कभर स्टोरी भिडियो

भएका जहाज त उडाउन सकेका छैनौं भने कसरी हुन्छ भ्रमण वर्ष सफल ? (भिडियोसहित)

भएका जहाज त उडाउन सकेका छैनौं भने कसरी हुन्छ भ्रमण वर्ष सफल ? (भिडियोसहित)

काठमाडौं । राजेन्द्रमान डङ्गोल मूलतः पर्यटन व्यवसायी हुन् । उनी एडभेन्चर थर्ड पोल ट्रेक्स नामक ट्रेकिङ एजेन्सीका सञ्चालक हुन् । उनले नेपालका कैयन पदमार्गमा स्वदेशी, विदेशी पर्यटकहरुलाई घुमाएका छन् । 

हिमालयको देश नेपालमा धेरैवटा पदमार्गहरु छन् । केही त विश्वमै नाम चलेका पनि छन् । डङ्गोलले व्यवसायकै सिलसिलामा धेरैजसो पदमार्गमा यात्रा गरिसकेका छन् । उनको यो क्षेत्रमा २० वर्षभन्दा बढी समय खर्च भइसकेको छ । 

नेपालमा पदयात्रा गर्नु धेरै अर्थमा रोमाञ्चक हुने उनको अनुभव छ । नेपालको पर्यटन क्षेत्रको अवस्था देखेर उनलाई दिक्क लाग्छ तर नेपालको प्राकृतिक सौन्दर्यमा पर्यटकहरु रमाएको देख्दा आनन्द पनि लाग्छ । 

यिनै व्यवसायीले हालै ‘यात्राका पाइलाहरु’ नामक नियात्रा सार्वजनिक गरेका छन् । यो निबन्ध संग्रहमा १० वटा निबन्ध छन् । ती सबैमा नेपालको हावापानी, प्राकृतिक सुन्दरता, रमणीयतादेखि आफूले भागेका, देखेका विषयहरु समावेश गरेका छन् । 

डङ्गोलको यो पहिलो कृति हो तर उनी अर्को पुस्तक पनि निकाल्ने तयारीमा छन् । 

पदयात्रा  गाह्रो काम हो । तर रोमाञ्चक हुन्छ । धेरैलाई त पद यात्रा शुरु गरेकै दिन छाडूँ जस्तो पनि लाग्छ । तर डंगोलको मतमा उकाली चढेर टाकुरामा पुगेपछि आफ्नै आँखा अगाडि टललल् टल्केको हिमाल र हिमाल छोएर आएको हावाले आफूलाई छोएर जाँदाको अनुभूति विर्सन नसकिने खालेको हुन्छ । 
त्यही कारण पनि उनी पदयात्रालाई एक रोमाञ्चक र साहसिक यात्रा ठान्छन् । 

तर केही कुराहरुले उनलाई घोच्छ । नेपालीहरुमा पनि पदयात्राको रस बस्दैछ । नेपालीहरुमा यात्रा गर्दा पालना गर्नुपर्ने अनुशासन हुँदैन । बाटोमा ठूलो आवाज आउने गरी स्पिकर बजाउने, होहल्ला गर्ने, अंगालो मारेर हिँड्ने जस्ता कामहरु गर्छन् । 

कतिपय संरक्षित क्षेत्रमा पदयात्रा गर्दा पर्यटकले महंगो शुल्क पनि तिर्नु पर्छ ।  एक पर्यटकले ५५ हजारसम्म खर्च गरेर गर्नुपर्ने पदमार्ग पनि छन् नेपालमा । यो शुल्क अलि सस्तो भए राम्रो हुने डंगोल बताउँछन् । 

सरकारले २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने तयारी गरेको छ । तर भएका जहाजसमेत उडाउन नसक्ने अनि २० लाख पर्यटकको सपना देख्नु ठीक नभएको उनको बुझाइ छ । 
 

विशेष