अन्तरवार्ता भिडियो Breaking News कभर स्टोरी

सम्पति छानविन थाल्ने हो भने प्रचण्ड आफैं लखेटिन्छन ( भिडियोसहित) 

भ्रष्टाचारले गणतन्त्र समाप्त हुँदैछ 

सम्पति छानविन थाल्ने हो भने प्रचण्ड आफैं लखेटिन्छन ( भिडियोसहित) 

अहिले नेपालमा भ्रष्टाचारविरुद्ध जनता, नागरिक समाज, सञ्चार माध्यम र अधिकारकर्मीबीच अघोषित एकता देखिन्छ । प्रायः सबैले भ्रष्टाचारविरुद्ध आवाज बुलन्द पारेपछि ठूलाठूला काण्डहरु एकपछि अर्को गर्दै सार्वजनिक हुन थालेका छन् । 

यो अभियानले शासन सत्तामा बसेर राज्यकोषमाथि ब्रम्हलुट मच्चाउनेहरुको नाम पनि एकपछि अर्को गर्दै खुल्न थालेको छ । भ्रष्टाचारलाई पाता कस्नुपर्छ र त्यस्तो सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्नुपर्छ भन्ने जनमत पनि बढ्दै गएको छ । 

राप्रपाका केन्द्रीय सदस्य नवराज सिम्खडा भन्छन, ‘साँच्चै मुलुक बनाउने हो भने सबैभन्दा पहिले भ्रष्टाचारीलाई निमिट्यान्न पार्नैपर्छ । यसका लागि २०१९ सालयता सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ । त्यसमा जो पनि पर्नसक्छ । पदीय शक्तिको दुरुपयोग गरी सम्पत्ति थुपारेको पाइए त्यसलाई जफत गरी राष्ट्रियकरण गर्ने र भ्रष्टाचारीलाई कानुन अनुसार कारवाही गर्नुपर्छ । यसका लागि स्वतन्त्र निष्पक्ष आयोग गठन गरी काम अघि बढाउनुपर्छ । ’

सिम्खडा थप्छन, ‘प्रधानमन्त्री केपी शर्मा ओली यदि साँच्चै भ्रष्टाचार अन्त्य गर्न चाहनु हुन्छ भने यसको सुरुवात उहाँले नै गर्नुपर्छ । मुखले मात्र भ्रष्टाचारीको मुख हेर्दिन भनेर हुँदैन, व्यवहारमा उतार्नु पर्यो । हामी भ्रष्टाचार अन्त्य गर्ने कुनैपनि अभियानमा सहयोग गर्न तयार छौं । होइन प्रधानमन्त्रीसहित गणतान्त्रिक व्यवस्थाका नेताहरु भ्रष्टाचारलाई मलजल मात्रै गर्ने हो भने त यो व्यवस्था समाप्त हुने निश्चित छ । राजासहितको प्रजातान्त्रिक व्यवस्थालाई कसैले रोक्न सक्दैन, त्यो निकट नै पुगिसक्यो ।’

प्रचण्ड गाइजात्रे नेता

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने भनेर गाइजात्रे ताल प्रदर्शन गरेका छन् । गाईजात्रा पर्व आउनै लागेका बेला प्रचण्डले आफूलाई गाइजात्रे नेताका रुपमा देखाउन खोजेका छन् । 

कहिले प्रधानमन्त्रीको पालोको प्रसंग, कहिले भेनेजुयला, कहिले क्यूवा, कहिले बिहे गर्ने, कहिले विदेश घुम्न जाने, कहिले हेग गएर हिरो हुन्छु भन्ने, कहिले राजा लखेट्छु भन्ने प्रचण्डको मनोदशा सन्तुलित छैन । उनी आत्तिएका छन्, त्यही छटपटाहट हो । 

हामी प्रचण्डले भने जस्तो उनलाई खुमलटारबाट लखेट्छौं भन्दैनौ तर विधिपूर्वक शासन प्रणाली अगाडि बढाउनेक्रममा उनी लेखेटिन पनि सक्छन् । सम्पत्ति छानबिनको कुरा विधिसम्मत ढंगले कडाइकासाथ अघि बढाए प्रचण्डलाई लखेट्नै पर्दैन, उनी आफै भाग्छन् । 

प्रचण्डले हाम्रा अध्यक्षलाई लक्षित गरी विदेशीको दास भनेका रहेछन् । उनी को हुन् ? उनले कहाँ बसेर युद्ध गरे ? कुनकुन प्रभुलाई विन्ती पत्र हाले ? १७ हजार नेपालीको खोलो कसले बगायो ? उनको दशौं लाख खर्चको आयश्रोत के हो ? अब हिसाब खोज्ने दिन आएको छ । यसकारण विदेशीको दास प्रचण्डसहितका नेताहरु हुन भन्ने कुरा प्रमाणित भैसकेको छ । 

संघीयताको खारेजी

संघीयता ठीक छैन भन्ने कुरा अहिले सत्तारुढ दलकै नेताहरु भन्न थालिसके । हामीले सुरुदेखि नै स्थानीय स्वायत्त शासनमा जोड दिएका हौं । जबरजस्ती विदेशीको बलमा थोपरेको संघीयता खारेज गर्नुको विकल्प छैन । 

संघीयताले खर्च बढायो, जताततै भ्रष्टाचारै भ्रष्टाचार, जनप्रतिनिधि आफनो सुविधा आफैं तोक्ने, काम नगर्ने तलब खानेको जमात ठूलो यी सबै कारणले संघीयता थेग्न सकिने अवस्थामा छैन । यो खारेज हुन्छ, गर्नुपर्छ । 

राजसंस्था र हिन्दु राष्ट्र

गणतान्त्रिक व्यवस्थाले मुलुकलाई आर्थिकरुपमा जर्जर मात्र बनाएन यसले राष्ट्रियता समेत संकटमा पर्यो । नेताहरु मोटाउने जनता सकिने पनि व्यवस्था हुन्छ ? मुलुक असफल राष्ट्रका रुपमा दर्ज हुने स्थिति आउँदैछ । यसबाट जोगाउन हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापना हुन जरुरी छ । 
हिन्दु राष्ट्र र राजसंस्था भए बाँकी कुरा आफै स्वत मिल्दै जान्छ । यी दुई एजेण्डा कुनै विदेशीको साथ र सहयोगले होइन, नेपाली जनताको बलमा स्थापित हुनुपर्छ । विदेशीको आडमा राजसंस्था आए त्यो दीगो हुने छैन । 

अहिले पूर्वराजा ज्ञानेन्द्र शाहमा मुलुकप्रति अथाह चिन्ता छ । त्यही भएर उनले बिभिन्न क्षेत्रका मानिसहरुसँग भेटघाट गरिरहेका छन् । उनलाई शासन गर्ने अभिलाषा छैन । तर, मुलुकलाई जोगाउन सबै जनताले तानेर भएपनि उनलाई गद्दीमा राख्नुपर्ने स्थिति आयो । अब त्यही गर्नुपर्छ । 

दशैंसम्म एकता

नेता सिम्खडाले राप्रपा र राप्रपा संयुक्तबीच एकीकरण प्रक्रिया उच्च तहमा भैरहेकाले दशैंसम्ममा पूर्णता पाउने विश्वास व्यक्त गरे । एकीकरणका लागि पद व्यवस्थापनमा  समस्या नरहेको स्पष्ट पार्दै उनले एकतापछि जनतालाई विश्वासमा लिएर ठूलो पार्टी बन्ने लक्ष्यकासाथ अघि बढ्ने बताए । 

विगतमा प्रचण्ड र देउवा सरकारमा सहभागी हुनु गम्भीर भूल भएको स्वीकार्दै नेता सिम्खडाले नेपालको निर्वाचन पद्धती निकै महङ्गो भएकाले यसबारे पुनर्विचार गर्न पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराए । 

विशेष