विचार

बच्चाको हकमा निर्मम छ अमेरिकी कानुन

बच्चाको हकमा निर्मम छ अमेरिकी कानुन

भने जस्तो, सोचे जस्तो त्यति  सजिलो कहाँ छ र ? अमेरिकामा बच्चा जन्माउन र हुर्काउन । महङ्गो जनजीवन, खर्चिलो रेखदेख एउटा बच्चा जन्माएर हुर्काउन महाभारत जस्तो हम्मे हम्मे पर्छ ।  बच्चा बसेपछिको आमाको लगातार चेकअप, निगरानी, पेटको बच्चाको अवस्थाको चिकत्सक र नर्सको निरन्तर सम्पर्कमा रहनु पर्ने हुन्छ । यो काम अमेरिकी सरकारको संघीय कानुन अन्तर्गत पर्छ  । जुन अवज्ञा गर्ने अधिकार कसैलाई छैन् । 

अमेरिकामा आमा र बच्चाको अधिकार र जीवनलाई सर्वदा महत्व दिएको हुन्छ । काम गरेर बील तिर्दै र अलिकति जोहोमा लागेका काम नगरी हातमुख नजोरिने नेपाली वा आमाबाबु नै दिनको कम्तिमा ८ घन्टा वा त्यसभन्दा माथि हप्ताको ६ दिन, सातै दिन वा पाँच दिन श्रम गरी खाने परिवारका लागि पेटमा रहेको बच्चाको चिकित्सकीय निगरानी र औषधिको निरन्तरताले अर्को  भार थप्छ । बच्चा जन्मेपछि बच्चाको रेखदेखका लागि आमाबाबु वा हेरचाहका लागि अधिकार प्रत्यायोजन गरिएको बेबि सिटर, खर्च, डाइपर, फर्मूला मिल्क, बच्चाको निरन्तर चेक अप र स्वास्थ्यको निगरानी अर्को कोर्स शुरु हुन्छ । वर्किङ्ग क्लासका बाबुआमा काम गर्न जानुपर्ने कमाएको जति बेबि सिटरलाइ नै भुक्तानी गर्नुपर्दा थप पीडा थपिन्छ । 

व्यवसायी वा बढी तलब बुझ्ने वा आफ्नो काम आफैं गर्ने समूहबाहेक ठूला शहर, खर्चालु शहर, महङ्गा शहरमा आमाबाबु दुईटैले काम नगरी सुखै छैन अमेरिकामा । आफ्ना आफन्त, बच्चाका हजुरबा हजुरआमा भए घरको एकै खर्चमा चल्न सक्ने हुँदा बेबि सिटरलाई बच्चा हेरिदिएबापत आफ्नो पे चेक काटेर तिर्न नपर्ला तर अमेरिकामा दायाँ फर्के पनि खर्च बायाँ फर्के पनि हुने खर्च नै हो । हरेक राज्यका हरेक र फरक नीति छन् । बच्चाको उमेर अनुसार एक्लै छोड्न मिल्ने वा नमिल्ने भन्ने तर १० बर्ष मुनिका बच्चालाई कुनै पनि राज्यमा एक्लै छोड्नु, घरमा एक्लै छोडेर काममा जाने वा बाहिर निस्कने गरेमा बाबुआमालाइ सीधै जेल हालिन्छ ।

दिनभरिको कामबाट लखतरान भएर एपार्टमेन्ट वा घर फर्कदा, शिथिल, थकित मानसिकता, बच्चाको हेरचाह वा रेखदेखका लागि अर्को व्यक्ति वा बेबि सिटर राख्दा आमाबाबु र बच्चाको अन्तर्सम्बन्धमा विस्तारै दूरी बढ्न गई बच्चा हुर्किसकेपछि आफ्नो बाटो लाग्ने सम्भावना रहन्छ । नेपालमा आमाबाबु र बच्चाको मायाको अन्तर सम्बन्ध जति गाढा देखिन्छ, अमेरिकामा त्यो दृश्य देख्न कठिन छ । 

सानोतिनो कमाइ गर्ने परिवार वा बाबुको भरमा मात्र  अडेको परिवार वा आमाले काम नगर्ने वा नपाएको खण्डमा बच्चा पनि हुर्काउनु पर्ने अवस्थामा खर्च बढ्न गई जीवन धान्न सकस पर्न सक्छ । अझै ठूला शहर र महङ्गा शहरमा बसेर बच्चा जन्माउने र हुर्काउने र एक जनाको मात्रै कमाइमा भर पर्नु पर्ने भएमा त्यो भन्दा अर्को सकस र आर्थिक पीडा अरु कुनैले पनि नदेला  । अझ यसमा एकल आमा, एकल बाबुले बच्चा स्याहार गर्नुपर्ने वा जिम्मेवारी काँधमा आएमा वा बाबु आमा छुट्ट भिन्न भएमा जसले बच्चाको जिम्मेवारी लिन्छ, उसलाइ जिम्मेवारी नलिनेले वा जो संग बच्चा बस्दैन, उसले बच्चा पाल्ने बाबु वा आमालाइ चाइल्ड सपोर्ट साप्ताहिक, अर्ध साप्ताहिक वा मासिक रुपमा तिर्नुपर्ने हुन्छ ।  

त्यो बच्चा १८ बर्ष नपुगे सम्म जारी राख्नु पर्छ । यदि बच्चा नपाल्ने वा जिम्मेवारी नलिनेले चाइल्ड सपोर्ट तिरेन भने अदालतमा मानाचामल भर्नका लागि  आवेदन दिन  सकिनेछ र अदालतले बच्चाको संख्या र आम्दानीको अवस्था हेरी चाइल्ड सपोर्टको रकम र समय सीमा तोकिदिनेछ ।  यदि यो समयमा लगातार उक्त सपोर्ट नतिरेमा जेल जानु पर्नेछ  ।  उसले कुनै पनि हालतमा जिम्मेवारीबाट उम्किन पाउने छैन ।  जेलबाट निस्केपछि काम खोजी गरी बच्चाको चाइल्ड सपोर्ट तिर्नु पर्नेछ ।

श्रीमान श्रीमती  डिभोर्स भएको अवस्थामा पनि यदि पूर्व श्रीमतीले अर्को विवाह नगरेसम्म बच्चाको चाइल्ड सपोर्ट र आमालाई आल्मोनी तिरिरहनु पर्नेछ र सम्पति आधा लगिदिनेछ उक्त श्रीमतीले । त्यसैले अमेरिकामा विवाह र डिभोर्स अत्यन्तै खर्चालु र महङ्गो सावित हुन जान्छ । वर्षौं बर्षसम्म संगै बस्ने, जतिवटा बच्चा जन्माएपनि सकेसम्म विवाहका लागि अमेरिकी इच्छुक हुँदैनन् ।  यदि बाबुले बच्चा हेरेको छ, आमाले छोडेर गइन, आमा पैसा राम्रो कमाउँछिन भने आमाले चाइल्ड सपोर्ट तिर्नुपर्ने हुन्छ । 

अमेरिकामा बच्चाको हाइस्कुलसम्मको शिक्षालाइ अनिवार्य गरिएको छ ।  कुनै कारणबस तपाईंले  बच्चा स्कुल पठाउन सक्नु भएन भने  स्कुललाई कारण सहित जानकारी गराउनु पर्नेछ । यदि तपाईंले कुनै कारणबस जानकारी गराउन सक्नु भएन भने स्कुलले अर्को दिन तपाईंलाई कल गर्नेछ  । त्यति गर्दा पनि भएन भने  भने तपाईं बसेको ठाउँमा प्रहरी  आइपुग्नेछ ।  कडा छ नियम अमेरिकामा बच्चा र महिलाहरुको केसमा । 

बच्चाहरुलाई  हिंसा गर्न पाउनु हुने छैन ।  यदि तपाईंको बच्चाले तपाईंले गर्ने हिंसा वा गलत व्यवहार वा कुनै दुरुपयोग सम्बन्धी बच्चाले स्कुललाई शिकायत गरिदियो भने तपाईलाई जेल हाल्न सक्छ र बच्चाले नैसर्गिक अधिकारबाट बन्चित भएको छ, बाबु आमाबाट हिंसा भोगेको छ र उनीहरुको अगाडि गलत क्रियाकलाप वा अनैतिक गतिविधि गरिरहनु भएको छ र बच्चाले स्कुलमा भनिदियो भने तपाईंलाई जेल लैजाने वा बच्चालाइ  डिपार्टमेन्ट अफ सोसियल सेक्युरिटीले तपाइको बच्चा लैजाने छ र कुनै कुनै अबस्थामा त तपाइले बच्चा १८ बर्ष नपुगि आफ्नो बच्चालाई देख्न, भेट्न पाउनु हुने छैन । यस मामलामा होसियार हुनु होला । नेपालमा जस्तो एक लप्का एक चडकन अमेरिकामा आफ्नो छोराछोरी वा श्रीमतीलाई लगाएमा जेल जानु पर्नेछ । यस मामलामा तपाइको हारगुहार अमेरिकी कानुनले सुन्दैन पनि ।  
 

अमेरिका बच्चा

विशेष