मुख्य समाचार

चितवन राष्ट्रिय निकुञ्जमा अर्ना र बाह्रसिङ्गेको संख्या थपिँदै

चितवन राष्ट्रिय निकुञ्जमा अर्ना र बाह्रसिङ्गेको संख्या थपिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा हाल अर्ना र बाह्रसिङ्गे रहेको ठाउँ विस्तार गरिने भएको छ । ठाउँ विस्तारसँगै  निकुञ्जमा अर्ना र बाह्रसिङ्गे पनि थपिने छन् । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा वि.सं २०७३ मा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिङ्गे ल्याइएको थियो ।

खोर विस्तारका लागि निकुञ्ज विभागले एक करोड बजेट विनियोजन गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए । उनका अनुसार हाल २२ हेक्टर जमीनमा विद्युतीय ‘पिसीसी मेस’ जालीसहितको तारबार गरेर अर्ना र बाह्रसिङ्गे राखिएको छ । सो ठाउँमा थप २५ हेक्टर क्षेत्रफल विस्तार गरिने प्रमुख संरक्षण अधिकृत ढकालले बताए । सँगै जोडेर वा गैँडालगायतका जनावरलाई वारपार गर्ने ठाउँ छाडेर कुन तरिकाले गर्दा उपयुक्त हुन्छ सोहीअनुरुप काम गरिने उनले जानकारी दिए।

प्राविधिकहरुसँग परामर्श गरेर छिट्टै काम शुरु गरिने ढकालको भनाइ थियो । ठाउँ विस्तार गरेपछि संख्या थप गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले ती जनावरलाई सधैँ खोरमा राख्न नसकिने भएकाले बथानमा छोड्न संख्या बढाउनुपर्ने बताए । खोरमा हाल तीन बच्चासहित १३ अर्ना र एउटा बाह्रसिङ्गे रहेका छन् ।

सदर चिडियाखानाबाट तीन र कोशीटप्पुबाट १२ अर्ना ल्याइएको थियो । तीमध्ये पाँच मरेका छन् भने तीन बच्चा जन्मिएका छन् । हाल खोरमा दुई भाले र आठ पोथी रहेका छन् । शुक्लाफाँटाबाट सोही समयमा ल्याइएका सात बाह्रसिङ्गेमध्ये तीन मरेका र तीन बेपत्ता भएपछि एउटा मात्र खोरमा छ । 

चितवन राष्ट्रिय निकुञ्ज चितवन अर्ना र बाह्रसिङ्गे वेदकुमार ढकाल

विशेष