Technology

कसरी जन्मियो टुथब्रश ?

कसरी जन्मियो टुथब्रश ?

सन् १७८० मा इंग्ल्याण्डको जेलमा भएको घट्ना हो यो । विलियम एडिस नाम गरेका व्यक्ति उपद्रो गरेको अभियोगमा जेल सजाय भोगिरहेका थिए । सबै कैदीहरुलाई झैं उसलाई पनि दाँत सफा गर्न कठिन भइरहेको थियो । उनीहरु कोही औंला त कोही रुखको सानो तथा नरम हाँगाले दाँत सफा गर्ने प्रयाश गरिरहेका हुन्थे । दिन वित्दै थिए । एकदिन अनायास उसको मनमा के आयो कुन्नि, मासु खाएर फालिएका पातलो हाडमध्ये एउटा हाड छान्यो । हाडको अघिल्तिर सानासाना प्वाल बनायो । ती दुलोमा कुनै जनावरका कडा कडा रौं घुसारिदियो । बस के चाहियो र, संसारको पहिलो टुथब्रश तयार । 

विस्तारै विस्तारै झ्यालखानाका अरु कैदीले पनि यो शैली अपनाउन थाले । कैदीले मात्र नभएर यस्तो नक्कल सिपाहीले पनि गर्न थाले । ख्यालख्यालमा गरेको कामले आविष्कारको रुप पाएपछि एडिस दंग भए । जेलबाट छुटेपछि उनले यही कामलाई निरन्तरता दिए । जेल पर्नुअघि छालाको काम गर्ने एडिसको व्यावसायिक चिनारी नै फेरियो । नाम, दामले खुबसंग पछ्यायो । टुथब्रस हाडबाट नभएर काठ र धातुबाट बनाउने प्रचलन शुरु भयो । जेलबाट शुरु भएको यो अभियान दुनियाभर फैलियो । 

हुन त टुथब्रस जस्तो चीजको खोजी १५ औं शताब्दीतिरै चिनियाँले गरिसकेका थिए । तर त्यो चीनमै सीमित रह्यो । यसअघि नै अरवी मुलुकमा दतिवनले दाँत सफा गर्ने चलन थियो । उनीहरु दतिवनका लागि ‘अरक’ जातको बनस्पति उपयोग गर्थे । हाम्रो समाजमा पनि निम, जामुन नामका वनस्पतिका नरम हाँगा दतिवनका रुपमा उपयोगको परम्परा प्राचीन कालदेखि नै चलेको पाइन्छ । ब्राम्हणहरुमा सूर्योदयको समय सूर्यतिर मुख पारेर दतिवन गर्नु धार्मिक कार्य मानिन्थ्यो । ऋषि पञ्चमीका दिन महिलाहरुले दतिवन लगाएर दाँत माझेर आफूलाई शुद्ध राख्ने परम्परा अहिले पनि धार्मिक विधिभित्र पर्दछ । 

१८ औं शताब्दीमा टुथब्रशको सेट नै बेचिन्थ्यो । एउटा सेटमा ५,६ वटा टुथब्रश हुन्थे । यिनीहरुमा जनावरको रौं यसरी लगाइन्थ्यो, जसरी जुत्ता टल्काउने ब्रसमा लगाइएको हुन्छ । प्लास्टिक र नाइलनको खोजीले टुथब्रशको व्यवसायमा क्रान्ति ल्याइदियो । नाइलन प्रयोग भएको ब्रशले सन् १९३८ अमेरिकी बजारमा प्रवेश पायो । अहिले अनगिन्ती रंग र स्टाईलका टुथब्रश बजारमा पाइन्छ । नरम खोज्नुस् या कडा । छोटो या मोटो हरेक उमेर समूहलाई बेग्लाबेग्लै साइजका ब्रश बजारमा छन् । बिजुलीबाट चल्ने ब्रश पनि आविष्कार भएको थियो । तर यो लोकप्रिय हुन सकेन । 

दाँत टुथब्रश

विशेष