कभर स्टोरी

भ्रमण वर्ष संयोजकमा सुरज वैद्य अनुपयुक्त पात्र हुन् (भिडियोसहित)

भ्रमण वर्ष संयोजकमा सुरज वैद्य अनुपयुक्त पात्र हुन् (भिडियोसहित)

स्नोइ होराइजन ट्रेक्सका सञ्चालक बोधराज भण्डारी नेपालको पर्यटन क्षेत्रका अन्तरकुन्तर सबै थाहा पाउँछन् । नेपालमा पर्यटनको प्रचुर सम्भावना भएर पनि मुलुक किन पछि परेको भन्ने विषयमा उनलाई राम्रो जानकारी छ । उनी सबै कुरामा सरकारमात्रै दोषी ठान्दैनन् । पर्यटकलाई जानाजान बिरामी बनाएर बीमा असूल्ने व्यवसायी पनि खराब हुन् भन्न उनी हिच्किचाउँदैनन् । उनले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनमा दलीय प्रभाव परेको पनि रुचाएका छैनन् ।  उनी भन्छन्, ‘देशमा भएको राजनीतिक परिवर्तनसँगै टानमा पनि प्रभाव परेको छ । टानमा पनि दलका आधारमा व्यवसायीहरु विभक्त भएका छन् । व्यवसायीहरुले व्यवसाय मात्रे गरे पनि हुन्छ । दलीय आधारमा विभक्त हुन आवश्यक छैन भन्ने आवाज बलियो भएर आएको छ । हरेक व्यक्तिमा राजनीतिक प्रभाव रहन्छ । हिजोका दिनमा सिमित मानिसहरुले मात्रै पर्यटन व्यवसायमा पहुँच राख्न सक्थे । अहिले भने परिवर्तन भएको छ अवस्था ।’ 

नेपालमा पर्यटनको विकास र विस्तार कसरी सम्भव छ? भन्ने प्रश्नमा उनी केही राष्ट्रिय विषयमा ध्यान तान्छन् । उनी भन्छन्, ‘पहिलो कुरा त पर्यटकहरुले सोझै, सुलभ मूल्यमा नेपाल आउन पाउनु पर्छ । उनीहरुले सजिलै जाजको टिकट किन्न पाउनु पर्छ । अरु गन्तव्यभन्दा नेपालमा हवाई भाडा चर्को छ, त्यो अन्त्य हुनुपर्छ  । नेपाल एअरलाईन्सको स्तरोन्नति गर्नुपर्छ । ठाउँ ठाउँमा उडान भर्ने काम गर्नुपर्छ । अन्तर्राष्ट्रिय विमानस्थलको सुविधा बढाउनु पर्छ । पर्यटकको पहिलो इम्प्रेसन काठमाडौंबाट हुन्छ । काठमाडौंलाई धुवा, धुलो र फोहोरमुक्त सफा हराभरा बनाउनु पर्छ । यहाँका बाटाघाटा राम्रा हुनुपर्छ । भूकम्प गएको ७२ सालमा भूकम्प गयो, अहिलेसम्म पुराना सम्पदा बनेका छैनन् । काठमाडौंमा पर्यटकले यहाँको घर हेर्न आउने होइनन् । सम्पदा हेर्न आउने हुन् । ती सम्पदाको पुनर्निर्माण चाँडो हुनुपर्छ । यी हाम्रा पहिलो चरणका माग हुन् । यी मागमा हाम्रो निहित स्वार्थ छैन । समग्रमा देशलाई फाइदा हुँदा हामीलाई पनि होला भन्ने हो ।’ 

भारतबाट बस चढेर आएकालाई समेत गणना गर्दा, एनआरएन, आइएनजिओका कर्मचारीसमेतलाई गणना गरेर १२ लाख पर्यटक पुगेको उनी बताउँछन् । भन्छन्,‘ भारतबाट बस चढेर आउने पर्यटकहरु घरबाटै दालचामल, सिरक डस्ना मात्रै होइन पानसमेत बोकेर आउँछन् । उहाँ त उनीहरुले थुक्ने मात्रै हो । त्यस्ता पर्यटकहरु पनि छन् । त्यस्तैलाई गनेर १२ लाख पुर्याएको हो ।’

भ्रमण वर्ष घोषणा मात्रैले केही नहुने भण्डारी बताउँछन् । उनले भने, ‘ मैले घोषणा गर्नुलाई विरोध गरेको छैन । तर भ्रमण वर्ष पूर्वका तयारीलाई मैले मानेको छैन । भ्रमण वर्षको संयोजक सुरज बैद्य नै ठीक भएन । किनभने उहाँ पर्यटन क्षेत्रको होइन । उहाँ अरु नै उद्योग गर्ने मान्छे हो । उहाँसँग कुनै भिजन छैन । जसका कारण उहाँले यो भ्रमण वर्षलाई चलायमान बनाउन सक्नु भएको छैन । उहाँ हामीसँगसमेत छलफल गर्नु भएको छैन । एकाध व्यक्तिहरुसँग उहाँले कुरा गरेको भन्ने सुनिएको छ ।’

विशेष