‘अघिल्लो जन्मको मेरो मृत्यु दर्ता प्रमाणपत्र मसँगै सुरक्षित छ, तर देखाउँदिनँ’
२१ औं शताब्दी भएर के भो ? क्षमता हुनुपर्छ अहिले पनि मान्छे मूर्ख बनाउन सकिने रैछ
काठमाडौं । नेपालका विवादास्पद ओशो गुरु स्वामी आनन्द अरुणले आफ्नो अघिल्लो जन्मको मृत्यु दर्ता प्रमाणपत्र आफूसँग रहेको दावी गरेका छन् । उनले आफ्नो मृत्यु भएको स्थलमा जहाँ आफ्नो अन्तिम संस्कार गरियो, त्यही गएर डेथ सर्टिफिकेट बनाएर ल्याएको र त्यो आफूसँग सुरक्षित रहेको उनको जिकिर छ ।
उनले अनलाइनखबर डट कमसँगको कुराकानीमा यस्तो तिलस्मी कुरा गरेका हुन् । कुराकानीका क्रममा उनले भनेका छन्, ‘भगवान बुद्धले पनि पूर्वजन्मको कुराकानी गर्नुभएको छ ।’
स्वामी अरुणले प्रमाणित गर्न नसकिने भएका कारण सार्वजनिक रुपमा आफूले पूर्वजन्मको बारेमा नबोल्ने गरेको भने पनि उनले आफूसँग ‘डेथ सर्टिफिकेट’ नै रहेको उल्लेख गरेका छन् ।
संसारमा साढे सात अर्ब जनसंख्या भएको र आफूले जे भने पनि पाँच लाखले विश्वास गर्ने स्वामीको दावी छ । उनले भनेका छन्, ‘पाँच लाखले त मैले जे बोले पनि पत्याउँछन् । तर बाँकीले पत्याउँदैनन् । उनीहरुले प्रमाण खोज्छन् । मेरो पूर्वजन्मको प्रमाण मसँग छ तर देखाउन चाहन्न, देखाउन मिल्दैन ।’
आफूले पूर्वजन्मबारे प्रमाण देखाउन नमिल्ने भएर नबोल्ने भनेकै अन्तर्वार्तामा स्वामीले भनेका छन्, ‘अघिल्लो जन्ममा मेरो मृत्यु सन् १९११ (विक्रम सम्वत १९६८)मा भएको थियो । त्यो जन्ममा म ५० वर्षमात्रै बाँचेको थिएँ ।’
पूर्वजन्मबारे चर्चा गर्न योगले अनुमति नदिने स्वामी अरुणको कथन छ । तर उनले अन्तर्वार्तामा चर्चा गर्न कुनै कसर बाँकी राखेका छैनन् । उनले आफ्नो मृत्यु भएको मिति नै घोषणा गरेपछि सम्भवतः चर्चा गर्न थप कुनै कुरा आवश्यक पर्दैन होला ।
उनले ध्यानका क्रममा आफ्नो पूर्वजन्मको बस्ती, आफ्नो प्रिय सेतो घोडा देखेको उनले बताएका छन् ।
ओशो रजनिशसँग पनि पहिलो जन्मदेखि नै सम्बन्ध रहेको अरुण स्वामीले चर्चा गरेका छन् । पहिलो जन्मदेखिकै सम्बन्ध भएका कारण यो जन्ममा पनि देख्नेसाथ आफूूले आत्मियता महशुस गरेको उनले उल्लेख गरे ।
स्वामी आनन्द अरुणले आफ्नो पूर्वजन्मको बारेमा मात्रै होइन ओशोको पूर्वजन्मबारे पनि बताएका छन् । ओशो यसअघि सात सय वर्षअघि तिब्बतमा जन्मेको उनले बताएका छन् । आफ्नो अघिल्लो जन्ममा सन् १९११ मा मृत्यु भएको तर ओशो सात सय वर्षअघि जन्मेको बताउने स्वामीले ओशोसँग पहिले पनि सँगै हिँडेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘तिब्बतमा ओशोका २० हजार शिष्य थिए, त्यसमध्ये म पनि एक थिएँ ।’