धम्कीको मामिलामा अदालतमै उपस्थित हुन सांसद लिङ्देनलाई आदेश
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपाका सांसद राजेन्द्र लिङ्देनलाई धम्कीको मामिलामा जिल्ला अदालत काठमाडौंले उपस्थित हुन आदेश दिएको छ ।
धम्कीसम्बन्धी एक मुद्दामा लिङ्देनले अदालतको प्रश्नमा जवाफ पत्रमार्फत पठाएका थिए ।
आफैं उपस्थित भएर बयान दिनुपर्नेमा लिङ्देनले पत्र पठाएपछि फौजदारी कार्यविधि संहिताको कार्यविधि पूरा नभएको भन्दै स्वयं उपस्थित हुन अदालतले आदेश दिएको हो ।
आइतबार न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले सांसद लिङ्गदेनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआबी)मा दिएको उजुरी अनुसार आदेश दिएको छ ।
झापा जिल्ला कचनकवल गाउँपालिकाका तीलकदास पराजुलीले सांसद् लिङदेनले पटक पटक धम्की दिएको भन्दै सिआइबीमा उजुरी गरेका थिए । प्रहरीले काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार र अपराधिक लाभ समेतको मुद्दा दायर गरेको थियो । तर अदालतमा लिङ्देन उपस्थित नभएपछि उनलाई अदालत उपस्थित गराउन जिल्ला अदालतले सिआइबीका नाममा आदेश गरेको हो ।