मुख्य समाचार

आज नेकपा सचिवालय बैठक बस्दै, के विषयमा हुँदैछ छलफल?

आज नेकपा सचिवालय बैठक बस्दै, के विषयमा हुँदैछ छलफल?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकताको १५ महिनापछि प्रचण्डले पहिलो पटक एक्लैले अध्यक्षता गर्न लागेको  सचिवालय बैठकको आज विहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ । यसअघि बैठक दिउँसो १ बजे बस्ने भनिएकोमा बैठक ११ बजेका लागि बोलाइएको हो । 

पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि गत बिहीबार सिंगापुर गएपछि अध्यक्ष प्रचण्डले बैठक बोलाएका हुन्। बैठकमा सांगठनिक एकता र अन्य निर्णयहरू गरिने बताइएको छ। 

 पार्टी एकताका बाँकी काम टुंगो लगाउन प्रचण्डले बैठक बोलाएर निर्णय गर्ने निर्णय यसअघिको सचिवालय बैठकले गरेको थियो। नेकपामा प्रवास कमिटी, महानगरहरूको नेतृत्व, पोलिटब्युरो गठन, अन्य केन्द्रीय सदस्यहरूको कार्यविभाजनलगायतका एकताका काम हुन बाँकी छ।

आजको बैठकबाट पार्टी एकताका बाँकी कामको टुंगो लाग्ने सम्भावना रहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।  नेकपाका यसअघिका सचिवालय बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुँदै आएका थिए। 

नेकपा सचिवालय बैठक

विशेष