स्वास्थ्य

के हो पोस्ट–एक्सपोजर प्रोफिलेक्सिस?

के हो पोस्ट–एक्सपोजर प्रोफिलेक्सिस?

काठमाडौं । पोस्ट–एक्सपोजर प्रोफिलेक्सिस एक किसिमको एन्टिरेट्रोभाइरल थेरापी हो, जोे एचआइभी संक्रमण हुनबाट जोगिन प्रयोगमा ल्याइन्छ । एड्सको रोकथाममा प्रयोगमा ल्याइने एआरटी औषधिअन्तर्गत यो पनि पर्छ । विशेषगरी, एचआइभी संक्रमितसँग असुरक्षित यौनसम्पर्क भएमा, रगतको सम्पर्कमा आएमा, संक्रमितले प्रयोगमा ल्याएका सिरिन्ज उपयोग गरेमा वा रोग सर्न सक्ने विभिन्न अवस्थामा पोस्ट–एक्सपोजेर प्रोफिलेक्सिस औषधि प्रयोगमा ल्याइन्छ ।

 

औषधि प्रयोग विधि
पछिल्लो समयमा पोस्ट-एक्सपाजेर प्रोफिलेक्सिस औषधि धेरै प्रयोगमा आउने गरेको पाइन्छ । सुरुको अवस्थामा संक्रमण भएको थाहा नहुने भएकाले एचआइभी संक्रमणको जोखिम भएमा अधिकांशमा यो औषधिको प्रयोग गर्ने गर्छन् । 


विशेषगरी, संक्रमितको रगत सम्पर्कमा आउन सक्ने स्थान र अवस्था (जस्तै, अस्पताल, जथाभावी सिरिन्जको प्रयोग आदि) मा बढी प्रयोगमा ल्याइन्छ । 


पोस्ट एक्सपोजर प्रोफिलेक्सिस औषधि जति छिटो प्रयोगमा ल्याउन सक्यो त्यति नै प्रभावकारी हुन्छ । घटना भएको ७२ घन्टाभित्रमा प्रयोगमा ल्याइसक्नुपर्ने हुन्छ । 


औषधिको प्रयोगपछि मानिसमा कमजोरीपन देखिन्छ । खासगरी बान्ता, डाइरिया हुने र डर लाग्ने भएकाले अन्य समस्या पनि हुन सक्छन् । अन्य संक्रमण हुन सक्ने जोखिमसमेत बढ्छ । खासगरी उनीहरूमा मनोवैज्ञानिक असर पर्ने भएकाले स्वास्थ्य समस्या देखिन्छन् ।


यो औषधि पूर्ण मात्रा अर्थात् २८ दिनसम्म लगातार प्रयोगमा ल्याउनुपर्छ । अन्यथा संक्रमणको जोखिम उच्च रहन्छ ।  


मनोवैज्ञानिक दृष्टिले कमजोर तथा कतिपय व्यक्तिमा अत्यधिक तनावले गर्दा मानसिक स्वास्थ्यमा असर पर्ने हुन सक्छ । तसर्थ उनीहरूलाई उचित परामर्श दिनुपर्छ । घरपरिवार र समाजले पनि विशेष हेरचाह गर्न जरुरी हुन्छ । यो जानकारी भेरी अञ्चल अस्पतालमा कार्यरत एचआइभी फोकल पर्सन डा. संकेत रिसालले नयाँ पत्रिका दैनिकबाट लेखेका छन् ।

पोस्ट–एक्सपोजर प्रोफिलेक्सिस

विशेष