विचार

पत्रकार पुडासैनी मृत्यु प्रकरण : रवीको नाम किन मुछियो?

- कुशुम भट्टराई

पत्रकार पुडासैनी मृत्यु प्रकरण : रवीको नाम किन मुछियो?

रवी लामिछानेको पक्षमा देशदेखि विदेशसम्म एउटा ठूलै संजाल बनिसकेको छ, जसले उनले ठीक गरे पनि, वेठीक गरे पनि अन्धसमर्थन गरिरहन्छ । रवी पनि दूधले नुहाएका मानिस हैनन्, यही समाजका उपज हुन् ।

अष्ट्रेलियामा नेपाली कन्सल्टेन्सीहरूको दरिलै माफिया छ, जसको नियमन र नियन्त्रण हुनु जरुरी छ । केही समयअघि हनिमुन मनाउन जब रवी तिनै कन्सल्टेन्सीहरूको फण्डिङमा गएको भन्ने कुरा मलाई अष्ट्रेलियाका साथीहरूले बताए, त्यसपछि मलाई लाग्यो, रवीमा पनि कमजोरी छ । (मैले सुनेको कुरा झुठो होस् भनेर कामना गर्छु)

हामी त तटस्थ मूल्यांकन गर्ने मानिस हौं । पत्रकार शालिग्रामको ‘हत्या’ हो या ‘आत्महत्या’ त्यो छानबिन हुँदै गर्ला, तर एउटा कुरा भन्न चाहन्छु, रवीसँग काम गरेकाले शालिग्रामलाई रवीका भित्री कुराहरू पनि त पक्कै थाहा थियो होला । जब सिधा कुरा छाडेर शालिग्राम माउन्टेन टिभीमा गए, कतै आफ्ना कतिपय नितान्त गुप्य कुराहरू शालिग्रामले ‘एक्सपोज’ गरिदिने हो कि भन्ने चिन्ता रवीमा छाएको पनि त हुनसक्छ ।

भो, त्यतातिर नजाउँ, त्यो केवल मेरो शँका मात्र हो ।

मूल विषयमा आउँ । शालिग्रामलाई बलात्कारको मुद्दामा फँसाउने षडयन्त्र भएको र त्यसकै तोडमा उनले आत्महत्या गरेको भन्ने एउटा दलील छ, जुन स्वयं शालिग्रामको भिडियोमा व्यक्त भएको छ भनिएको छ ।

आजको युगमा उमेर पुगेको स्त्रीसँग सहमतीका आधारमा यौन सम्पर्क हुनु कुनै नौलो कुरा हैन । तर, नौलो नभए पनि नियत खराब भएमा फँस्न सकिन्छ । उदाहरणका लागि मेरो कुनै बालिग युवतीसँग सहमतीमै यौन सम्पर्क भयो रे । ती युवती निकै महत्वाकांक्षी र विवेकहीन रहिछन् भने त उनलाई जसले पनि उपयोग गर्नसक्छ ।

यदि मेरो कुनै शत्रुले मलाई बदनाम गर्नुछ र जेलमै जाक्नु छ भने तिनै युवतीलाई उपयोग गर्नसक्छ । फण्डा सजिलो छ । ती युवतीलाई सुरुमा मसँग सहमतीमा कुनै लज या रिसोर्टमा सहबास गर्न लगाउने, सहबास हुनासाथ ती युवतीले नाटकीय स्वभाव देखाई ‘बचाउ बचाउ’ भन्दै चिच्याउने, कपडा च्यात्न थाल्ने हो भने छेउछाउका कोठामा बसेका मानिसहरू म भएको कोठामा आइहाल्छन् र ढोका ढक्ढक्याउन थाल्छन् । अनि केटीले ढोका खोलेर भन्छे, ‘यसले मलाई फकाइ फुल्याई जागिर लगाइदिन्छु भनेर ल्यायो र बलात्कार गर्‍यो।’

बडा सजिलो छ, कसैलाई फँसाउन ।

कतै पत्रकार शालिग्राम पनि यस्तै कुनै परिवन्दमा परे कि ? अथवा उनलाई त्यसखालको परिस्थितिमा कसैले लग्यो कि ? एक पत्रकार हुनुका नाताले म यो हदसम्मको शंका सोचिरहेको छु । किनकि, शालिग्राम जस्तो पत्रकारले आफ्नो यौन सन्तुष्टि पूरा गर्न कसैलाई बलात्कार गर्दैन होला भन्ने मलाई लाग्छ ।

रवी लामीछानेको बुधबारको लाइभ भिडियोमा उनले ‘शालिग्रामको नितान्त निजी कमजोरीलाई लिएर कसैले रवी लामीछानेसँग गएर सारा पोल खोलीदिन्छु भनेकाले शालिग्रामले आफैँ कार्यरत रहेको कार्यक्रममा आफ्नै बेइज्जेत हुन लागेको देखेर आत्महत्या गरेको हुनसक्ने’ प्रत्यक्ष अप्रत्यक्ष रूपमा संकेत गरेका छन् । र आफ्नो कसैसँग पनि शालिग्रामको विषयमा कुराकानी नभएको स्पष्ट पारेका छन् ।

प्रश्नहरू ...

–रवी लामीछाने र सम्बन्धित युवतीबीच सिधा कुरामार्फत शालिग्रामलाई बदनाम गर्ने षडयन्त्र भएको थियो कि थिएन ?

–के त्यो युवतिलाई शालिग्रामले बलात्कार गरेकै थिए त ?

–को हो त्यो युवती ?

–शालिग्रामले भिडियोमा बताए भनी बाहिर आएको चर्चाअनुसार के त्यो युवतीलाई शालिग्रामको बदनाम गर्न रवीले नै खटाएका हुन् त ?

–शालिग्रामले जुन हिसाबले काम गरिरहेका थिए, उनका विरोधीहरूले शालिग्रामलाई मार्ने षड्यन्त्र गर्ने निधो गरेको हुनसक्छ । त्यसक्रममा मारिसकेपछि हत्या हैन आत्महत्या साबित गराउन ‘रवी लामिछानेका कारण आत्महत्या गर्नुपरेको’ भन्ने अर्को हल्ला चलाइ इस्यू डाइभर्ट गर्न कतै रवीलाई नै उपयोग गरिएको त हैन ?

मेरो सल्लाह : रवी, त्यो युवती अनि राति नै भगाइएको कँगारू होटलको मालिक आदि पात्रहरूमार्फत प्रहरीले गम्भीर अनुसन्धान थाल्नुपर्छ । यसमा रवीले आफ्नो लोकप्रियता, पहुँच आदिको दुरुपयोग गर्नुहुँदैन । रवीको नाम आइसकेपछि रवीले अनुसन्धानलाई सघाउनुपर्छ।

शालिकराम पुडासैनी कुशुम भट्टराई रवी लामिछाने

विशेष