कभर स्टोरी संघीय समाचार प्रदेश २

प्रदेश दुईमा भ्रमण भत्तामा ब्रह्मलुट, मुख्यमन्त्री भन्दा राज्यमन्त्रीेले लिए बढी भत्ता

प्रदेश दुईमा भ्रमण भत्तामा ब्रह्मलुट, मुख्यमन्त्री भन्दा राज्यमन्त्रीेले लिए बढी भत्ता


काठमाडौँ । अक्सर मुख्यमन्त्री वा मन्त्री भन्दा राज्यमन्त्रीको भूमिका कमै आउँछ कुनै पनि काममा । राज्यमन्त्री कार्यकर्ता वा नेता मिलाउन वा गुटगत संरचना साम्य पार्न दिइने पद हो भन्दै कतिपयले आलोचना गर्ने पनि गर्छन । तर प्रदेश दुईमा मुख्यमन्त्री भन्दा एक राज्यमन्त्रीले बढी भत्ता लिएको पाइएको छ ।

काम पाइएन भनेर गुनासो गरिरहने राज्यमन्त्रीले भत्ता पचाउन भने धेरै भ्रमण गरेको बिल पेश गरेको पाइएको हो । प्रदेश दुईमा आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले ३ लाख १९ हजार २ सय ८३ रुपैयाँ दैनिक भ्रमण भत्ता बुझेकी छिन्।

यादवले बुझेको रकम प्रदेश दुईका कुनै पनि मन्त्री वा मुख्यमन्त्रीको भन्दा बढी हो । यादवले मुख्यमन्त्रीले एक वर्षमा गरेको भ्रमणको भत्ताभन्दा११ हजार ४ सय ४३ रुपैयाँ बढी दैनिक भ्रमणभत्ता लिएकी छिन् ।

प्रदेश दुईमा मुख्यमन्त्रीदेखि राज्यमन्त्री सम्मले गत आर्थिक वर्षमा भ्रमणबापत् २२ लाख ९७ हजार २० रुपैयाँ लिएका छन् । मुख्यमन्त्री लालबाबु राउतले एकवर्षमा दैनिक भ्रमण भत्ता बापत मात्र ३ लाख ८ हजार ७ सय ४० रुपैयाँ बुझेका छन् । 
सबभन्दा कम दैनिक भ्रमण भत्ता उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले लिएका छन् । उनले एक वर्षमा ५५ हजार मात्र भ्रमणभत्ता लिएका छन् । 


दैनिक भ्रमणभत्ता वपात प्रति दिन मुख्यमन्त्रीलाई तीन हजार, मन्त्री र राज्यमन्त्रीले दुईहजार भ्रमण भत्ता पाउने मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवासुविधा सम्बन्धी  व्यवस्थामा उल्लेख छ ।


अन्य के के पाउँछन् सुविधा ?
मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवासुविधासम्बन्धी विधेयकमा दैनिक भ्रमण भत्ता बाहेक मुख्यमन्त्रीले मासिक तलब ६० हजार ९ सय ७० पाउँछन् । मन्त्रीले ५७ हजार ७ सय ८० रुपैयाँ तलब र राज्यमन्त्रीले ५६ हजार ४ सय ९० मासिक तलब पाउँछन् । मुख्यमन्त्री, मन्त्रीले आवास सुविधा पनि पाउँछन् ।

उनीहरुलाई प्रतिमहिना १५ हजार रुपैयाँ, सवारी सुविधा, मुख्यमन्त्रीलाई प्रतिमहिना तीन सय लिटर र मन्त्री र राज्यमन्त्रीलाई २ सय २५ लिटर इन्धन उपलब्ध हुन्छ ।

साथै प्रत्येक तीन महिनामा मुख्यमन्त्रीले दश लिटर र अन्य मन्त्रीलाई ५ लिटर पाउने गर्दछन् । विशेष भत्ता एक हजार, सञ्चार तथा पत्रपत्रिकाको लागि प्रतिमहिना तीन हजार, फर्निचर सुविधाबापत एकमुष्ठ ५० हजार रुपैयाँ पाउने र बिजुली, धाराबापत प्रतिमहिना दुई हजार रुपैयाँको पाउने गरेका छन् ।

तर पनि सकेसम्म भ्रमणभत्ता लगायतका सुविधाका साथै विदेश जानको लागि मरिहत्ते गर्ने गर्न जनप्रतिनिधि पछि पर्दैनन् । 

विशेष