गन्तव्य र मन्तव्य एकै होस्
‘मेरो साना दुःखले आज्र्याको मुलुक होइन सवै जातको फूलवारी जस्तो यो नेपाल असली हिन्दूस्थाना रहयाको छ .....’ श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भनेको वाक्य हो । तपाईंहरु अहिले नेपाली जनताले छानेको जन प्रतिनिधिबाट गठित संविधानसभाबाट निर्मित संविधानको आधारमा जनताका प्रतिनिधि बनेर सरकार तथा विपक्षीको हैसियतमा पुग्नु भएकोमा तपाईंहरुलाई बधाई छ, तपाईंहरु भाग्यमानी हुनुहुन्छ । हामीहरु २५० वर्षदेखि हालसम्म जात, धर्म, संस्कृति, लिङ्ग, क्षेत्रका आधारमा उत्पीडित भएर दिन बिताइरहेका छौं ।
तपाईहरु कतिपय आफ्ना भावी दिन गनिरहनु भएको होला, म पनि गनिरहेको छु । व्यक्तिले सकेको गर्ने हो तर शक्तिले चाहेको पनि गर्न सकिन्छ । विकास सरकारको शक्तिले गर्ने हो । त्यसैले शक्तिलाई मानिन्छ, पूजिन्छ । शक्तिहीन भएपछि क्रमश विलुप्त भइन्छ । हिजोका हाम्रा होनाहार धेरै साथीहरु आज छैनन । तर हामी उनीहरुलाई सम्झना गरिरहेका छौं । प्रश्न छ– त्यस मध्येमा पृथ्वीनारायण शाह पनि प्रमुख एक हुन । किनकि उनले यो देश बनाएर हाम्रा पुर्खाहरुलाई जिम्मा दिए । तपाईंहरुलाई किन यस देशले सम्झना गर्ने ? किन भविष्यमा नेपालीहरुले सम्झने ?
म हाल जर्मनीका अटोभोन लियोपोल्ड विस्मार्कलाई सम्झना गरिरहेको छु जसले ३९ वटा साना साना जर्मन राज्यहरुलाई जर्मनीको सन १८६२–९० भित्र एकीकरण गरेका थिए । उनलाई जर्मनी एकीकरण गर्नका लागि धेरै बाधा तथा अवरोध आएको थियो । तर पनि उनले यो कठोर कार्य गरेर नै छोडे । पहिलो विश्वयुद्धले हिटलरको उदय भयो तर दोश्रो विश्वयुद्धले हिटलरको पतन गरायो । सन १९३९–४५ को बीचमा पूर्व तथा पश्चिम जर्मनी गरी दोश्रो विश्व युद्धले दुई भागमा जर्मनीलाई विभाजन गरेको थियो । तर युरोपको खुलापन तथा उदारवादलाई स्वीकार गर्दै जर्मनीलाई १९८९ पछि राष्ट्रियताको भावनाले एकीकृत गरायो । बर्लिनको पर्खाल ढालियो, राष्ट्रिय एकतावद्ध अहिलेको जर्मन खडा गरियो । खराव काम गर्नेको इतिहासमा नाम उल्लेख हुँदैन , सम्झना गरिदैन । असल गर्नेहरुको मात्र गरिन्छ । इतिहासमा विस्मार्कले एउटा अध्याय पाठ थपेकोले म इतिहासको विद्यार्थी भएकाले पनि उनलाई यहाँ सम्झना गरेको हो ।
त्यसैगरी हामी नेपालीले पनि नेपालको विकासको विषयलाई यसरी नै सधै एकीकृत रहोस भनी उठाउन चाहान्छौ । अब प्रदेश प्रदेशले दीगो विकासका लागि मित्रवत् प्रतिस्पर्धा गर्नु पर्दछ । केन्द्रले समन्वय गर्नु गराउनु पर्दछ । त्यसमा अर्थविद, योजनाविद्, प्राविधिक, इन्जिनियर, कानुनविद्, समाजशास्त्री, व्यवस्थापक, विज्ञ विद्धान तथा पत्रकार समेत राखेर योजना निर्माण गरी आर्थिक विकास गर्नुपर्ने देखिन्छ । सरकारले यही काम गर्न गराउन अति आवश्यक छ । तपाई सवै नेताहरुले यसमा हात– साथ सहयोग दिन हुनेछ ।
विकास नभएकोले आज धेरै नेपालीहरु विदेशिनु तथा परनिर्भर बन्नु परेको सत्य जगजाहेर छ । अहिलेका धेरै युवा यहीँ बसेर नेपालको उन्नति र विकास होस भन्ने चाहन्छन । तर उनीहरु नेपालमा हुनु पर्ने काम कुरा नभएको र नहुनु पर्ने काम कुरो ज्यादै भएकाले गर्दा मनभरी पीडा बोकेर विदेशिनु परेको सत्य छ । यो स्थिति राष्ट्रियता तथा स्वाभिमानका लागि ठूलो चुनौति हो । हाम्रो जनता हिन्दुस्तानले काश्मिर तथा कारगीलमा पहिला मोर्चामा झोसी दिन्छ, चीनसंग विवाद बढेमा डोकलाममा ५ हजार गोर्खा सेना लगे जस्तो गरी खटाउँछ । हाम्रा चेलिवेटी, दिदीबहिनीहरु कोठीमा लगिन्छन बेचिन्छन । चिनियाँहरुले मानव वेचविखनमा नेपाल रुट बनाएर लगेका छन भन्ने समाचारमा प्रकाशित हुने गर्दछ । भारतीय होस वा चिनियाँ हुन, उनीहरु विदेशी जनतालाई आपनो होइन भन्दछन । पैसा कमाउनका लागि मनलागी गर्दछन । हाम्रा लागि यो राम्रो मानिदैन । नेपाली ती सन्तति हुन, जसको सवैप्रति जिम्मेवारी रहेको छ ।
नेतागणसंग आग्रह छ– त्यसैकारण अबका दिनमा सवै राजनीतिक दलहरुले आपसी मतभेद छोडी, उत्साह, जोश तथा जाँगरले नेपालको विकासको लागि नेपालमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी बनाउन, निरन्तरता कायम राख्न कठोर मिहिनेत गर्नु पर्दछ । असल विचार, अनुशासन र परिश्रम, व्यक्ति तथा समाज विकासको त्रिवेणी हो । जहाँ यी तीन कामकुरा हुन्छन त्यहाँ विकास हुन्छ । यसको आधारमा एकीकृत दीगो विकास हाम्रो साझा लक्ष्य बनाएर काम गरांै । हाम्रो गन्तव्य तथा मन्तव्य एकैतिर गतिशील बनोस । तपाईंहरुलाई सवैथोकको साथ र सहयोग मिल्ने छ ।
पृथ्वीनारायण शाह गन्तव्य