विचार

कृष्ण जन्माष्टमीको महत्व, यसकारण सम्झिऔँ श्रीकृष्णलाई 

कृष्ण जन्माष्टमीको महत्व, यसकारण सम्झिऔँ श्रीकृष्णलाई 

 

सच्चिदानन्दरुपाय विश्वोत्पत्त्यादिहेतवे ।
तापत्रयविनाशाय श्रीकृष्णाय वयं नुमः ।।

भगवानको दिव्यस्वभाव , दिव्यलीला र दिव्यकामको यसमा वर्णन पाइन्छ । अखिल ब्रह्माण्ड नायक , जगतका गुरु जो सत् , नित्य स्थायी भावमा सदा रहिरहने , चित् , ज्ञानशक्ति चेतना युक्त र आनन्द स्वरुप हुनु भएका अर्थात् पूर्णसत् , पूर्णज्ञान र पूर्णआनन्द रुप हुने , जो तीन प्रकारको ताप आधिदैविक, आदिभौतिक तथा आध्यात्मिक तापहरुको नाश कर्ता , जो जगतको उत्पत्ति स्थिति र विनाशको हेतु यस्ता श्रीकृष्णलाई हामी बन्दना गर्दछौं । 


भगवान श्रीकृष्ण द्वापर युगमा मामा कंशको मथुरा कारागारमा रहेका पिता वसुदेव र माता देवकीको आठौं गर्भबाट बाह्र बजे रात्रि वहाँको जन्म भएको हो । अत्यन्तै पराक्रमी , अति प्रभावशाली , महान क्रान्तिकारी , कुशल धर्मज्ञ, महान व्यक्तित्वका धनी भगवान श्रीकृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्नु हुन्थ्यो । 


हातमा मुरली, शिरमा मयूंरको प्वाँख , शीतल बगैंचामुनि , जीवजन्तू र गाईका माझ , गोठाला हरुका साथमा गाई चराउंदै संसारलाई माया र प्रेम सिकाउने प्रेमका मूर्ति , साक्षात् परब्रह्म परमेश्वर सोह्र कलाले परिपूर्ण भगवान श्रीकृष्ण ,भदौ महिनाको कृष्णपक्ष अष्टमी तिथिका दिन अन्धकार लाई चिर्दै प्राकट्य हुनुभएको दिनलाई जन्माष्टमी वा मोहरात्रि पनि भन्ने गर्दछौं ।


यसै दिनलाई संसारभरका हिन्दू धर्मावलम्बी र श्रीकृष्णका भक्तहरुले भगवान श्रीकृष्णको जन्मदिवस मनाउँदै आएका छन् , श्रीकृष्णले दिनुभएको दिव्यज्ञान लाई आज संसार भरका मानिसहरूले आत्मसात् गरि लाभान्वित भइरहेका छन् ।


भगवान कृष्णको जीवनमा दम्भ, अहंकार, र अनिर्णयताको सानो गन्ध पनि कहीं पाईंदैन । पाण्डवहरु सधै। अनिर्णयताको शिकार हुने हुंदा प्रत्येक चरणमा उनीहरुलाई श्री कृष्णले निर्णायक भइ सहयोग गरेको पाइन्छ । कुनै कुराको निर्णय गर्नु र गराउनु भनेको जिम्मेवारी लिनु हो ।

त्यस कर्मको फलको भागी हुनु हो, तर कृष्णले कर्म गर्ने तर कर्मफल संग निःसंग रहने ‘कर्मण्येवाधिकारस्ते’ को नीति प्रत्येक पदमा अवलम्बन गर्नु भएको छ । कृष्णलाई पूरै बुझ्न गीताको प्रत्येक श्लोकको अर्थ बुझे पुग्छ । अथवा कृष्णको जीवनको गहिरो अध्ययन गरे पछि गीता स्वतः नै अवतरित हुन सक्छ । 


महाभारत युद्धलाई रोक्ने अन्तिमसम्म प्रयास गर्दा पनि जब दुर्योधन र उसका सहयोगीहरुले स्वीकार गरेनन् । श्रीकृष्णले युद्ध गर्नुपर्ने निर्णय पाण्डवहरुलाई सुनाए । युद्धको निर्णय गर्नु भनेको ज्यादै ठूलो निर्णय हो । प्रत्येक युद्धले एक युगको समाप्ति र अर्को युगको प्रारम्भ गर्छ ।

युद्ध पछि नया शक्तिहरुको उदय हुन्छ । नया सभ्यता र संस्कृतिको विकास हुन्छ । महाभारतमा गीता सुनाएर भगवान श्रीकृष्णले एक नया युगको प्रारम्भ गरेका थिए । युद्धको प्रारम्भमा बजाइएको पाञ्चजन्य शंखको आवाज त्यही नयां युगको शंखध्वनि थियो । 


उनी एक महान योद्धामात्र होइनन् शान्तिदूतको रुपमा पनि श्रीकृष्णको भूमिका अनुपम छ । अर्जुन, उद्धव आदि अनेक शिष्यहरुलाई उनले उपदेश दिएका छन् त्यसैले उनी महान शिक्षक पनि हुन् र उनी जगद्गुरु पनि हुन् त्यसैलेत कृष्णं वन्दे जगद्गुरुम् भनिएको छ ।

भगवानको जन्मको मुख्य उद्देश्य भनेको 
जहिले धर्मको ग्लानीपापको वृद्धिदेख्दछु। 
त्यसै बखतमा पार्थ १ अवतार म गर्दछु ।।
हरेक युगमा साधु रक्षा दुष्ट विनाशन ।
धर्मको स्थापना गर्न हुन्छु उत्पन्न अर्जुन ।।


जहिले जहिले धर्मको लोप भइ , अधर्म अत्याचार दुराचार र अनाचारको प्रबलता फैलिन्छ र ती दुष्ट प्रवृत्तिलाई दमन र नाश गर्नका निमित्त र साधु सन्त र भक्त सज्जन महापुरुष हरुको रक्षा गर्नका निमित्त एवं धर्म कर्म , सदाचार शिष्टाचार लाई स्थापना गर्न हरेक युगमा भगवान श्रीकृष्णले अवतार ग्रहण गर्नु हुन्छ ।


भगवान् श्रीकृष्णको बारेमा जति बोले पनि त्यो अपुग हुन्छ । किनभने उनी अनन्त छन् , उनका गुण अनन्त छन् ,उनको लिला अनन्त छन् उनका नाम अनन्त छन् , उनको महिमा अनन्त छन् , उनका कथा अनन्त छन् , उनका ज्ञानको भण्डार अनन्त छन् । उनका शास्त्र अनन्त छन् ,उनको चरित्र अनन्त छन् । सन्त पुरुषहरुले भगवान् श्रीकृष्णलाई ज्ञानको अनन्त उचाइ र धर्मशास्त्रकारहरुले पूर्णावतार मान्दछन् ।


अतः आउनुहोस् हामी पनि भगवानले दिनु भएको दिव्य सन्देश लाई अध्ययन गरि जीवनलाई सार्थक र भक्तिमय बनाई धर्म कर्म , परोपकार र सेवाको मार्गमा लागाऔँ ,, भगवान लाई मान्नुका साथ साथै भगवानले भनेको कुरालाई पनि हामी मान्ने गरौं तबमात्र हाम्रो जीवन सार्थक सफल बन्नेछ ।

-केशव आचार्य, संस्कृत स्नातक सेवा मण्डली, थाइल्याण्ड 

विशेष