शालिकराम मृत्यु–रवि लामिछाने पक्राउः शंका गर्नेहरुका रंगीचंगी तर्क
काठमाडौं । माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले साउन २२ मा आत्महत्या गर्नुअघिको सुुसाइड सेल्फी भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मानिसहरु ध्रुवीकृत भएका छन् । शंका र भ्रमहरुले स्थापित हुने अवसर पाउन थालेका छन् ।
व्यंग्यका लागि तयार बनाइएका ट्रोल र मिमलाई पनि सत्य ठानेर तर्क गर्नेहरुको जमात बढ्दै गएको छ । ‘शालिकराम मृत्यु –रवि लामिछाने पक्राउ’ सम्बन्धि सामाग्रीहरु मानिसहरुले चासोका साथ पढिरहेका छन् । वातावरण कौतुहलले भरिएको बेलामा आधारहिन विषयमा सनसनीपूर्ण अभिव्यक्ति दिएर प्रचारमा आउन खोज्नेहरु पनि भेटिएका छन् ।
उदाहरणका लागि चितवनमा मानवअधिकारकर्मी भनेर चिनिएकी तारा बराल आफ्नै अभिव्यक्तिका कारण अहिले प्रहरी हिरासतमा छिन् । उनले एक युट्युबरलाई भनेकी थिइन्, ‘डेढ महिना अघि भरतपुर महानगरकी मेयर (रेणु दाहाल)ले हाम्रो पार्टीका एसपी भएका बेला चितवनमा धेरै मानिसहरु तह लगाउनु छ भनेकी थिइन् । उनले धेरै मान्छेको नाम किटान गरेको पत्रपत्रिकामा पनि आयो । मैले रवि लामिछाने पक्राउ अघि नै नेपालमा कुलमान घिसिङ, राजा ज्ञानेन्द्र, रवि लामिछाने आदिलाई खतरा छ भनेको थिएँ ।’
सुन्दा सनसनी लाग्ने तर वास्तविकता खोज्दै जाँदा सत्य प्रमाणित नहुने यस्तो अभिव्यक्ति दिने तारा बराल प्रहरी हिरासतमा पुगेको उनकै पतिले फेसबुकमा लेखेका छन् ।
‘शालिकराम मृत्यु –रवि लामिछाने पक्राउ’ प्रकरणका जस्तै हावादारी विषयवस्तु पनि यो बेला बिक्री हुने अवस्था सिर्जना भएको छ । उदाहरणका लागि कश्मीरमा घाइते व्यक्तिको फोटोलाई शालिकरामको फोटो हो भनेर प्रचार भयो । धेरैले पत्याए । पत्याएनन् मात्रै, अनुहार नदेखिने ढाडमा मात्रै लाठीले हिर्काको सुम्ला देखिने त्यो तस्बीर देखाएर निष्कर्ष पनि निकालियो – रविलाई फसाउन प्रचण्डका ‘एसम्यान’ एसपी दानबहादुर मल्लले कुटेर मारे अनि झुण्ड्याइदिए ।’
यो हदसम्मको शंका गर्नेहरुको के उपचार हुन सक्ला त ?
(आम मानिसहरुलाई भ्रममा पार्न युट्युबरका शीर्षक र मिडियाका शीर्षकले पनि काम गरेको देखिन्छ । )
जसरी निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा पत्रकार खेम भण्डारीले ‘भिआइपी जोगाउन मानिसक रोगीलाई प्रहरीले समात्यो’ भनेर सर्वसाधारणको ध्यान मोडिदिएका थिए, त्यसै गरी ‘शालिकराम मृत्यु –रवि लामिछाने पक्राउ’ प्रकरणमा ‘प्रचण्ड–भरतपुरकी मेयर रेणु दाहाल–अंगरक्षक–एसपी दानबहादुर मल्ल’को सम्बन्ध शृंखला बनाइसकिएको छ ।
मतपत्र च्यातेर मेयर भएकी रेणु दाहालको रवि लामिछानेले आफ्नो कार्यक्रम ‘जनतासँग सीधा कुरा’मा सो प्रकरणको चर्को विरोध गरेका कारण अहिले उनलाई फसाउने ठूलो षडयन्त्र भएको धेरैको बुझाइ छ ।
मतपत्र च्यात्ने प्रकरणपछि चुनाव हार्ने देवी ज्ञवालीले प्रचण्डसँग गला मिलाइसकेका छन् । सो प्रकरणमा सघाउने कांग्रेसलाई प्रचण्डले लात मारिसकेका छन् । सोही प्रकरणमा प्रचण्डपुत्रीलाई सघाउँदा कांग्रेसविरुद्ध केपी ओलीले व्यंग्य कस्दै भनेका थिए, ‘कसलाई जिताएछ कांग्रेसले भनेको त, माओवादीकी छोरीलाई पो जिताएछ ।’ यस्तो कटुवचन बोलेका केपी ओलीसँग प्रचण्डले पार्टी एकता नै गरिसकेका छन् । यस्तो अवस्थामा रविलाई सिध्याउन शालिकरामलाई आत्महत्या गराउनेसम्मको षडयन्त्र गर्ने फुर्सद प्रचण्डलाई होला ?
अरु त अरु भिडियोमा शालिकरामको आँखामा देखिएको तस्बीर प्रहरीको हो र प्रहरीले नै योजना बनाएर शालिकरामको हत्या गरेका हुन् भन्दै प्रचार गरिएको छ । केहीले व्यंग्यका रुपमा शालिकरामको आँखामा अरु नै कसैको अनुहारको आकृति फोटोसप गरिदिएका छन् । जसलाई सत्य ठानेर त्यो पनि चर्चाको विषय बनाइएको छ ।
शालिकराम मृत्युपछि नै मिडियाहरुमा भिडियोको चर्चा सुरु भइसकेको थियो । भिडियोमा रवि लामिछानेसहित अरु तीन जनाको नाम शालिकरामले लिएको समाचारहरु आइरहँदा विशेषगरी रवि लामिछानेका प्रशंसकहरुले ‘भिडियो खै त ? त्यसै आरोप लगाएर हुन्छ ?’ भने । जब भिडियो नेपालआजमार्फत सार्वजनिक भयो, अहिले भिडियो खोज्नेहरुले नै सोधिरहेका छन्, ‘भिडियो नेपालआजलाई कसले दियो ? ’ । यो प्रश्न गायत्रीमन्त्र जस्तो बनेको छ । सबैको मुखमा एउटै प्रश्न झुण्डिएको छ, ‘भिडियो नेपालआजलाई कसले दियो ?’
गोप्यरुपमा प्राप्त हुने सूचना वा भिडियोको स्रोत सम्बन्धित मिडियाकै सबै पत्रकारलाई नै जानकारी दिइँदैन । तर भिडियो पारिवारिक स्रोतबाट प्राप्त भएको त भनिसकिएको छ । शंकालुहरुलाई यतिले चित्त नबुझेर सोधिरहेका छन् कि – पारिवारिक स्रोत भनेको चाहिँ को हो ?’
शंका, सनसनी र हावादारी सबै मिसिएको छ ‘शालिकराम मृत्यु –रवि लामिछाने पक्राउ’ प्रकरणमा ।
रविका प्रशंसकहरुले जस्तो सुकै विषयवस्तुमा पनि ‘रविलाई फसाउने षडयन्त्र’मात्रै देखिरहेका छन् । रवि आफैंले ‘घटनाको निष्पक्ष छानविन होस्, छानविनमा सघाउन तयार छु’ भनेका छन् । तर जिल्ला प्रहरी कार्यालय चितवनअगाडि तत्काल रिहाईको नारा लागेको थियो । छानविनकै लागि प्रहरी हिरासतमा छन् । ‘रविलाई रिहा पनि गरियोस्, छानविन पनि गरियोस्’ भन्ने माग कसरी पूरा होला र ? अम्लेट पनि खानु पर्ने अण्डा फुटाउन पनि नपाईने सर्त जस्तै भएको छ रविका प्रशंसकहरुको माग ।