सनी लियोनीले मुख्य भूमिकामा नेपाली फिल्म खेल्ने
काठमाडौँ । चलचित्र ‘पासवर्ड’ मा समावेश ‘आजको साम’ बोलको गीतमा आइटम नृत्य गरेर चर्चामा रहेकी बलिउड अभिनेत्री सनी लियोनीलाई शीर्ष भूमिकामा अनुबन्ध गरेर नयाँ फिल्म निर्माण गरिने भएको छ । ‘पासवर्ड’ का निर्मातामध्येका एक अमीत बस्नेतले सनीलाई शीर्ष भूमिकामा लिएर नयाँ चलचित्र निर्माण गर्ने घोषणा गरे ।
बिहीबार राजधानीमा भएको प्रिमियर शोको कार्यक्रममा बोल्ने क्रममा उनले ‘ब्रेकिङ न्यूज’ भन्दै अर्को चलचित्रमा सनी लियोनीको शीर्ष भूमिका रहने बताए ।
‘तपाईंहरुका लागि एउटा ब्रेकिङ समाचार छ, हामीले अर्को चलचित्रमा सनी लियोनीलाई लिड रोलमा लिएर चलचित्र निर्माण गर्नेछौँ, उक्त चलचित्रको पूरै छायांकन लण्डनमा हुनेछ,’ उनले भने । यता सनीले पनि आफू नेपाली चलचित्रमा काम गर्न पाउँदा उत्साहित भएको बताउँदै आएकी छिन् । उनले चलचित्र ‘पासवर्ड’ को गीतमा आफूले आइटम डान्स गर्न पाउँदा खुशी लागेको र नेपाल आफ्नो मन पर्ने देश भएको बताइन् ।
प्रिमियर शोमा भारतबाट आएकी सनी नै मुख्य आकर्षण बनेकी थिइन्। यद्यपि प्रिमियरमै अर्को प्रोजेक्टको घोषणा गरिए पनि यो चलचित्र बन्नेमा भने शंका गरिएको छ ।