स्वास्थ्य

चीनबाट कच्चा पदार्थ ल्याए औषधि ४० प्रतिशत सस्तो

चीनबाट कच्चा पदार्थ ल्याए औषधि ४० प्रतिशत सस्तो

काठमाडौं । नेपालका औषधि उद्योगले सोझै चीनबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरे औषधि करिब ४० प्रतिशत सस्तो पर्ने विज्ञहरूले बताएका छन् । मुलुकमा करिब ८० प्रतिशत औषधिको कच्चा पदार्थ भारतबाट आउँछ । नेपालमा बर्सेनि ५५ अर्ब रुपैयाँ बराबरको औषधि खपत हुने गरेको छ । सबभन्दा बढी एन्टिबायोटिक र नसर्ने (मुटु, मधुमेहलगायत) रोगका औषधि बढी खपत हुन्छ ।

 

‘चीनबाट सोझै कच्चा पदार्थ खरिद गरिए केही भारतमै बन्नेबाहेक धेरैजसो औषधिमा करिब ४० प्रतिशतसम्म सस्तो पर्नेछ,’ नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालले भने, ‘कच्चा पदार्थ चीनबाट भारत जान्छ र त्यसैलाई हामी भारतबाट खरिद गरेर ल्याइरहेका छौं । चीनबाट सिधा ल्याउन सके औषधि अत्यधिक सस्तो हुनेछ ।’

 

उनका अनुसार भारतको औषधि उद्योगसमेत ८७ प्रतिशत चीनकै कच्चा पदार्थमा निर्भर छन् । चीन ठूलो मात्रामा औषधिको कच्चा पदार्थ निर्यात गर्ने मुलुक हो । ‘चीनले थुप्रै मात्रामा औषधिको कच्चा पदार्थ भारतलाई निर्यात गर्छ,’ नेपाल फार्मेसी काउन्सिलका पूर्वअध्यक्ष एवं वरिष्ठ फर्मासिस्ट बाबुराम हुमागाईंले भने, ‘औषधि उत्पादनका लागि चाहिने कच्चा पदार्थको व्यवसाय गर्ने भारतमा छन्, नेपालमा छैनन् ।’

 

उनका अनुसार हाल मुलुकमा अधिकांश औषधि उद्योगले भारतबाट कच्चा पदार्थ ल्याउँछन् । क्यान्सरलगायत रोगका नयाँखाले औषधि पनि चीनबाट भारत जान्छ र नेपालले भारतबाट किनेर ल्याउँछ । दाहालका अनुसार चीनबाटै सिधै ल्याउन सके क्यान्सरलगायत रोगका औषधिको मूल्य पनि ४० प्रतिशत कम पर्नेछ । विज्ञहरूका अनुसार चीनबाट औषधि र कच्चा पदार्थ सोझै ल्याउन नसक्नुको कारण ‘सहज पहुँच’ नहुनु हो । ‘भारतमा हाम्रो भाषा मिल्छ, सहज पहुँच छ । आज चाहियो भनेर फोन गरिदियो, उधारोमै भोलिपठाइदिन्छ,’ दाहालले भने ।

 

‘तर चीनसँग त्यस्तोखाले सम्बन्ध र पहुँच बनिसकेको छैन । चीनबाट २० किलो कच्चा पदार्थ ल्याउन एलसी खोल्नुपर्‍यो, अनेक प्रक्रिया पूरा गर्नुपर्‍यो,’ उनलेभने । भाषासमेत प्रमुख समस्या देखिएको छ । ‘भाषा बुझिँदैन । कच्चा पदार्थ कसले दिन्छ, के दिन्छ आदि अन्योल छन् । चीनका उत्पादकले पहिले चिठी पठाऊ भन्छन्, पछि माल पठाउने कुरा गर्छन्, प्रक्रिया नै झन्झटिलो छ,’ उनले भने ।

 

‘सरकारको औषधि व्यवस्था विभाग (डीडीए) ले एक पटक २३ वटा कम्पनी भ्रमण गरे । भियतनाम र युक्रेनका कम्पनीसम्म पुगे । तर चीनको कम्पनी हेर्न कहिल्यै जाँदैनन्,’ केही औषधि उद्योगीले गुनासो गरे । त्यहाँ नजानु पछाडि डीडीएका पदाधिकारीले अनौपचारिक रूपमा ‘चीनका कम्पनी डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) जीएमपी (गुड म्यानुफेक्चरिङ प्राक्टिस) सर्टिफाइड छैनन्’ भन्ने गरेको दाबी गर्दै एक नेपाली औषधि उत्पादकले भने, ‘तर चाइनिज जीएमपीलाई उनीहरू डब्लूएचओभन्दा राम्रो दाबी गर्छन् ।’ डीडीएले एक/दुई पटक गएर चीनका औषधि कम्पनीको भ्रमण गरे पनि केही वर्षयता वास्ता गर्न छाडिएको उनले उल्लेख गरे । कान्तिपुर दैनिकबाट लिइएकाे हाे ।

औषधि कच्चा पदार्थ औषधि उद्योग

विशेष