चितवन र नुवाकोटका सांसदको एक स्वरः रविबारे अनुसन्धान होस्
काठमाडौं । माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणपछि उत्पन्न भएको संघर्ष र आन्दोलनमा चितवन र नुवाकोटका सांसदहरुले निष्पक्ष छानविन हुनुपर्ने मत राखेका छन् ।
पत्रकार पुडासैनीकै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नुवाकोट– २ का नेकपा सांसद नारायणप्रसाद खतिवडाले अहिले अनुसन्धानको निष्कर्ष पर्खनबाहेक केही गर्न नसकिने बताए । उनले नेपालआजसँग कुरा गर्दै भने, ‘निष्पक्ष छानविन होस् । शालिकरामले न्याय पाउन् । हुलहुज्जत गरेर अनुसन्धानमा बाधा पुर्याउन मिल्दैन । रवि लामिछाने र उनका साथी निर्दोष हुन् भने मुक्त हुनुपर्छ ।’
चितवनकी कांग्रेस सांसद उमा रेग्मीले सरकारका पछिल्ला कामहरुका कारण सरकारप्रति विश्वास नभएर जनता सडकमा उत्रिएको बताएकी छिन् । उनले शालिकराम पुडासैनीले न्याय पाउनु पर्ने र दोषीलाई हदैसम्मको कारबाही हुनुपर्नेमा जोड दिइन् ।
सांसद रेग्मीले यो प्रकरणमा हाल पक्राउ परेका सबैमाथि निष्पक्ष छानविन हुनु पर्ने र निर्दोष देखिएमा ससम्मान मुक्त गर्नुपर्ने उल्लेख गरिन् । सडकबाट न्याय नपाइने भएकोले राज्यका निकायहरुलाई आफ्नो काम गर्न दिनु पर्ने बताइन् ।
चितवन –२ का नेकपाका सांसद कृष्णभक्त पोखरेलले राज्यका निकायहरुलाई सचेत गराएका छन् । उनले प्रहरी, सरकारी वकिल, न्यायाधीशहरुले व्यवसायिक धर्म र निष्ठा नछाडी काम गर्नुपर्ने बताए । आग्रह र पूर्वाग्रहबिना अनुसन्धान गर्ने र वास्तविक दोषी पत्ता लगाउनमा भूमिका निर्वाह गरिनु पर्ने पोख्रेले बताए । उनले भने, ‘दबाब, जुलुस, धर्नाकै आधारमा कसैलाई पनि थुन्ने, छाड्ने गर्नु हुँदैन । दबाब र प्रभावका आधारमा अनुसन्धान भएमा जनता आन्दोलिन हुन सक्छन् । तर हामी तत्काल हुलतन्त्र होइन लोकतन्त्रतमा विश्वस्त हुनुपर्छ । सडकको हुलले कहिले पनि फैसला गर्न सक्दैन ।’
शालिकराम मृत्यु–रवि लामिछाने पक्राउ प्रकरण संसदसम्म पुगेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुले पनि यस विषयमा निष्पक्ष छानविन हुनुपर्ने माग राखेका छन् ।
राष्ट्रिय सभाका सांसद खेमकुमार बिकले बुधबारको बैठकमा विशेष समय लिएर वर्तमान व्यवस्था उल्टाउन डलरको खेती गर्नेहरुले धमिलो पानीमा माछा मार्न खोजेको त होइन कतै ? भनेर प्रश्न उठाएका छन् ।
पत्रकार शालिकराम पुडासैनीले साउन २२ मा नारायणगढको कंगारु होटलमा आत्महत्या गरेका थिए । उनले आत्महत्या अघि गरेको भिडियो रेकर्डमा आफूले रवि लामिछानेका कारण ज्यान फाल्नु परेको बताएका थिए ।
सो भिडियो गत बुधबार नेपालआजमार्फत सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक पछि चितवन प्रहरीले रवि लामिछाने, युवराज कँडेल र शालिकरामकी प्रेमिका भनिएकी अस्मिता कार्कीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।