मनोरञ्जन

‘चोलीके पिछे’ जान्न खोज्नेलाई माधुरीले भनेकी थिइन्,‘मेरो चोलोभित्र मुटु छ’

‘चोलीके पिछे’ जान्न खोज्नेलाई माधुरीले भनेकी थिइन्,‘मेरो चोलोभित्र मुटु छ’

काठमाडौं । सन् १९९३ मा रिलिज भएको वलिउड फिल्म ‘खलनायक’को एक गीत भारतको सरकारी टेलिभिजन र रेडियोमा प्रतिबन्धित भयो । त्यो गीत थियो, आनन्द बक्सी सिर्जित, लक्ष्मीकान्त – प्यारेलालद्वारा संगीतबद्ध ‘चोलीके पिछे क्या है ?’ बोलको चर्चित डान्सिङ आइटम । 

चोलीके पिछे अर्थात ‘चोलो भित्र के छ ?’ भन्ने शब्द भारतमा ठूलो विवादको विषय बन्यो । एक आलोचक महिलाले त सो गीतमा नृत्य गर्ने नायिका माधुरी दीक्षितलाई सोधिन् ‘तिम्रो चोलो भित्र के छ ?’ माधुरीले जवाफ फर्काइन, ‘मेरो चोलोभित्र मुटु छ ।’

माधुरी दीक्षित जति सुन्दर छिन्, उति नै उनी बुद्धिमान पनि छिन् । उनको त्यही बुद्धिमत्तापूर्ण जवाफले यो विवादलाई किनारामा लगायो । तर पनि अधिकांशले ‘चोलीके पिछे भन्ने गीतमा महिलाको यौन चाहना अभिव्यक्त छ’ भन्ने दावी गरे । यो गीत गाउने अल्का यज्ञिक पनि विवादमा तानिइन् । ‘महिलालाई ‘सेक्स’ कै प्रतीकका रुपमा यो गीतले अथ्र्याएको छ’ भन्दै गीत विवादमा पर्यो । 

‘चोलीके पिछे क्या हे ?’ भन्ने प्रश्नको जवाफमा माधुरीले दिएको चलाखीपूर्ण जवाफमात्रै अन्तरनिहीत छैन । यो दुई अर्थ लाग्ने गीत पक्कै हो । एउटा अर्थ देखाएर अर्को ‘इमोसन’ फैल्याउने नियत गीतमा छ भन्नेहरु पनि भए । 

अधिकांश सिनेमा, गीत आदिमा ग्ल्यामर प्रयोग गर्न खोजिन्छ । ढंग पुगेन भने त्यो ग्ल्यामर होइन, भल्गर बन्छ । जस्तो कि नेपालकै केही प्लस साइजका जस्ता देखिने हिरोइनहरुले ग्ल्यामरस बन्न लगाएका छोटा कपडा भद्दा देखिन्छन् । 

अहिले नेपालमा पनि एउटा गीत दुई अर्थ दिने भन्दै विवादमा परेको छ ।  प्रतीक पौडेलको संगीत र अर्जन पाण्डेको स्वरमा रहेको ‘घाँटीभन्दा तल त राम्री नै छे’ बोलको गीत विवादमा परेको छ । 

युट्युबमा राखिएको भिडियोमा गीतकारको नाम छैन । विवाद भने शब्दकै कारण सिर्जना भएको छ । 

के यो विवाद गर्न योग्य गीत हो ? गीतकार राजेन्द्र थापा भन्छन्, ‘गीतले भन्दा हल्लाले चिनियो यो  गीत । समाजमा अर्थको अनर्थ लगाउने मान्छेलाई सिकार गर्न गीतकारले यस्तो सिर्जना गर्छन् । यसर्थमा यो गीत सफल भएको छ । किनभने यसले विषयवस्तुलाई अनर्थ लगाउने मानिसहरुलाई आफूतिर तान्न सफल भएको छ ।’

‘घाँटीभन्दा तल राम्रो छ’ भन्ने शब्दले कसरी कसैलाई अपमान गर्ने, अर्को अर्थ दिने हुन्छ ?’ थापा थप्छन्,‘मैले खेलौना लेख्दा धेरैले नारीवादी उपन्यास भन्नुभयो । खगेन्द्र संग्रौलालाई अश्लील लाग्यो । जसको दिमागमा जे छ उसलाई त्यस्तै लाग्छ ।’ 

थापाले हाम्रो समाज नै गाउँ र सहरको बीचमा अवस्थित भएकोले पनि यस्ता विषयमा चर्चा हुने गरेको उल्लेख गरे । 
 

विशेष