अब गणतन्त्रमाथि तरबार झुण्डियो ( भिडियोसहित )
भदौ तेस्रो साताबाट लाखौं जनता सडकमा उतार्दै आन्दोलन
यही भदौ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सर्वदलीय बैठक गरी सबैलाई संविधानको रक्षार्थ ऐक्यवद्धता जनाउन आग्रह गरे । उनको निष्कर्ष थियो– ‘मुलुकमा व्यवस्था पल्टाउने खेल भैरहेको छ । यो व्यवस्थाको रक्षार्थ कम्तिमा संविधान जारी गर्ने शक्तिहरु एकजुट होउन ।’
प्रधानमन्त्री ओलीसहित बैठकमा सहभागी पिभिन्न दलका नेताहरुले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधिलाई गणतन्त्रको चुनौतीका रुपमा व्याख्या गरे ।
आखिर एक्कासी संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि के खतरा आइपर्यो र प्रधानमन्त्रीले सबै दलका नेताहरुलाई बोलाएर ‘हाइ अलर्ट’ हुन आग्रह गरे । विप्लवका केही गतिविधि हेर्ने हो भने उनका महत्वपूर्ण नेता र कार्यकर्ता पक्राउ परेपछि केही समय यता सुस्त देखिन्छन् । पूर्वराजा शाह स–परिवार थाइल्याण्डमा छन् । मुलुक भित्र कुनैपनि शक्तिले आन्दोलन गरेको देखिदैन तैपनि प्रधानमन्त्री त्रसित, किन ?
वास्तवमा प्रधानमन्त्रीको त्रास जायज हो । देश भित्र र देश बाहिर जे जति गतिविधि भैरहेका छन्, तीनले गणतन्त्रको जग हल्लाएकै हो । मूख्यत २०६२/०६३ साल यता बनेका जति पनि सरकार छन्, कसैले पनि देश र जनताको हितमा काम गर्न नसकेपछि अहिले आएर यो व्यवस्थामाथि नै तरवार झुण्डिएको हो ।
भदौ तेस्रो साताबाट आन्दोलन
पूर्वराजा शाहका निकटस्थ राप्रपा संयुक्तका उच्चस्तरीय सम्पादन समितिका सदस्य जगत गौचन भन्छन्, ‘यो व्यवस्था उल्ट्याउने सबै तयारी पूरा भैसकेको छ । हामी भदौ तेस्रो साताबाट लाखौं जनता सडकमा उतार्दैछौं । काठमाडोैं केन्द्रीत रहने आन्दोलन देशभर संचालन हुनेछ । यो वारपारको लडाईं हो । यो आन्दोलनले गणतन्त्रको समाप्ति र राजसंस्थाको पुनस्र्थापना गर्ने निश्चित छ । ’
राजावादी पार्टीसहित विभिन्न देशभक्त संगठनहरुबीच मोर्चा बनाएर आन्दोलन सुरु हुनेछ । यो आन्दोलनले राजसंस्था नमान्ने शक्तिहरुलाई निषेध गरेर अघि बढ्ने समेत सोच बनाएको छ ।
गौचन भन्छन्, ‘यी दलहरुले राजालाई धोका दिए । २०६३ सालमा भएको सहमति अनुसार राजा संवैधानिक रहने र दलहरुले शासन गर्ने भन्ने हो, तर त्यो लागू भएन । यिनीहरुले धोका दिए । यही विश्वासघातले अहिले प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको छाती भत्भती पोलिरहेको छ । भएको सहमति पालना नभएपछि आन्दोलनको विकल्प भएन ।’
राजनीतिक दलहरुले कि जनमतसंग्रह नभए राष्ट्रिय सहमतिबाट पुरानो सहमति कार्यान्वयन गर्नुपर्ने हो । राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने दिशामा दलहरु नगएपछि अब आफैं मैदानमा उत्रिने स्थिति आयो । यो बेला सरकारले दमन गर्न खोजे ईंटको जवाफ पत्थरले दिइने छ ।
पूर्वराजा गृहकार्यमा
पूर्वराजा ज्ञानेन्द्र शाह पारिवारिक भ्रमणका सिलसिलामा थाइल्याण्डमा भएपनि राजनीतिक भेटघाट र त्यस अनुसारको गृहकार्य हुनु स्वाभाविक हो । एउटा राजाले राजसंस्था फर्काउन पहल गर्नु उनको कर्तव्य हो, यो स्वभाविक हो र गर्नु पनि पर्छ ।
विभिन्न दलका नेताहरु पनि बेलाबेला पूर्वराजासंग भेट गरिरहन्छन् । अहिले कांग्रेस महामन्त्री डा. सशांक कोइराला पनि थाइल्याण्डमा छन् । कोइराला बीपीका छोरा हुन । उनको राजनीतिक लाइन एकदम ठीक छ । यदि शाह र कोइरालाबीच भेटघाट र कुरा हुन्छ भने त्यो राम्रो कुरा हो, देशको भलाई नै हुन्छ ।
पारसमाथि षडयन्त्र
अहिले राजसंस्थाप्रतिको आकर्षण र लोकप्रियता बढ्न थालेपछि गणतन्त्रवादी शक्तिहरु आत्तिएका छन् । प्रधानमन्त्री ओली र प्रचण्डले राजा र उनका समर्थकप्रति आक्रोश पोख्नुको कारण पनि यही हो । उनीहरु धेरै आत्तिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व युवराजा पारस शाहमाथि पनि षडयन्त्र भएको छ । यो नियोजित घटना हुनुपर्छ । हृदयेन्द्र नवयुवराज हुन् । पूर्व युवराजका पुत्र हुन् । उनी भोलि राजा हुने व्यक्ति हुन् । उनीमाथि दुव्र्यवहार गरे, कुनै न कुनै किसिमको प्रतिक्रिया पारसले देखाउँछन् र त्यसलाई प्रचार गर्नुपर्छ भन्ने सोचेर रचिएको खेल हो ।
अन्तर्राष्ट्रिय विमानस्थलमा तालिम प्राप्त प्रहरी अधिकारी हुनुपर्छ । भीआइपी को आउँदैछ, को जाँदैछ भन्ने सम्पूर्ण कुराको जानकारी उसले लिनुपर्छ । यति पनि थाहा नपाउने मान्छे चेकजाँजमा बस्छन् जस्तो लाग्दैन । यसकारण यो सबै राजसंस्था र पारसलाई विवादमा ल्याएर परिवर्तन हुन नदिने षडयन्त्र मात्र हो ।
पशुपति र लोहनीको नेतृत्व
यो व्यवस्था पल्टाउने आन्दोलनको नेतृत्व राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले गर्नेछन् । पार्टी एकता भए राप्रपा अध्यक्ष कमल थापा पनि तेस्रो अध्यक्षका रुपमा आएर आन्दोलनमा होमिनेछन् । एकता नभए मोर्चा बनाएर आन्दोलन गरिनेछ ।
राप्रपा मात्र नभइ सबै देशभक्त शक्तिहरुसंग मोर्चा बनाइ आन्दोलन हुनेछ । छिमेकी भारत र चीनसहित पश्चिमा राष्ट्रहरु पनि राजसंस्थाप्रति आकर्षित भएका छन् । गणतान्त्रिक पार्टीहरुले बाह्य देशहरुसंग विश्वास गुमाइसकेका छन् । छिमेकी राष्ट्रहरुले त झन यिनीहरुलाई विश्वास गर्ने अवस्था छैन ।
‘हामी आन्दोलनको आँधीबेहरी सृजना गरी हिन्दु धर्म र राजसंस्थाको पुनस्र्थापना गर्छौं । होइन मुलुक यसरी नै चल्ने स्थिति भयो भने दश, पन्ध्र वर्ष भित्र नेपाल भन्ने देश समाप्त हुन्छ ।’ गौचनले भने ।