मुख्य समाचार

गृहमन्त्रीका भाइ नरेशले प्रहरी बयानमा भने, ‘समीरमानलाई जेलमा भेटेको छैन’

गृहमन्त्रीका भाइ नरेशले प्रहरी बयानमा भने, ‘समीरमानलाई जेलमा भेटेको छैन’

काठमाडौं । फिरौती संकलनमा सक्रिय भएको अभियोगमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेश थापाले आफूले सुन्धारास्थित केन्द्रीय कारागारमा गएर समीरमान बस्नेतलाई नभेटेको भन्दै इन्कारी बयान दिएका छन् । 

केन्द्रीय अनुसन्धान ब्युरोसँगको बयानमा थापाले बस्नेतलाई नचिनेको दाबी गरेका छन् । केन्द्रीय कारागारको सुरक्षार्थ खटिएका इन्स्पेक्टर विपिन ओझाले भने नरेशले बस्नेतसँग जेलभित्रै भेटेको आफूले देखेको बयान दिएका छन् । 

नरेशले आफूले समीरमानलाई नचिनेको बताएपछि ब्युरोको अनुसन्धान अधिकारीहरु उनीहरुबीच पुरानै चिनाजानी रहेको बताउँछन्। ब्युरो स्रोतले भन्यो, ‘उनले समीरमानलाई भेट्नका निम्ती बारम्बार कोसिस गरेको देखिन्छ र अन्तमा गृहमन्त्रीको भाई भएको परिचय दिएर कारगारभीत्र पुगेर समीरमानसँग भेटेको देखिन्छ।’ 

नरेशले चिन्दिनँ भनेका जे भन्ने जावेद अनवरदिन दुबईमा छन्। अनुसन्धान अधिकारीहरुका अनुसार फिरौती असुलीको संसारमा चर्चामा आएका कुमार घैटेसँग सम्बन्धमा रहेका जावेद घैटेको मृत्यु पछि दुबईमा बसेर फिरौती असुलीमा सक्रिय छन्।

नरेशले बयानमा पक्राउ परेका अर्का प्रतिवादी शैलेश प्रजापतीलाई भने चिन्ने गरेको बताएका छन्। उनले भनेका छन, ‘शैलेश र विनोद लामासँग दुई ढाई महिना अगाडिदेखि चिनजान भएको हो। निज शैलेश प्रजापतीले सञ्चालन गरेको फुड कोर्टमा खाजा नास्ता गर्न जाने बखतमा उनीहरुसँग चिनजान भएको हो।’

नरेशले सुरेन, पवन र शैलेश पक्राउ पछि फिरौती असुलीको धन्दामा आफ्नो नाम पनि मुछिएकोबारे शैलेशकी पत्नीबाट थाह पाएको पनि बताएका छन्। उनले भनेका छन, ‘शैलेश पक्राउ पछि निजकी श्रीमतीले मलाई फोन गरी तपाईंको नाम पनि घटनामा संग्लन रहेको छ भनि फोनमा कुरा गरेकाले सोही बखतमा थाह पाएको हुँ।’

केन्द्रीय अनुसन्धान ब्युरोको थुनामा रहेका नरेश सहितका आठ प्रतिवादी विरुद्ध काठमाडौं जिल्ला अदालतमा संगठित अपराध र आपराधिक लाभ (एक्सर्टसन) को मुद्दा जारी छ। अदालतले बिहीबार मात्रै तीन प्रतिवादीसँग बयान लिइसकेको छ भने अन्यसँगको बयान आइतबार पछि जारी रहनेछ। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 


 

रामबहादुर थापा ‘बादल’ समीरमान बस्नेत नरेश थापा

विशेष