१२ घण्टासम्म तड्पिएर सुत्केरीको मृत्यु, सासुले छुनै मानिनन्
बैतडी । बैतडीमा एक महिलाको स्वास्थ्य संस्थामैँ अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका वडा नम्वर १, की २१ वर्षिया सुत्केरी गोमति चाँडको स्थानीय स्वास्थ्य संस्थामै शिशु जन्मेको १२ घण्टासम्म रक्तश्राव नरोकिएपछि मृत्यु भएको हो ।
जिल्लाको शिवनाथ गाउँपालिका १, तेर्साबाटा भल्यामा रहेको सामुदायिक स्वास्थ्य ईकाईमा शनिबार बेलुकी ७ बजे सुत्केरी हुन आएकी गोमतिले राती १ः३० बजे शिशु जन्माएकी थिइन् । तर सुत्केरी भएपछि रक्तश्राव रोकिएन् । स्वास्थ्य संस्थामा रक्तश्राव रोक्ने औषधि पनि थिएन ।
स्वास्थ्य संस्थाले अन्यत्र लैजान आग्रह गरेपनि सुत्केरी हुँदा बुहारी नछुने भन्दै गोमतिकी सासु लछुदेवी चाँडले सुत्केरी बुहारीलाई छुन नमानेपछि उनको मृत्यु भएको हो । गोमतिको आईतबार दिउँसो २ बजे मृत्यु भएको थियो । स्वास्थ्य संस्थामा अहेब पदमसिंह साउद र अनमि भूमेश्वरी महर पनि थिए ।
स्वास्थ्य संस्थामा रक्तश्राव रोक्ने औषधि नभएको र अनमि पनि त्यति तालिम प्राप्त नभएको तथा अन्यत्र लैजान सासुलाई आग्रह गरेपनि बुहारी नछुने भन्दै सासु पन्छिएपछि १२ घण्टासम्म तड्पिएर गोमतीको मृत्यु भएको थियो ।
गोमतिले जन्म दिएका शिशुको अवस्था सामान्य रहेको स्वास्थ्य संस्थाले जानकारी दिएको छ । सुत्केरी महिलाका श्रीमान दानसिंह चाँड रोजगारीका सिलसिलमा भारतमा छन् ।