश्वकप २०१९ को सेमिफाइनल पुग्ने ४ टिमको टुंगो लागेको छ । शुक्रबार बंगलादेश र पाकिस्तानबीचको खेल सकिएसँगै जारी विश्वकपको सेमिफाइनलमा पुग्ने ४ टिमको टुंगो लागेको छ । १२ औं संस्करणको वान डे विश्वकपको अन्तिम ४ मा अष्ट्रेलिया, भारत, इंग्ल्याण्ड र न्यूजिल्याण्ड पुग्न सफल भएका हुन् । 

 

चम्किँएन पाकिस्तानको भाग्य 
शुक्रबार राति बंगलादेशविरुद्ध ९४ रनले विजयी हुँदा पनि नेट रनरेटका आधारमा पाकिस्तान सेमिफाइनल पुग्न भने असफल भयो । पाकिस्तानले दिएको ३१६ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको बंगलादेशले ४४.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर २२१ रन मात्र बनाउन सक्यो । उसका लागि शाकिव अल हसनले ६४, लिटोन दासले ३२, महुमदुल्लाहले २९, सौम्य सरकारले २२, मोसाद्दिक होसैनले १६, मसरफे मुर्तुजाले १५, तमिम इकबालले ८ रनको योगदान दिए । बलिङमा पाकिस्तानका शाहिन शाह अफ्रिदीले ९.१ ओभर बलिङ गरेर ३५ रन दिँदै ६ विकेट लिए । यस्तै सादव खानले २, वाहब रियाज र मोहम्मद आमिरको खातामा एक–एक विकेट रह्यो । 

 

टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर३१५ रन बनायो । उसका लागि ओपनर इमामउल हकले शतक बनाए । उनले ७ चौकाको मद्दतमा १०० बलमा शतक बनाएर आउट भए । जारी विश्वकपमा इमामको यो पहिलो शतक हो । साथै उनले यो विश्वकपमा एक अर्धशतकसमेत बनाएका छन् । यस्तै बाबर आजम जारी विश्वकपमा शतक बनाउन ४ रनले चुके । उनले ११ चौकाको मद्दतमा ९८ बलमा ९६ रनको योगदान दिए ।

 

पाकिस्तानलाई विशाल लक्ष्यमा पुर्याउन इमाद वासिमले ४३, मोहम्मद अफिजले २७, फखर जमानले १३, हरिस सोहेलले ६, कप्तान सरफराज अहमदले नट आउट ३, मोहम्मद आमिरले ८, वाहब रियाजले २–२, सादव खानले एक रन बनाए । बलिङमा मुस्तफिजुर रहमानले ५, मोहम्मद सैफउद्दिनले ३ र मेहदी हसन मिराजले एक विकेट लिए । 

 

शाकिवको शानदार विश्वकप
बंगलादेशका अनुभवी ब्याट्सम्यान शाकिव अल हसन विश्वकप २०१९ मा सर्बाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले बंगलादेशविरुद्ध ६४ रन बनाएसँगै सर्बाधिक रन सूचीको शीर्ष स्थानमा रहेको रोहित शर्मालाई पछि पारेका छन् । शाकिवले ८ खेलमा ६०६ रन बनाएका छन् । रोहित ५४४ रन बनाउँदै दोस्रो स्थानमा छन् । उनले यो विश्वकप स्मरणयोग्य बनाए ।

 

साथै जारी विश्वकपमा शाकिवले ११ विकेटसमेत हात पार्न सफल भए । उनी विश्वकपमा ६ सय रन बढी र १० भन्दा धेरै विकेट लिने पहिलो अलराउन्डर बनेका छन् । शाकिवले एकै विश्वकपमा सात पटक ५० बढी रन बनाउने सचिन तेन्दुलकरको रेकर्ड बराबरी गरेका छन् ।  

बाबर आजम पाकिस्तान विश्वकप क्रिकेट

विशेष