सीपीएलः २४२ रनको लक्ष्य दिँदा पनि क्रिस गेलको टिम पराजित
काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत सातौं खेलमा किट्स एन्ड नेभिस पेट्रियट्सलाई २४२ रनको विशाल लक्ष्य दिँदा पनि क्रिस गेलको टिम जमैका तल्लवास ४ विकेटले पराजित भएको छ ।
२४२ रनको विशाल लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको पेट्रियट्सले १८.५ ओभरमै पूरा गर्यो ।
पेट्रियट्सको जीतमा ओपनर इभन लुईस र डेभोन थोमसले विष्फोटक ब्याटिङ गरे । लुईसले १८ बलमा ५३ र थोमसले ४० बलमा ७१ रन बनाए ।
यस्तै लउरी भइन्सले ४१, सामरस ब्रुक्र्सले २७ र फाबियन आलेनले नट आउट १५ बलमा ३७ रनको योगदान दिए ।
बलिङमा जमैकाका लागि ओसेन थोमसले ४ र आन्द्रे रसेलले २ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको जमैकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २४१ रन बनाए ।
उसका लागि क्रिस गेलले विष्फोटक प्रदर्शन गरे । उनले १० छक्का र ७ चौकाको मद्दतमा ६१ बलमा ११६ रन बनाए । यस्तै चाडविक वाल्टनले ७३, आन्द्रे रसेलले ९ र ग्लेन फिलिप्सले ८ रन बनाए ।
बलिङमा पेट्रियट्सका फाबियन आलेन र अल्जारी जोसपिचले २–२ विकेट लिए । योसँगै गेलको टिमको यो लगातार दोस्रो हार हो ।
पेट्रियट्सको भने यो सीपीएलमा पहिलो जीत हो । पेट्रियट्सले आफ्नो तेस्रो खेलमा भोलि बिहान नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध टिमसँग भिड्दै छ ।
क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिस गेल किट्स एन्ड नेभिस पेट्रियट्स भर्सेस जमैका तल्लवास