कभर स्टोरी

‘जनकपुर चुरोट कारखाना’ झै डुब्दैछ टेलिकम (भिडियोसहित)

‘जनकपुर चुरोट कारखाना’ झै डुब्दैछ टेलिकम (भिडियोसहित)

काठमाडौं । सरकारी स्वामीत्वको नेपाल टेलिकमको हालत चाँडै नै ‘जनकपुर चुरोट कारखाना’को जस्तै बनाउन खोजिएको भन्दै नागरिक समाजका व्यक्तिहरुले खबरदारी गरेका छन् । 

नागरिक अभियान नेपालको आह्वानमा शुक्रबार आयोजित खबरदारी सभाका वक्ताहरुले टेलिकम भ्रष्टाचारको आहालमा चूर्लुम्म भएको दावी गरे । 
काठमाडौंको भद्रकालीस्थित नेपाल टेलिकमको कार्यालयअगाडि राखिएको कार्यक्रममा वरिष्ठ अधिवक्ता एवं उपभोक्ताअधिकारकर्मी ज्योति बानियाँ, भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही, नागरिक अधिकार अभियानका हरिराम रिमाललगायतले टेलिकमभित्रको भ्रष्टाचारका कारण यसले प्रतिस्पर्धी क्षमता गुमाउँदै गएको उल्लेख गरे । 

सभामा उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले भने, ‘विदेशीको प्रभावमा नेपाल टेलिकम डुबिरहँदा टेलिकमकै कर्मचारी मौन छन् । फोरजी विस्तारमा निजीले बजार खाइसक्दा पनि टेलिकमका कर्मचारी मौन बसे । टेलिकम जस्तो जहाज डुब्दा कर्मचारी नडुब्ने हुँदैन । बेलैमा होस् पुर्याउनु पर्छ ।’
बानियाँले नेपाल टेलिकमको नाफा क्रमशः घट्दै गएको कारण बुझ्न जाँचबुझ आयोग नै गठन हुनु पर्ने माग  राखे । 

सभामा भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीले निजी कम्पनी एनसेल अड्डा अदालतबाट करमा पनि छुट हुँदै जाने, नाफा बढाउँदै जाँदा नेपाल टेलिकमको आम्दानी भने घट्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले भने –‘सरकार संस्थानलाई देख्नै नहुने भयो, ४४ संस्थान हिजोका दिनमा कौडीको भाऊमा बेचिए, अब टेलिकम पनि त्यस्तै बनाउन खोजिएको छ ।’

शाहीले फोरजी विस्तारमा टेलिकममा विवाद सिर्जना गरिदिने र निजीलाई बजार सुम्पिने कुकर्ममा विभागीय मन्त्रीहरुसमेतको हात रहेको आरोप लगाए । अहिलेका मन्त्री गोकुल बास्कोटासमेत टेलिकमको निरन्तर घाटामा मौन बस्नुको भित्री कारण यसलाई पनि निजीकरणमा लैजाने इच्छा रहेको दावी गरे । 
शाहीको प्रश्न छः चार अर्बमा एनसेलले फोरजी विस्तार गर्दा टेलिकमलाई १८ अर्ब किन लाग्छ ? 

टेलिकममा नीतिगत भ्रष्टाचार मौलाएको र यसमा चिनियाँ सूचना प्रविधि कम्पनी हुवावेको  डिजाइन रहेको उनले बताए । शाहीले भने, ‘हाम्रा जनशक्ति खाडी जानु पर्ने, अर्बौको योजना हुवावेले ओगट्ने र उसैका नागरिकले रोजगारी पाउने अवस्था छ ।’

सभामा नागरिक अभियानका हरिराम रिमालले कर छली गरेर राज्य ठग्ने एनसेलबारे सर्बोच्च अदालतमा फैसलासमेत उल्टिनु दूर्भाग्य भएको उल्लेख गरे । उनले टेलिकमका ठूला योजनामा विदेशीले काम पाउने, नेपालीले नपाउने थिति अन्त्य हुनुपर्ने बताए । 

फोटो – गगन थापा


 

विशेष