समाज

तरकारी खेतीले फेरियो पहिचान

तरकारी खेतीले फेरियो पहिचान

बाँके । बर्दियाको बारबर्दिया नगरपालिका–१० मा जन्मिएकी मीना थारुले बाँकेलाई कर्मथलो बनाएको १८ वर्ष भएको छ । ४० वर्षीया थारुको पढाइलेखाइ नभएपनि उनीमा हरेक काम र सीप ग्रहण गर्ने राम्रो क्षमता छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१३ बस्दै आएकी मीनाले जिल्लामै सफल महिला कृषकको रुपमा पहिचान बनाएका छन् । उनको बारीमा थरीथरीको तरकारी देख्न सकिन्छ । विसं २०६९ बाट तरकारीको व्यावसायिकतामा लागेकी थारूलाई अहिले भ्याइनभ्याइ छ ।

आफ्नो जग्गामा र अरुसँग केही जग्गा भाडामा लिएर उनले तरकारी खेती गरेकी छन् । एउटै याममा तरकारी बेचेर रु दुई लाख कमाउन सकेको उनले बताइन् । उनले मौसमी र बेमौसमी तरकारी लगाउने गरेकीले वर्षैभरि बारीमा तरकारी हुने गर्दछ । उनले भनिन्, ‘मलाई वर्षभरि नै तरकारीले व्यवस्त बनाएको छ । यसबाट कमाइ पनि राम्रै भएको छ ।’    

उनी आफैँ पनि टाउकोमा छिट्नी बोक्दै तरकारी बेच्ने गरेकी छन् । आफूले विषादीरहित तरकारी उत्पादन गरेको भन्दै उनी आफूले उत्पादन गरेको तरकारीको प्रचारसमेत गर्छिन् । कोही घरमै तरकारी किन्न आउने गर्छन् ।    

मेला, हाटबजारमा उनले बाटो बाटोमा तरकारी बेच्छिन् । घरमै बसेर तरकारी खेती गर्दा राम्रो कमाइ भएकाले लौका, फर्सी, भिण्डी, साग, भण्टा, सिमी, करेला, बोरी, खुसार्नी लसुन, प्याज, च्याउलगायत अन्य विभिन्न प्रकारका तरकारी लगाएकाले उनको बारी वर्षैभरि हरियाली हुने गर्दछ ।    

बजार मूल्यभन्दा सस्तोमै आफूले गुणस्तरीय तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेकाले पछिल्लो पटक तरकारीको माग अझै बढ्दै गएको उनको भनाइ छ ।    

अन्य महिलालाई पनि तरकारीखेती गरेर व्यावसायिक बन्न आफूले प्ररणा दिएको उनी बताउँछिन् ।

तरकारी खेती

विशेष