कृषि मन्त्रीका कारण मासु महंगो, दशैंमा ‘ब्ल्याक’ हुनसक्छ ( भिडियोसहित)
अहिले सबै उपभोक्ताको गुनासो छ, ‘मासु धेरै महङ्गो भो । ’ अझ खसिको मासु प्रति केजी १३ सय नाघेपछि सर्वसाधारण उपभोक्ता किनेर खान नसक्ने अवस्थामा पुगेका छन् । खसीको मासु खान कसैको विहे भोजको अवसर कुर्नुपर्ने अवस्था छ ।
खसीबोका मात्र होइन कुखुरा र राँगाका मासुको मूल्यसमेत बढेको छ । कुखुरा प्रति केजी ३५० रुपैयाँ छ भने राँगाको मासु ४०० रुपैयाँ प्रतिकेजी छ । केही वर्षअघिसम्म कुखुरा २ सय रुपैयाँ केजीको हुँदा राँगाको मासु एक सय रुपैयाँ प्रतिकेजी थियो । अहिले कुखुरालाई राँगाले जितेको छ ।
राष्ट्रिय कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर वीसीका अनुसार सरकारको गलत नीति र कृषी मन्त्री चक्रपाणी खनालको अदुरदर्शी निर्णयका कारण मासुको मूल्य आकासिएको हो । उनी भन्छन्, ‘ नेपाली किसानलाई प्रोत्साहित गर्ने भनेर भारतबाट आउने खसी बोका तथा राँगामा प्रतिबन्ध लगाइयो । स्वदेशमा उत्पादनको अवस्था नहेरी आयात ठप्प पारेपछि मूल्य त बढ्नै नै भयो नी । यसले त अझ खसीबोका र राँगाको तस्करी पनि बढाएको छ । प्रतिबन्ध लगाएएपछि लुकाइछिपाइ नेपाल भित्र्याउनेक्रम बढेको छ । यसरी ल्याइएका खसीबोका र राँगा स्वतः महङ्गो हुने नै भए । ’
अहिले नेपाली बजारमा खसीबोका र राँगाको मासुको आपूर्ती ४० प्रतिशत मात्रै स्वदेश भित्रै हुने गरेको छ । ६० प्रतिशत आपूर्ती भारतबाटै हुने हो । भारतीय बजारबाट ल्याउन रोकेकाले अभाव सृजना भएको हो । मूल्य बढ्नको कारण पनि यही हो । आफनो देशको उत्पादन र वितरणको अवस्था नहेरी हचुवाको भरमा प्रतिवन्ध लगाउनु कृषी मन्त्रीको अदुरदर्शिता भएको बीसीको भनाइ छ ।
यही अवस्था रहने हो भने दशैं तिहारमा खसीबोकाको चरम अभाव हुनेछ । मासुमा कालोबजारी हुनसक्छ । त्यो बेला मूल्य प्रतिकेजी १५०० सय नाघ्ने अध्यक्ष बीसीको दाबी छ ।
कुखुरा र अण्डाको हिसाबमा चाहिं मुलुक आत्मनिर्भर छ । हाल चितवन, नुवाकोट, धादिङ, काभ्रे, सिन्धुली, हेटौंडा लगायतका जिल्लामा कुखुरापालन व्यवसाय फस्टाएको र यहाँको उत्पादने देशभर धानिरहेको छ । केही महिनाअघि ‘बर्डफ्लु’ का कारण लाखौं कुखुराका चल्ला नष्ट गर्नुपरेका कारण अहिले मूल्य बढेको भएपनि केही महिनामै कुखुराको मासुको मूल्य घट्ने बीसीको दावी छ । दशैं तिहारको बेला पनि हालको भन्दा मूल्य नबढ्ने बरु घट्न सक्ने उनी बताउँछन् ।
कुखुरामा आत्ननिर्भर भएपनि कुखुरा पाल्न चाहिने आवश्यक दाना तथा औषधी भारतबाटै ल्याउनुपर्ने भएकाले लागत मूल्य भने बढिरहेको छ । अझ सरकारले गत वर्षसम्म कच्च पदार्थको आयातमा १ प्रतिशत मात्र कर लिंदै आएकोमा अहिले आएर ८ देखि १० प्रतिशतसम्म कर असुल्न थालेको छ । यसले कुखुराको लागत मूल्य बढाएको छ । सरकारको यो निर्णयका कारण उपभोक्तालाई मासु महंगो पर्नु स्वभाविक हो ।
छिमेकी भारत तथा चीनमा किसानहरुलाई कर मिनाह गर्ने, अनुदान दिने, बिभिन्न सेवामा निःशुल्क सुविधान दिइरहेकाबेला नेपालमा भने झन कर थोपर्नु विडम्बना हो । यसले गर्दा कुखुरा र अण्डामा आत्मनिर्भर भएरपनि विदेश निर्यात गर्न सक्ने स्थिति छैन । अन्तर्राष्ट्रिय बजारमा अन्य देशको भन्दा आफनो उत्पादन महंगो भएपछि कसले किन्छ ? यही कारणले कुखुरा र अण्डा निर्यात हुन सकेको छैन । सरकारले यसमा ध्यान दिएको पनि छैन ।
अध्यक्ष बीसी मासुको उपभोगमा भने उपभोक्ता आफै सचेत हुनुपर्ने तर्क गर्छन् । टोल–टोलमा मासु पसल भएका कारण उनीहरुको सरसफाइ, कटाइ लगायतका कुरामा उपभोक्ता सचेत रहनुपर्छ । उनी भन्छन्, ‘ मासु खाने भनेको स्वस्थ हुन हो, मासु खाएर अस्वस्थ हुने स्थिति हुनु हुँदैन । अहिले कुखुरा हुर्काउन हर्मोन, सुई दिने कुरा पनि छ । यो पनि केही हदसम्म सत्य हो, मान्छेको स्वास्थ्य नै बिगार्ने हिसाबले कुनै औषधी प्रयोग गरिएको हुँदैन । ’
ताजा मासु किनेपछि कम्तिमा ८ घण्टा फ्रिजमा राखेर पकाएर खाँदा स्वास्थ्यमा कुनै जोखिम हुँदैन । बीर अस्पतालको एक तथ्याङ्क अनुसार राँगाको कचिला खाएकै कारण काठमाडौंका ९० प्रतिशत नेवार समुदायको टाउकोमा जुका भेटियो । यो काचो मासु खाएरै भएको हो । यसकारण मासुलाई लामो समयसम्म फ्रिजमा राखेर पकाएर खानु नै उत्तम हुन्छ । ’ बीसीको सुझाव छ ।