मुख्य समाचार

भक्तपुरको लोकन्थलीमा पहिरो जाँदा सडक भासियो, ६ घर उच्च जोखिममा

भक्तपुरको लोकन्थलीमा पहिरो जाँदा सडक भासियो, ६ घर उच्च जोखिममा

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा आइतबार बिहान पुनःपहिरो गएको छ । पहिरोमा सडक भासिनुका साथै छ घर उच्च जोखिममा परेका छन् । 

मध्यपुरथिमि– १, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा गत ३ गते राति पहिरो गएपछि रोकथामका प्रयास भएपनि त्यस स्थानमा पुनःपहिरो गएको हो । 

पानीट्याङ्की निर्माणका लागि खाडल खन्दा ३ गते राति पहिरो जाँदा १६ फिट चौडाइ रहेको करीब ४० मिटर कालोपत्र सडक पूरै बगाउँदा यहाँका यातायात अवरुद्ध भएको थियो भने अहिले थप सडकमा क्षति पुग्ने जोखिममा रहेको छ । 

पहिरोले स्थानीय लक्ष्मणप्रसाद पौडेल, प्रेमबहादुर तामाङ, सन्तोष तामाङ, भरत पौडेल, कृष्णबहादुर थापा, मुकुन्द सापकोटा र कैलाश न्यौपानेको घरलाई उच्च जोखिममा पारेको हो । पहिरो दुई वटा घरको जगमा पुगेको छ भने ती घरका सामान अन्यत्र सार्नुका साथै बासिन्दासमेत अन्यत्र बसी घर खाली गरेको छ ।

खानेपानी समस्या समाधान गर्न सरकारको रु एक करोड ३२ लाखको लागतमा वडा नं १ को भिरालो सार्वजनिक जग्गामा पाँच लाख लिटर क्षमताको ट्याङ्की बनाउने क्रममा पहिरो गएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिए । 

३ गतेको पहिरोमा चर्काएको ठाउँमा पहिरो रोकथामको प्रयास भइरहँदा त्यससँगै पश्चिमतर्फ पनि आज पुनःपहिरो गएको उनले जानकारी दिए । यहाँका घर र पूर्व तथा पश्चिमको कालोपत्र सडकसमेत पहिरोमा भासिने जोखिममा रहेको बताउँदै उनले ३ गते भएको सहमतिअनुसार तत्कालै संरक्षणमा नलागे ठूलो जोखिम व्यहोर्नुपर्ने बताए । ३ गते पहिरो गएको ठाउँमा पहिरो रोकथामका लागि मध्यपुरथिमि नगरपालिकाले टेवा पर्खाल लगाउन शुरु गरे पनि अर्को ठाउँबाट पुनः पहिरो जान थालेको हो । 

पहिरो मध्यपुरथिमि नगरपालिका लोकन्थली

विशेष