१२ वर्षपछि ब्राजिलले जित्यो कोपा अमेरिकाको उपाधि
एजेन्सी । कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि ब्राजिलले जितेको छ । उसले फाइनलमा पेरुलाई ३–१ ले हराउँदै आइतबार आफ्नै भूमिमा उपाधि जितेको हो । सन् २००७ यता कोपा अमेरिका फुटबलको उपाधि बिहीन रहेको ब्राजिलले घरेलु मैदानमा १२ वर्षपछि ट्रफी उचालेको हो । पेरुलाई पराजित गर्ने क्रममा ब्राजिलका युवा खेलाडी गाब्रिएल जिससले एक गोल गरे भने एक गोलका लागि सहयोग गरे । उनी त्यसपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।
१० खेलाडीमा सीमित भए पनि ब्राजिलले उपाधि उचालेर घरेलु मैदानमा उत्सव मनायो । उसका लागि सोउसा सोएरिस र रिचार्लिसनले एक एक गोल गरे । पेरुका लागि पाओलो गुएरिरोले पेनाल्टी मार्फत एक गोल फर्काए । १५ औँ सोउसाको गोलबाट ब्राजिलले सुरुवाति अग्रता लियो । ४४ औँ मिनेटमा पेरुले पेनाल्टी पायो, त्यसमा गुएरिरोले पेरुका लागि बराबरी गोल फर्काए । तर पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा जिससले गोल गर्दै पुनः ब्राजिललाई अग्रता दिलाए ।
७० औँ मिनेटमा उनी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिन बाध्य भए । ९० औँ मिनेटमा ब्राजिलले पेनाल्टी पायो, त्यसमा रिचार्लिसनले गोल गरे । ब्राजिल ३–० ले विजयी भयो । ब्राजिल अर्जेन्टिनालाई तथा पेरु चिलेलाई पराजित गर्दै फाइनलमा आएका थिए । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले तेस्रो स्थानका लागि भएको चिलेसँगको खेलमा रातो कार्ड पाएपछि प्रतियोगिता आयोजक ब्राजिललाई उपाधि जिताउन लागि परेको आरोप लगाएका थिए । तर ब्राजिलले फाइनल खेलमा रातो कार्डा, गोल र पेनाल्टीसहित उपाधि जित्यो ।
ब्राजिलले नवौँ पटक कोपा अमेरिकाको उपाधि जितेको हो । सन् २०१६ को ओलम्पिकमा गोल्ड मेडल जितेपछि ब्राजिलको पहिलो उपाधि हो । उसले आफूले आयोजना गरेका सबै पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।
कोपा अमेरिका ब्राजिल भर्सेस पेरु