१२ वर्षपछि शेखरले फर्काए रंगकर्मको खोला (भिडियोसहित )
नेपाली रंगकर्मको क्षेत्रमा सुपरिचित शेखर चापागाईं १२ वर्षको अन्तरालपछि पुनः नाट्य क्षेत्रमा सक्रिय भएका छन् । उनी यही भदौ १४ गतेबाट काठमाडौंमा प्रदर्शन हुन लागेको ‘महाभोज’ नाटकबाट आफना दर्शकसामु प्रस्तुत हुँदैछन् ।
‘महाभोज’ भारतीय लेखिका मनु भण्डारीले लेखेको नाटक हो । यसको निर्देशक अनुप बरालले गर्दैछन् । यसमा चापागाईंले एउटा पत्रकारको भूमिका निर्वाह गर्दैछन् । रिहर्सलकै क्रममा रहेका बेला नेपाल आजसंग कुराकानी गर्दै चापागाईले भने, ‘यो नाटकले नेपालको राजनीतिक र पत्रकारिताको यथार्थ चित्रण गरेको छ । ’
२०४४/४५ सालमा ‘यहाँको माटो, बोटविरुवा र मालीहरु’ बाट नाट्य जीवनको सुरुवात गरेका चापागाईं करिब १२ वर्ष यो क्षेत्रबाट हराए । नाट्यकर्ममा लागेर बाँच्ने आधार नभेटेपछि उनी आयआर्जनतर्फ लागे । यसका लागि उनले कुरियर सेवा सुरु गरे । कुरियर व्यवसायबाट आर्थिक उपार्जन गरेपनि उनको मनको कलाकारिता भने अशान्त थियो । अहिले चापागाईं सम्पूर्ण व्यवसाय छोडेर पुनः कलाभित्रको कोलाज रंगाउन लागेका छन् ।
चापागाईं भन्छन्, ‘रंगकर्मीको अवस्था अहिले हिजो भन्दा राम्रो छ । हिजो हामी कालो चियामा काम गथ्र्यौ भने अहिले अण्डा चिउरा खान सक्ने स्थिति छ । केही गरौं भनेर पुनः यो क्षेत्रमा आएको छु, तपाईंहरु सबैको सहयोग चाहिन्छ ।’
चापागाईंले पहिले प्रज्ञा प्रतिष्ठनमा प्रस्तुत गरेको नाटक ‘ कफ्र्यू ’हो । विवश पोखरेलले लेखेको सो नाटकका निर्देशक विशाल पोखरेल हुन् । उनले अभिनय गरेका नाटक मध्ये सबैभन्दा चर्चित नाटक चाहिं ‘पुतलीको घर’ हो । नर्वेजियन लेखक हेनरिक इक्सनले लेखेको यो नाटक वरिष्ठ रंगकर्मी सुनिल पोखरेलले नेपालीका अनुवाद गरेका हुन् । यो नाटकका निर्देशक पनि उनै हुन् ।
पुराना दिन सम्झदै चापागाईं भन्छन्, ‘पुतली घरको प्रदर्शन दिल्लीमा हुने भयो । म अचम्म परे, यो नाटक हेर्न भारतका प्रख्यात अभिनेता इरफान खान पनि आइपुगे । इरफान सुनिलले निर्देशन गरेको नाटक भन्ने सुनेर हेर्न आएका हुन् । सुनिल र इरफान एउटै विश्वविद्यालयका छात्र हुन् । सुनिलको नाटक हेर्न इरफानसमेत आएपछि हामीलाई पनि गर्व लाग्यो । सुनिल यो देशका ठूला रंगकर्मी हुन् । ’
सुनिलसहित बद्री अधिकारी, विशाल पोखरेल, भैरव क्षेत्री लगायतलाई उनले सम्झें । अझैपनि यी कलाकारहरु नाट्य क्षेत्रमा सक्रिय छन् । सबैले आ–आफनो क्षेत्रबाट मेहनत गरेका छन् । नाट्य क्षेत्रमा जे भएको छ, नीजिस्तरबाट भएको छ । सरकारले कुनै योगदान दिएको छैन । सरकारको ध्यान पनि पुगेको छैन ।
चापागाईं हेण्डबल खेलको राष्ट्रिय खेलाडी समेत हुन् । उनले राष्ट्रको प्रतिनिधित्व गर्दै थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता समेत जनाएका छन् । उनी भन्छन्, ‘नाटक खेल्ने र हेर्ने दुवै बौद्धिक खालका मानिस हुन् । यो फिल्म जस्तो होइन । फिल्मभन्दा नाटक बढी जीवन्त हुन्छ । यसका कलाकारसंगै दर्शक पनि गम्भीर र बौद्धिक हुनुपर्छ । ’
पछिल्लो समय नेपालमा नेपाली नाटकको अभाव छ । केही नाटककार हुनुहुन्छ, जो नियमित लेखिरहनु भएको छ, तर जति हुनुपर्ने हो त्यो पुगेको छैन, अपर्याप्त छ । गीत, कविता, गलज, निबन्धको तुलनामा नाटक लेख्नेहरु कम छन् । त्यही भएर अचेल गीत, कविता, कथाको भावनालाई बुझेर त्यही अनुसार नाटक खेल्नुपर्ने अवस्था सृजना भएको छ ।
‘मोक्ष’ र ‘मौन’ नामक दुईवटा फिल्ममा समेत अभिनय गरिसकेका चापागाईं अब नाटकमा मात्र सीमित नहुने बताउँछन् । उपयुक्त प्रस्ताव आयो भने फिल्ममा पनि अभिनय गर्न आफू तयार रहेको उनी बताउँछन् । अहिले नेपाली चलचित्र क्षेत्र रंगकर्मको पृष्ठभूमिबाट आएकाहरुले धानेको उनको बुझाइ छ ।
उनी भन्छन्, ‘सरोज खनाल, विपिन कार्की, दयाहाङ राई, सौगात मल्ल, सरिता गिरी सबै रंगकर्मी हुन् । तर, केही कलाकारहरु अहिले आफूलाई रंगकर्मी हुँ भन्न लाज मान्छन्, यो राम्रो होइन । ’
नेपाली नाटकहरु मुख्यतः भारत, बंगलादेश, पाकिस्तान, रुस, नर्वे, डेनमार्क लगायतका देशमा प्रदर्शन गर्ने गरिएको छ । अझ सम्पर्क बढाउँदै गए संसारका कुनैपनि देशमा नाटक प्रदर्शन गर्न सकिने अवस्था रहेको उनी बताउँछन् ।