प्रधानमन्त्री हुन कि दलको अध्यक्ष छुट्टिन गार्हो भो ( भिडियोसहित )
रामनारायण बिडारी नेपाली राजनीतिका एक रोचक पात्र हुन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकट बिडारी हाल राष्ट्रियसभा सदस्य छन् । उनले संसदमा होस वा संसद बाहिर दिने अभिव्यक्ति तथा भाषणकला निकै पृथक छ । यही फरक शैलीका कारण उनको छुट्टै पहिचान बनेको छ ।
बिडारी नेकपाको सिफारिसमा सांसदमा मनोनयन भएपनि उनी स्वतन्त्र विचारका धनी छन् । उनी कसैको डर नमानी निस्फीकृ आफूलाई लागेको कुरा निर्धक्क भन्छन् । त्यसैले उनलाई सत्तारुढ दल भित्रको प्रतिपक्षी सांसदका रुपमा समेत चिनिन्छ ।
नेपाल आजसंगको विशेष साक्षात्कारमा पनि उनी खुलेर प्रस्तुत भए । आफनो पार्टी नेकपा भित्रको समस्या कोट्याउँदै उनले भने, ‘ पार्टीमा दुई जना अध्यक्ष भएपनि प्रचण्डमा अध्यक्षको अधिकार छैन । अब कामको बाँडफाँड हुनुपर्छ । केपी शर्मा ओली र दाहालमा एकजनाले सरकारले चलाउने र अर्कोले पार्टी चलाउनुपर्छ । यस्तो नहुने हो भने पार्टी सकिन्छ । ’
एउटै व्यक्ति प्रधानमन्त्री र दलको पनि अध्यक्ष हुँदा दुवैतर्फ काम प्रभावित हुने गरेको छ । अझ प्रधानमन्त्री भनेको कुनै दल विशेषको नभइ देशको प्रधानमन्त्री हो । त्यो निष्पक्ष पद हो । एउटा दलको अध्यक्ष समेत रहेको प्रधानमन्त्रीले निष्पक्ष भूमिका निर्वाह गर्ने सम्भावना हुँदैन । त्यसकारण प्रधानमन्त्रीसहित राष्ट्रका महत्वपूर्ण पदमा पुग्ने व्यक्ति दलविहीन हुनुपर्छ ।
अहिले संसदका दुवै सदनमा पनि यो प्रश्न उठेको छ । राष्ट्रियसभा भन्दा अझ बढी प्रतिनिधिसभामा सभामुखको भूमिकाका सम्बन्धमा प्रश्न उठेका छन् । नेकपा दलबाट आएको व्यक्ति सभामुख हुँदा निश्चितरुपमा आफनो दलप्रति सभामुख लचक हुन्छ, जति तटस्थ बन्न खोजेपनि हुँदैन । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको झुकाव पनि सत्तारुढ दल नेकपातर्फ बढी देखिन्छ ।
प्रतिनिधिसभाको कुरा गर्दा जसरी सत्तारुढ दल शहनशील हुन सकेको छैन त्यसैगरी विपक्षी दल पनि बढी उत्छृङ्खल देखिएको छ । सत्तापक्षले विपक्षीका कुरा सुन्न सक्ने तागत राख्नुपर्छ भने विपक्षीले पनि अशोभनिय व्यवहार देखाउन हुँदैन ।
सांसद विडारी भन्छन्, ‘ संसद विपक्षीको र सरकार सत्तापक्षको भन्ने भनाइ नै गलत हो । संसद र सरकार दुवै बहुमतको हुन्छ । जो सँग बहुमत छ, उसैले राज गर्छ । अहिले बहुमत भएको पक्षले आफनो तरिकाले हिंड्न खोज्नु बेठिक होइन । ’
सांसद बिडारीले मुलुक बनाउन भ्रष्टाचार न्यूनीकरणमा बढी ध्यान दिनुपर्ने भएपनि यसको उन्मूलन असम्भव रहेको तर्क गरे । उनले भने, ‘ वाइडबडी, बालुवाटार जग्गा प्रकरण लगायत ठूलाठूला भ्रष्टाचारका काण्डमा सत्तापक्ष र विपक्षी दल मिलेका छन् । दुवै पक्षका शीर्ष नेताहरुको मिलिभगतमा यो सब भैरहेको छ । जति पनि ठूला भ्रष्टाचारका काण्ड आउँछन्, सबैमा ठूला नेताको नाम जोडिन्छ । ठूला नेता संलग्न भएकै कारण ठूला माछा नसमातिएका हुन् ।’
ठूलाठूला आयोजनामा दलकै प्रभावशाली नेताहरु संलग्न भएपछि छानबिन समेत प्रभावित हुने गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सशक्त ढंगले काम गर्न नसक्नुको कारण पनि यही हो । आयोगमा पनि दलकै सिफारिसमा दलका कार्यकर्ता भर्ती गरिएको छ । अनि कसरी हुन्छ छानबिन ?
देशमा भ्रष्टाचार न्यूनीकरण गर्ने एउटा सुत्र छ । त्यो हो प्रधानमन्त्री आफै सक्रिय हुने । प्रधानमन्त्रीले भ्रष्टाचारको गन्ध थाहा पाउने वित्तिकै सम्वन्धित मन्त्रीलाई बर्खास्त गर्नुपर्छ । यति मात्र गर्न सकियो भने भ्र्रष्टाचार गर्नेहरुको मनोबल कमजोर हुन्छ ।
भ्रष्टाचारमा ठूला दलका ठूलै नेताहरुको नाम आउनु दुःखद भएको भन्दै बिडारी भन्छन्, ‘ अनियमितता गर्ने जो सुकै होस, कानून अनुसार कारवाही गर्नुपर्छ । ’
निष्कर्षमा भन्ने हो भने, ‘ पुष्पकमल दाहालले मुुलुकको बागडोर सम्हाल्न पाए सुखी नेपाली र समृद्ध नेपालको सपना पूरा हुन्छ । उनी ‘डायनामिक लिडर’ हुन् । राष्ट्रहीतका लागि कुनैपनि बेला केही पनि निर्णय गर्न सक्छन्, यो क्षमता राष्ट्रहीतमा प्रयोग हुनुपर्छ । ’ विडारी भन्छन् ।