समाज

राष्ट्रपतिबाट सर्पदंश अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन

राष्ट्रपतिबाट सर्पदंश अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्पदङ्शको समस्या र यसबाट हुने मृत्युुदर घटाउन विभिन्न रोकथामका कार्यक्रमहरू सञ्चालन र जनचेतना अभिवृद्धिका साथै उपचार प्रणालीमा सुधार गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिपार्टमेन्ट अफ इन्टरनल मेडिसिनद्वारा राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित सर्पदङ्श सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले नेपालमा गर्मी एवं वर्षायामसँगै हुने विभिन्न समस्यामध्ये सर्पदंश पनि एक भएको बताउनुभयो ।

उहाँले सर्पदङ्शको समस्या नेपालका ग्रामीण बस्ती र तिनमा पनि विशेषतः तराई क्षेत्रमा अझ गम्भीररूपमा रहेको उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “विषालु सर्पसम्बन्धी ज्ञान, प्राथमिक उपचार विधि र अति आवश्यक सर्पदङ्श प्रतिरोधक औषधिको सीमितताले गर्दा कयौँ मानिसले सर्पको डसाइबाट अकालमा मृत्युुवरण गर्नुपर्ने दुःखदायी अवस्था रहेको छ । यसलाई अन्त्य गर्नु जरुरी छ ।”

राष्ट्रपति भण्डारीले नेपालका स्वास्थ्यकर्मीहरूबाट गुणस्तरीय स्वास्थ्य सेवाको सुलभताका निम्ति सराहनीय कार्यहरू भइरहेको चर्चा गर्दै सीमित पूर्वाधार र न्यून जनशक्ति हुँदाहुँदै पनि निकै मिहिनेतका साथ समुदायमा सेवा पु¥याइएको उल्लेख गर्नुभयो ।

उहाँले सर्पदंशका बारेमा नेपालमा धेरै अनुसन्धानहरू भएका र यसको उपचार, व्यवस्थापन र रोकथामका निम्ति नेपालका विज्ञहरूबाट पहल कदमी भएको बताउनुभयो । कार्यक्रममा प्रदेश नं। २ का मुख्यमन्त्री लालबाबु राउतले तराई÷मधेशमा सर्पदंशको समस्या सम्बोधन गर्न सङ्घ, प्रदेश र स्थानीय निकायका सामूहिक प्रयत्नको खाँचो औँल्याउनुभयो ।

सम्मेलन आयोजक समितिका संयोजक वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक सञ्जीव शर्माले सर्पदङ्श उपेक्षित जटिल जनस्वास्थ्य क्षेत्रका रुपमा रहेको भन्दै यसका बारेमा नीति बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

दुई दिनसम्म हुने सर्पदङ्श सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल सहित दक्षिण एशियाली क्षेत्रीय सहयोग सार्कका सदस्य राष्ट्रहरु, बेलायत, अमेरिका, स्विटजरल्याण्ड, जर्मनीका सर्पदङ्श उपचारका क्षेत्रमा कार्यरत चिकित्सक तथा नीति निर्माताको सहभागिता रहेको छ ।

नेपालमा बर्सेनी ४० हजारभन्दा बढी मानिस सर्पको डसाइबाट पीडित हुने गरेका र तीमध्ये एक हजारभन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क छ ।

विशेष