हङकङलाई हराउँदै नेपालले जित्यो एसिसी इस्टर्न रिजनको उपाधि
काठमाडौं : एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले हंकङलाई ६ विकेटले हराउँदै उपाधि आफ्नो पोल्टोमा पारेको छ। नेपालका लागि हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको थियो।
नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै हङकङको झिनो लक्ष्य भेटायो। नेपालको जीतमा पवन सराफले ३९, रित गौतमले १३, खडक बोहराले ८, कप्तान रोहित पौडेलले १२ र भीम सार्की ८ रनमा नटआउट रहे ।
मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेटमा मैदानमा मंगलबार भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटियो । हङकङका आठ ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
खराब शुरुआत गरेको हङकङले रनको खाता नै नखोली दुई विकेट गुमाएको थियो । आदित गोरावाराले २४ तथा काल्हन चल्लुले १९ रन जोड्दै हङकङको इनिङ्स उकासेका थिए । यस्तै रौनक कपुरले १२ रन जोडे। हङकङलाई सस्तैमा समेट्न क्रममा नेपालका सागर ढकाल एक्लैले पाँच विकेट लिए भने कमल सिंह ऐरीले तीन तथा कुशल मल्ल र तिलकराज भण्डारीले एक एक विकेट झारे।
यसअघि भएको सेमिफाइनल खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने हङकङले सिङ्गापुरलाई डिएल पद्धतिको आधारमा ५१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
उक्त प्रतियोगिताको उपाधि विजेता टोली यु–१९ एशिया कपमा छनोट हुनेछन्। एशिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बाङ्गलादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन्।
क्रिकेट