मुख्य समाचार

इन्द्रजात्रा हेर्न १६ मेयरसहित विदेशी पाहुना काठमाडौं आउँदै

इन्द्रजात्रा हेर्न १६ मेयरसहित विदेशी पाहुना काठमाडौं आउँदै

काठमाडौं । उपत्यकाको विशेष सांस्कृतिक पर्व इन्द्रजात्रा अवलोकनका लागि काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध भएका सहरका प्रमुखसहित ४८ जना विदेशी पाहुना बिहीबार काठमाडौँ आइपुग्ने भएका छन् । ‘पर्यटन वर्ष २०२०’को प्रचारप्रसारको उद्देश्यले काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रा पर्वका अवसरमा विदेशी पाहुनालाई आमन्त्रण गरेको हो ।

महानगरपालिकाद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा चीन, भारत, बङ्गलादेश, भुटान र जापानका महानगरपालिकासँग भगिनी सम्बन्ध भएका १६ सहर प्रमुखसहित ४८ जना पाहुना आउने निश्चित भएको जानकारी गराइएको छ ।

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले नेपालमा पर्यटक भित्र्याउन यहाँको मूर्त–अमूर्त सांस्कृतिक सम्पदा विशेष आकर्षण हुने विश्वाससहित राष्ट्रिय पर्वको मान्यता पाएको इन्द्रजात्रा अवलोकनका लागि विदेशी सहरका प्रमुखलगायतलाई निम्ता दिएकोमा ४८ जना आउने निश्चित भएको बताए ।

महानगरपालिकाले नेपाल भ्रमण वर्ष प्रवद्र्धनको उद्देश्यसहित पहिलो पटक विदेशी पाहुनालाई इन्द्रजात्रा अवलोकनका लागि निमन्त्रणा गरेको हो । प्रमुख शाक्यले कुमारी, गणेश, भैरवलाई रथमा राखी सहर परिक्रमा गराउने, लाखेनाच, पुुलुकिसि, दीप्याखँ, महाकाली नाच, श्रीहरिचोक आकाश भैरव नाचलगायत अन्य थुप्रै सांस्कृतिक र धार्मिक परम्परा प्रस्तुत गरिने इन्द्रजात्रा विश्वमा अन्यत्र कतै पनि मनाइँदैन । 

इन्द्रजात्रामा सहभागी पाहुनालाई विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्य, स्वयम्भूमै रहेको प्राकृतिक सङ्ग्रहालय, भक्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, चन्द्रागिरिलगायत महत्वपूर्ण स्थानको भ्रमण गराइने छ । नगरवासीको सभ्यता झल्काउने पर्व सभ्य र भव्यताका साथ मनाउन महानगरपालिका, इन्द्रजात्रा व्यवस्थापन समितिले हार्दिक अपिल गरेको छ ।

वसन्तपुरस्थित कुमारीघरको वार्षिक पूजा र शान्तिस्वस्ति कार्य गरेर मङ्गलबारबाट इन्द्रजात्रा सुरु भएको छ । महानगरपालिकाको आमन्त्रणमा आउने विदेशी पाहुनामा चीनको स्वशासित क्षेत्र ल्हासा नगरका मेयर गउ गउ, भारतको नर्थ दिल्ली नगरपालिकाका सरदार अवतार सिंह तथा इस्ट दिल्ली नगरपालिकाका मेयर अञ्जुकमल कान्त, भुटानको थिम्पु नगरका किन्ले दोर्जे र बङ्गलादेशको ढाका साउथ सिटी कर्पोरेसनका मोहम्मद सैयद खोकन हुनुहुन्छ ।

त्यसैगरी काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध कायम भएका जापानका सिटिनेट ओक्लोहामा, वल्र्ड टुरिजम सेन्टर लगायतबाट इन्दजात्रा अवलोकनका लागि बिहीबार प्रतिनिधि नेपाल आइपुग्ने महानगरपालिकाले जानकारी गराएको हो । 

इन्द्रजात्रा काठमाडौँ महानगरपालिका सांस्कृतिक पर्व

विशेष