कभर स्टोरी

यसकारण अब ‘भद्रगोल’ बनाउँदैनौं 

यसकारण अब ‘भद्रगोल’ बनाउँदैनौं 

काठमाडौं । नेपाल टेलिभिजनबाट हरेक शुक्रबार बेलुका प्रशारण हुने चर्चित हास्य धारावाहिक ‘भद्रगोल’ असार मसान्तपछि बन्द छ । अघिल्लो आर्थिक वर्षसम्मको सम्झौता पूरा गरेपछि भद्रगोल निर्माण गर्ने कलाकारहरुको समूहले नयाँ सम्झौता गरेको छैन । मिडिया हबले भद्रगोल खरिद गरेर नेपाल टेलिभिजनमा प्रशारण गर्दै आएको थियो । 

तर अहिले नयाँ सम्झौता हुन सकेको छैन । अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) को लेखन/निर्देशनमा प्रशारण भइरहेको यो धारावाहिक रोकिनुको कारण हो– कपिराइटसम्बन्धी विवाद । 

धारावाहिकका निर्देशक अर्जुन घिमिरे भन्छन्, ‘भद्रगोल भन्ने नाम जुराएको हामीले हो । सबै सिर्जना हाम्रो हो । कुनै एपिसोडको त कुरा छाड्नूस्, ‘भद्रगोल’ नाममा समेत हाम्रो अधिकार छैन ।’

मिडिया हबले हरेक भागको पैसा तिरेर सर्वाधिकार आफूमा राख्दै आएको थियो । तर यसखाले सम्झौंताबाट आफूहरु ठगिएको महशुस अर्जुन र उनको समूहले गर्न थालेको छ । अर्जुन भन्छन्, ‘पैसा लिएर सर्वाधिकार दिएको त हो । तर पैसा लिएको पनि के भन्नु, समयमा आए पो पैसा लिएको पनि अर्थ हुन्छ ।’

समयमा पैसा नआउने भएपछि देश–विदेशमा हुने कार्यक्रमबाट प्राप्त हुने पारिश्रमिक नै धारावाहिक निर्माण गर्न लगानी गर्नु परेको उनले सुनाए । अर्जुन प्रश्न गर्छन्, ‘यति गरेर पनि हामीलाई के प्राप्त भयो त ? हाम्रो जीवन त खेताला भएर नै जाला जस्तो भयो । काम र सिर्जना हाम्रो, सिर्जनाको मालिक अरु नै कोही ।’

मिडिया हबले आफूले खरिद गरेको धारावाहिकहरु युट्युबबाट प्रशारण गर्ने अधिकार केही समयअघिसम्म रामसार मिडियालाई बेचेको थियो । रामसारसँग मिडिया हबको खटपट भएपछि अहिले मिडिया हबकै युट्युब च्यानलबाट भद्रगोललगायत धारावाहिकहरु प्रशारण हुन्छन् । 

अर्जुन भन्छन्, ‘रामसार मिडियाले अहिले पनि पुराना भद्रगोलको टुक्रा काटेर युट्युबमा राख्छ । भ्युज बटुल्छ ।’

भद्रगोल निर्माण पक्षले अब सबै अधिकार आफूहरुमै निहित हुने भए निर्माण गर्ने नत्र भद्रगोल तत्काल सूचारु हुन नसक्ने मनस्थितिमा छ । 
 

नेपाल टेलिभिजन भद्रगोल अर्जुन घिमिरे 'पाँडे' कुमार कट्टेल 'जिग्री'

विशेष