खेल

सिंगापुरविरुद्ध चम्किँएका रित–खडक आज सस्तैमा आउट

सिंगापुरविरुद्ध चम्किँएका रित–खडक आज सस्तैमा आउट

काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलमा मलेसियाले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपालले सस्तैमा महत्वपूर्ण ३ विकेट गुमाएको छ । नेपालले ६.३ ओभरको खेल सकिदा ३० रन बनाएकाे अवस्थामा पवन सराफ (१५), रित गौतम (३) र खडक बोहरा (०) लाई गुमाएको छ ।यसअघि टस हारेर ब्याटिङको मौका पाएको मलेसियाले ४०.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८७ रन बनायो । उसका लागि मोहम्मद आमिरले सर्बाधिक २४ रन बनाए । बलिङमा नेपालका सागर ढकालले ३, कुशल मल्लले २, कमलसिंह ऐरी, तिलक भण्डारी र राशिद खानले एकएक विकेट लिए । 

 

नेपाली टोली लिग चरणको खेलमा समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । लिग चरणमा समूह‘ ‘ए’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटको फराकिलो अन्तरले हराएको थियो। यसैगरी समूहको दोस्रो खेलमा नेपालले सिंगापुरलाई दुई सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। उक्त खेलमा नेपालका ओपनर ब्याट्सम्यान रीत गौतमले अविजित एक सय १५ र खड्कबहादुर बोहराले ९० रन बनाएका थिए। कुशल मल्लले पनि अविजित ५१ रनको योगदान गरेका थिए।

 

समूह ‘ए’ बाट नेपाल विजेता र सिंगापुर उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका थिए। सिंगापुरले भने सोमबार नै हङकङसँग दोस्रो सेमिफाइनल खेल खेल्नेछ। दोस्रो सेमिफाइनल खेल एसटीसी ओभलमा खेलिनेछ। हङकङ समूह ‘बी’ को विजेता र मलेसिया उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन्। हङकङले समूहगत चरणमा आफूले खेलेका तीनवटै खेलमा जित हात पारेको थियो। मलेसियाले भने समूहगत चरणमा तीनमध्ये दुई खेलमा जित हात पारेको थियो। प्रतियोगिताको फाइनल खेल मंगलबार खेलिनेछ ।

नेपाल भर्सेस मलेसिया इस्टर्न रिजन क्रिकेट प्रतियोगिता

विशेष