मुख्य समाचार

झापाको बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट

झापाको बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट

झापा । बिर्तामोड नगरपालिकाअन्तर्गत रहेको तीन वटा संयुक्त वडा कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बिर्तामोड–९ स्थित साबिक गरामनी गाविस भवनमा सञ्चालित वडा नम्बर ७, ८ र ९ को संयुक्त वडा कार्यालय भवनबाहिर सोमबार बिहान साढे ४ बजे प्रेसर कुकर बम विस्फोट भएको हो ।

 

प्रहरीका अनुसार बम विस्फोटबाट वडा कार्यालयमा सामान्य क्षति पुगेको छ। कार्यालय भवनको भित्ता, ६ वटा झ्याल, कोठाभित्र रहेका फर्निचरका सामानमा क्षति पुगेको हो। ‘भवन आसपासमा विस्फोट भएजस्तै ठूलो आवाज आएपछि तत्काल घटनास्थलतर्फ अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएका प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली पुगे’, प्रहरी नायब उपरीक्षक श्रेष्ठले भने, ‘भवनबाहिर विस्फोट त भयो, तर आगलागी नहुँदा कार्यालयको आवश्यक कागजातसहित अन्य सामानहरूमा ठूलो क्षति भएन।’ 

 

बिर्तामोड–भद्रपुर सडकखण्डसँगै जोडिएको संयुक्त वडा कार्यालयको भवन अस्थायी प्रहरी चौकी गरामनीबाट ५०० मिटर उत्तरमा पर्छ। घटनाबारे अहिलेसम्म कसैले जिम्मा नलिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनाली, प्रहरी नायब उपरीक्षक श्रेष्ठ, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठ घटनास्थल पुगेका छन्। प्रहरीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरूले बम विस्फोट गराएको हुन सक्ने आशङ्का गरेका छन्।  

बिर्तामोड नगरपालिका बम विस्फोट  झापा प्रेसर कुकर बम विस्फोट

विशेष