मुख्य समाचार

सेनाद्वारा पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्ताव

सेनाद्वारा पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्ताव

काठमाडौं ।  नेपाली सेनाले निवृत्तिभरण (पेन्सन) को सेवा अवधि घटाउने प्रस्ताव गरेको छ । तल्लो तहका सैनिकको मागअनुसार सेनाले रक्षा मन्त्रालयमा यससम्बन्धि प्रस्ताव पठाएको छ ।

‘प्रधानसेनापति रोलकल’ कार्यक्रममा तल्लो तहका सैनिकको सबैभन्दा धेरै गुनासो निवृत्तिकरणको सेवाअधि १६ वर्ष बनाउन माग भएपछि सेनाले सोहीअनुसार ऐन संशोधनका लागि रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो । हाल पेन्सन लिएर निवृत्तिकरणका लागि २० वर्ष सेवाअवधि पुग्नुपर्ने प्रावधान छ ।

सरकारले सबै निकायमा सेवा अवधिको उमेर एकरुपता बढाइ २० बनाएको थियो । सेना तथा प्रहरीमा पेन्सनको अवधिलाई १६ बनाउन माग हुँदै आएको छ । मागअनुसार नै आफूले रक्षा मन्त्रालयमा त्यससम्बन्धि पत्राचार गरेको जानकारी प्रधानसेनापति थापाले मंगलबार गराएका छन् । सुरक्षा निकायका पेन्सन अवधि पुगेलगत्तै जागिर छाडेर अन्य काममा लाग्ने प्रवृत्ति छ ।

निवृत्तिभरणको उमेर घटाउने प्रस्वतामा प्रधानसेनापति थापा सुरुमा सकारात्मक थिएन । तर, अत्याधिक गुनासो आएपछि उनले यसमा संशोधन प्रक्रिय अघि बढाएका छन् । तर, जागिर छाडेर विदेश नजान उनले आग्रह गरेका छन् । यससम्बन्धिमा मंगलबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा उनले भने– ‘विगत केही वर्षदेखि पदीक तथा अन्यदर्जाबाट सबै तहको रोलकल र अन्तरक्रियाका दौरान नियमित उठान हुने गरेको निवृत्तिभरण सेवा अवधि घटाउने प्रक्रिया निकै अघि बढेको छ, यस सम्बन्धमा जङ्गी अड्डाका तहबाट लेखापढी गरी स्वीकृतिका लागि रक्षा मन्त्रालयमा पत्राचार गरिसकिएको छ ।

यसका लागि निरन्तर पहल गरिरहने पनि तपाईंहरुलाई यसै अवसरमा जानकारी गराउन चाहन्छु । यति हुँदाहुँदै पनि निवृत्तिभरण पूरा हुनासाथ राजिनामा दिएर रोजगारीका लागि विदेश जाने विकल्पका बारेमा धेरै पटक सोचेर मात्र निर्णय लिनु हुन म तपाईहरु सबैलाई आग्रह पनि गर्न चाहन्छु ।

एक पटक नेपाल सरकार र नेपाली सेनाबाट प्राप्त हुने तलब भत्तालगायत समग्र सेवा सुविधालाई वैदेशिक रोजगारीसँग जोडिएका दुःख कष्ट र आम्दानीलाई तुलना गरेर मात्र निर्णय लिनु हुनेछ भन्ने मैले विश्वास लिएको छु । सैनिक सेवामा रहँदा नै तपाईं परिवारबाट लामो समय अलग्गिएर रहनु भएको छ । अझै परिवारबाट टाढा जानु हुन्छ? हामी सबैलाई आर्थिक अभाव छ, अनि यो जति भए पनि अभाव नै रहने विषय हो जस्तो मलाई लाग्दछ, नेपालमै बसेर पनि गर्न सकिने धेरै अवसरहरु यहीं उपलब्ध छन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

नेपाली सेना पेन्सन प्रस्ताव

विशेष