स्वास्थ्य

तपाइको बच्चामा मोबाइलको लत छ? होसियार ‘गेमिङ डिसअर्डर’ होला

तपाइको बच्चामा मोबाइलको लत छ? होसियार ‘गेमिङ डिसअर्डर’ होला

काठमाडौं । के तपाईंका बालबालिका मोबाइलमा गेम खेल्ने, टिकटक बनाउने या भिडियो हेर्ने गर्छन्? यस्तो धेरै मात्रामा गरे उनीहरूलाई मानसिक रोग ‘गेमिङ डिसअर्डर’को समस्या हुनसक्छ। अहिले धेरैजसो बालबच्चा ‘गेमिङ डिसअर्डर’को सिकार हुँदै गएको मनोविज्ञहरूको भनाइ छ।  मोबाइल गेममा बच्चाहरू लिप्त हुँदै जाँदा उनीहरू त्यहाँबाट बाहिर आउनै चाहँदैनन्  । यही कारण गेमिङ डिसअर्डरलाई अहिले विश्व स्वास्थ्य सङ्गठनले मानसिक रोगको श्रेणीमा राखेको मानसिक रोग विशेषज्ञ डा. प्रवास अधिकारीको भनाइ छ।  

उनले भने, ‘जब बच्चाहरूमा यस्तो समस्या आउन थाल्छ, उनीहरू निदाउन छाड्छन्। शारीरिक गतिविधिमा सक्रिय हुँदैनन्। खानपान अनियमित हुन थाल्छ। उनीहरू पारिवारिक र सामाजिक जीवनबाट भाग्न खोज्छन्।’ यो अवस्थामा पुग्दा बालबालिका हिंस्रक र आक्रामक हुने बताउँदै उहाँले एकान्तमा मात्र बस्न रुचाउने, सधैँ उदास रहनेजस्ता समस्या देखिए अभिभावकले बेलैमा ध्यान दिन सुझाव दिए।  बालबालिका उदास हुने, खान मन नगर्ने तथा मोबाइल धेरै हेर्ने समस्या लिएर धेरै अभिभावक आफूकहाँ आउने गरेको उनले  जानकारी दिए। उनले थपे, ‘बच्चा फकाउन के गर्नुहुन्छ भन्दा सबैजसो अभिभावकले एउटै जवाफ दिन्छन्– मोबाइल खेलाउने। अर्थात् मोबाइलमा भिडियो हेर्ने वा गेम खेल्ने। अधिकांश अभिभावकको साझा समस्या हो यो।’  

बालरोग विशेषज्ञ डा प्रज्ञा प्रधानका अनुसार बच्चाले नखाएर मात्र शारीरिक विकास नहुने होइन, गेमिङ डिसअर्डरको समस्याले पनि नकारात्मक असर पारेको हुन्छ। गेम खेलेपछि बालबालिकालाई समयमा भोक नलाग्ने, भोक लागे पनि खान मन नगर्ने र आफूले के खाएको थाहासम्म नपाउने अवस्था हुने उनको भनाइ छ। ‘मोबाइलसँगै भोक र निद्रा हराउने भएपछि कसरी शारीरिक विकास हुन्छ?’ उनले प्रश्न गरे, ‘बालबालिकालाई मोबाइलको लत लगाउनेमा अभिभावकको कमजोरी हुन्छ।’ उनका अनुसार छोराछोरी घुक्र्याउँछन्, रिसाउँछन् अनि फकाउनु पर्‍यो भने मोबाइल खेल्न दिन्छौँ। कुनै काम लगाउनु पर्‍यो भने पनि त्यो काम गर्‍यौ भने मोबाइल खेल्न दिन्छु। 

खाना खान मन गर्दैनन् भने अहिले खाना खायौ भने मोबाइल खेल्न दिन्छु अथवा मोबाइल हेर्दै खाऊ भन्ने चलन छ।  डा अधिकारीले धेरैजसो अभिभावकले छोराछोरी फकाउन मोबाइलकै भर लिने गरेको जानकारी दिए। ‘मोबाइलमा हात परेपछि बच्चाहरू गेम खेल्न, भिडियो हेर्न तथा टिकटक बनाउन थाल्छन्। यसरी मोबाइलमा झुम्मिएपछि उनीहरू आफैँलाई भुल्छन्’ उनले थपे, ‘एकै ठाउँ घण्टौँ बसेको पनि उनीहरूले पत्तो पाउँदैनन् ।’  

भोक लागेको, आफ्नो अघिल्तिर को आयो, को गयो, के भइरहेको छरु केही पनि थाहा पाउँदैनन् किनभने उनीहरूको आँखा मोबाइलको स्क्रिनभित्र हुन्छ । मोबाइलमा गेम जति खेल्यो, उति खेल्न मन लाग्छ भन्दै डा प्रधानले स्पष्ट पारे, ‘भिडियो जति हेर्‍यो, उति हेर्न मन लाग्छ। यही कारण मोबाइल मोह पलाउँछ तथा लत लाग्छ।’

बच्चाहरू हर क्षण मोबाइलकै बारेमा सोच्न थाल्छन्। उनीहरू फुर्सद पाउनासाथ मोबाइलमा झुम्मिन्छन्। उनीहरूको पढाइ, सोचाइ र दिनचर्या नै प्रभावित हुन्छ। सेभ चाइल्ड नेटका प्रमुख अनिल रघुवंशी भन्छन्, ‘कुनै पनि कुराको कुलत राम्रो हुँदैन। मोबाइलको कुलतले पनि बच्चालाई नराम्ररी बिगार्ने गर्छ।’ यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

बच्चा गेमिङ डिसअर्डर मोबाइल लत

विशेष