खेल

सोमपाल कामीआवद्ध हक्सले जित्यो ग्लोबल टि–२० को उपाधि

सोमपाल कामीआवद्ध हक्सले जित्यो ग्लोबल टि–२० को उपाधि

काठमाडौं । नेपाली फास्ट बलर सोमपाल कामी आबद्ध विनिपेग हक्सले ग्लोबल टि–२० क्यानडाको उपाधि जितेको छ । आइतबार राति भान्कुभर नाइट्सलाई सुपर ओभरमा पराजित गर्दै हक्स उपाधि जितेको हो ।  हक्सले सुपर ओभरमा १० रनको लक्ष्य पाएको थियो । र, उसले ४ बलमा नै लक्ष्य पूरा गर्यो । आन्द्रे रसेललाई क्रिस लीनले तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गर्दै ती पक्का गरे ।

 

सुपर ओभरमा पहिलो ब्याटिङ गरेको नाइट्सले ९ रन जोडेको थियो । पहिलो बलमै आन्द्रे रसेलले छक्का प्रहार गरे । दोस्रो र तेस्रो बलमा एक–एक रन जोडे । चौथो बलमा रसेल क्याच आउट भए । पाँचौ बलमा सोएब मलिकले १ रन जोड्दा अन्तिम बलमा रस्सि भान डर दुसेन क्याच आउट हुन पुग्दा नाइट्सले सुपर ओभरमा ९ रन मात्रै बनाएको थियो । यसअघि १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९२ रन नै जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो ।


 नाइट्सका लागि कप्तान सोएब मलिकले ६४, आन्द्रे रसेलले ४६, रस्सि भान डर दुसेनले २३, ड्यानियल सम्शले २१ र शाख बीन जफारले  २७ रन बनाए । हक्सका लागि कप्तान रायद इम्रिट र पल भान मेर्करेनले २–२ विकेट लिए । सोमपाल भने फाइनल खेलमा पनि प्लेइङ ११ मा अटाउन असफल रहे । 

 

त्यसअघि टस हारेर ब्याटिङ थालेको हक्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९२ रन जोडेको थियो । उसका लागि साइमान अनवारले ९०, क्रिस लिनले ३७, जेपी ड्युमिनीले ३३ र हमजा तारिकले १५ रनको योगदान दिए । बलिङमा आन्द्रे रसेलले ४, अली खान र रयान पठानले २–२ विकेट लिए । 

सोमपाल कामी ग्लोबल टि–२० क्यानडा विनिपेग हक्स भर्सेस भान्कुभर नाइट्स

विशेष