प्रशंसा र आलोचना मुसुमुसु हाँसेर पचाउँछु (भिडियोसहित)
हेर्दा सुन्दर, मीठो बोली, फरासिलो स्वभाव बहुआयामिक प्रतिभाकी धनी छन् कोमल वली । उनी हाल राष्ट्रियसभा सदस्य हुन् । राजनीतिमा लागेपछि आफनो कलाकारिताको पाटो केही सुस्त भएपनि गाउने र नाच्ने काम जीवन पर्यन्त गरिरहने आफना दर्शक श्रोतासमक्ष उनको प्रतिबद्धता छ ।
सुरुमा गीत संगीत र संचार क्षेत्रको मात्र उत्तरदायित्व थियो । अब देशकै जिम्मेवारी थपिएको छ । आफनो जिल्लाका जनताले मात्र नभई अन्य स्थानका जनताले पनि उनीसंग पिभिन्न समस्या राख्ने गर्दछन् । कतिको व्यक्तिगत समस्या हुन्छ त कतिपयले कुलो, बाटो, अस्पताल, स्वास्थ्य चौकी जस्ता माग राख्ने गर्दछन् ।
वली भन्छिन्, ‘म काठमाडौंमा हुँदा होस वा जिल्ला बाहिरका कार्यक्रममा जाँदा होस, प्रायः सबैले व्यक्तिगत र विकासका समस्या राख्ने गरेका छन् । म मुसुमुस हाँस्दै सबैका कुरा ध्यानपूर्वक सुन्छु । त्यसपछि उनीहरुले राखेका माग भन्दा ठूला आयोजना परियोजना ल्याउन आफू लागिपरेको र त्यसका लागि आवश्यक नीति, नियम, कानुन बनाउन लागिरहेको भन्छु । यसो भन्दा सबैले पर्रर्र ताली बजाउँछन् । म जनतालाई कन्भिन्स गर्छु, उनीहरु पनि खुशी हुन्छन् ।’
वास्तवमा एउटा सांसदले विकास गर्ने होइन, उसले ऐन कानुन बनाउने हो । तर, नेपालमा सांसदहरुबाटै जनताले विकासको अपेक्षा गरेका हुन्छन् । त्यही भएर सांसदहरुको योजनामा खर्च गर्ने गरी ६ करोड बजेट व्यवस्था गरिएको हो । अझ कर्णाली प्रदेशमा त १५ करोड नै छुट्याउनुपर्ने स्थिति भयो ।
राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनका सांसदहरु दक्ष र क्षमतावान छन् । उनीहरु देश र जनताप्रति चिन्तित पनि छन् । अहिलेको सरकार, नेकपा पार्टी र स्वयं प्रधानमन्त्री पनि विकासका लागि चिन्तित भएकाले मुलुक समृद्धिको मार्गमा जानेमा कुनै शंका छैन ।
वली भन्छिन्, ‘दुःखको कुरा के हो भने कतिपय कुरामा प्रधानमन्त्रीलाई अन्योलमा राख्ने गरेको पाइयो । विषादी तरकारी र फलफूल प्रकरणमा भारतीय दूतावासको पत्रबारे प्रधानमन्त्रीलाई जानकारी दिइएन । पछि प्रधानमन्त्रीले माफ माग्नु पर्यो । यस्तै, मेलम्चीका विषयमा पनि प्रधानमन्त्रीलाई गलत ब्रिफिङ गरेको पाइयो । यो विषय म स्वयंले संसदीय समितिमा उठाए । केही समस्या नभएका होइनन्, तर, प्रधानमन्त्री आफैंमा बहुआयामिक र निर्णय क्षमताको धनी भएकाले यी विषय समाधानतर्फ गैसकेका छन् । प्रधानमन्त्रीलाई गुमराहमा कसले राख्यो भन्ने विषयमा आन्तरिक छानबिन भैरहेकाले चाँडै कारवाही हुनेमा म विश्वस्त छु ।’
सरकार सही ढंगले अघि बढेको छ वा छैन भन्ने विषयमा प्रधानमन्त्री पूर्ण जानकार छन् । कहिं अलमल भयो भन्ने लाग्यो कि उनले मन्त्री फेरबदल गर्न सक्छन् । मन्त्री फेर्नुपर्छ वा पर्दैन भन्ने विषय प्रधानमन्त्रीको आफनो विवेकको कुरा हो । अहिलेका मन्त्रीले पनि राम्रो काम गरिरहेका छन्, भोलिका दिनमा परिणाम अझ राम्रो हुँदै जान्छ ।
प्रधानमन्त्रीसँगै नेकपा र अहिलेका नेताहरुको पनि आलोचना भैरहेको छ, यो सामान्य हो । उनी भन्छिन्, ‘मेरो राजनीतिक जीवन र कलाकारको जीवनलाई लिएर पनि आलोचना हुन्छन्, म त मुसुमुुसु हाँसेर बसिदिन्छु । हामीले सहन गर्न सक्नुपर्छ ।’ जहाँसम्म मन्त्री बन्ने कुरा छ, अहिले कुनै कुराकानी भएको छैन । तर, प्रधानमन्त्रीले विश्वास गरेर जिम्मेवारी दिए त्यो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नसक्छु । कृषि, उद्योग, वाणिज्य तथा संचार क्षेत्रमा अभिरुचि अली बढी छ ।
आफनो गायन यात्रालाई कहिल्यै नछोड्ने बताउँदै ओलीले बहिनी प्रज्ञा शरदसँग मिलेर हालै ‘छड्के तिलहरी...’ बोलको गीत ल्याएकी छिन् । एकनारायण भण्डारीले लेखेको गीत चर्चित हुँदै गएपछि वली दंग छिन् ।
राष्ट्रियसभा सदस्य कोमल वली ।