महामारीको रुप लिएको डेँगु, डेढ महिनामैँ ६ जनाको मृत्यु, ५६ जिल्ला प्रभावित
काठमाडौँ । पछिल्ला दिनमा महामारीको रुपम लिएको डेंगुका कारण साउन १ देखि यतामात्रै ६ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकका अनुसार साउन १ गतेदेखि भदौ २४ गते सम्म ६ जनाको ज्यान गएको हो।
डेंगुका कारण ५६ जिल्लाका ५ हजार ९५ जना संक्रमित भएका छन् । महाशाखाले सार्वजनिक गरेको तथ्यांकमा काठमाडौं र चितवनमा बढी बिरामी देखिएको छ भने सात प्रदेशमध्ये प्रदेश तीनका बढी प्रभावित भएका छन् । काठमाडौंमा मात्रै १ हजार १ सय ७० जनामा डेंगु भेटिएको छ भने चितवनमा १ हजार १ सय २८ जनामा डेंगु भेटिएको छ ।
यस्तै गण्डकी प्रदेशमा ९ सय ७२ जनामा डेंगु संक्रमित भेटिएको छ । यस्तै प्रदेश १ मा ८ सय ३१ जना, प्रदेश ५ मा ९७ जना, प्रदेश २ मा ३९ जना, सुदूरपश्चिम प्रदेशमा २७ जना र कर्णाली प्रदेशमा ३ जनामा डेंगुको संक्रमण भेटिएको छ ।
यस्तै ललितपुरमा ३५ जना, मकवानपुरमा ७ सय २८ जना, भक्तपुरमा ३३जना, काभ्रेमा ४ जना, धादिङमा १८जना , सिन्धुलीमा ३ जना, नुवाकोट, दोलखा र रामेछापमा २/२ जना र सिन्धुपाल्चोकमा १ जना संक्रमित देखिएका छन् ।