भिडियो Breaking News समाज कभर स्टोरी

तेस्रो मुलुकमा पनि निर्यात गरिन्छन् नेपाली महिला ( भिडियोसहित) 

तेस्रो मुलुकमा पनि निर्यात गरिन्छन् नेपाली महिला ( भिडियोसहित) 

१८ वर्षीय युवक यौन प्यास मेटाउन गयो । भित्र थिइन् ३२ वर्षीय युवती । युवकले अप्राकृति यौन सम्बन्ध राख्न खोज्यो । युवतीले मानिनन् । युवकले विवाद गरेपछि युवतीले गोप्यरुपमा १०० मा डायल गरेर प्रहरीलाई खबर गरिन् । त्यो खबर म कहाँ पनि पुग्यो । पछि हामीले ती युवतीको उद्दार गर्यौं । 

समाजसेवी सुनिता दनुवारले नेपाल आजसंगको विशेष साक्षात्कारमा भनिन्, ‘ बाहिर खाजाघर, भित्र यौन धन्दा हुँदो रहेछ । काठमाडौैं गोंगबुको घटना हो यो । त्यहाँ १८ वर्षीय युवकदेखि ८५  वर्षका बृद्धहरु पनि यौनको प्यास मेट्न जाँदा रहेछन् ।’ 

करिब २३ वर्षदेखि मानवअधिकारको क्षेत्रमा कार्यरत दनुवारले लामो समय शक्ति समूह खडा गरि समाजसेवा गरिन् । आफू पनि बेचबिचनको जीवन भोगेकी दनुवारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्जनौ पुरस्कार र सम्मान प्राप्त गरेकी छिन् । 

दैलेख जिल्लाको काशिकात गा.वि.स.मा गंगा र चन्द्रकला वनका १० सन्तान मध्यकी उनी एक हुन् । उनको जन्म दैलेखमा भएतापनि गरिवीको कारण मजदुरी लागि भारतमा अभिभावक जाँदा उतै वाल्यकाल वित्यो । उनले भारतमा पटक–पटक वेचविखनमा पर्नुपर्यो । 

सुनिता दनुवार अथक प्रयासबाट नेपाल आउन सफल भइन् । नेपालमा आएर १९९६ मा उनले शक्ति समूह नामक संस्था स्थापना गरी चेलिवेटी वेचविखन विरुद्धको अभियान सुरु गरेकी हुन । उनले गाउँ गाउँमा गएर वेचविखन विरुद्धको अभियान चलाइन । 

अहिले उनले नयाँ पुस्तालाई शक्ति समूह हस्तान्तरण गरी सुनिता फाउण्डेन स्थापना गरेकी छिन् । केही महिना अघि मात्रै स्थापित यो फाउण्डेसनले मानववेचविखनसहित युवाहरुको रोजगारी र आधुनिक कृषीमा केन्द्रीत भएर काम गर्ने उनी बताउँछिन् । 

मानवबेचबिखनको प्रमुख कारण नै गरिवी भएकाले युवालाई रोजगार बनाउने, कृषी क्षेत्रका माध्यमबाट पीडित तथा स्थानीयवासीको आर्थिक अवस्था सुधार्ने योजनामा आफू लागेको उनी बताउँछिन् । 

उनका अनुसार नेपाल भित्रै ५० हजार भन्दा बढी महिला बेचबिखनमा परेका छन् । अझ देश बाहिर बेचिएकाहरुको तथ्याङ्क जोड्दा यसले लाखौंको आँकडा नाघ्छ । 

नेपालमा  ७७ वटै जिल्ला मानववेचबिखनको जोखिममा छन् । आन्तरिकरुपमा हुने बेचबिखन त प्रायः सबै जिल्लामा भएको पाइन्छ । कतिपय घटना बाहिर आउँछन्, कतिपय थाहा नै हुँदैन । भर्खर त यस सम्बन्धी चेतना जागेको छ, अनुसन्धान सुरु हुँदैछ । 

खासगरी काठमाडौं, पोखरा, नेपालगंज, बीरगंज, झापा, बिराटनगरका लगायतका शहरमा बढी बेचबिखन हुने गरेको छ । यो संख्या दैनिक बढ्दो छ । यस्ता गतिविधिमा सेना र प्रहरीका पूर्व अधिकारीहरु, ब्यापारी, केही कलाकर्मी, डन भनेर चिनिएकाहरु बढी संलग्न छन् । उनीहरुको प्रशासनसंग गज्जबको मिलेमतो हुने भएकाले उनीहरु सितिमिति पक्राउ पर्दैनन् । 

देश बाहिर पनि नेपालबाट महिलाहरु निर्यात हुने गरेका छन् । खासगरी भारत, चीन, कोरिया, इराक, कुवेत लगायतका देशमा नेपाली महिलाहरु बिक्री हुने गरेका छन् । बिभिन्न बाहना र प्रलोभन देखाएर लैजाने र त्यहाँ गएर यौनकर्म गर्न लगाउने गर्दछन् । अझ चीन र कोरियामा त विहा गरेर लैजाने, बच्चा जन्माउने र त्यसपछि घर निकाला गर्ने गरेका छन् । बच्चा जन्माउनैका लागि चिनियाँहरुले विहा गर्ने र बच्चा जन्माएपछि बच्चा आफूसंगै राख्ने महिलालाई धपाउने गरेका छन् । 

दनुवारले  हालसम्म २ हजार भन्दा वढि वेचविखनमा परेका चेलीहरुलाई उद्धार गरी जीवन वचाएकी छन् । आफू प्रभावित भएपछि आफूजस्तै पीडितको पक्षमा कार्य गर्ने अठोटले गर्दा आज उनी शक्ति समूह हुँदै सुनिता फाउण्डेसनकोसम्म पुगेकी छिन् । उनलाई अमेरिका सरकारले बोलाएर विशेष कार्यक्रम गरी उनको सम्मान समेत गरेको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पियो आफै उपस्थित भएर दनुवारलाई सम्मान गरेका थिए । 

मानव वेचविखन न्यूनीकरणका लागि सरकारसँग नीति निर्माण गर्न उनको पहिलो प्राथमिकता छ । यसरी बेचबिखनमा परेका महिलाहरुको उद्दार गर्ने सम्बन्धमा अहिलेसम्म कुनै नीति नै छैन । कम्तिमा बैदेशिक रोजगारीका लागि कुन देश सुरक्षित छ भन्ने निक्र्यौल गरेर मात्रै पठाउने व्यवस्था गरियो भने राम्रो हुन्छ । 

आन्तरिक होस वा बाह्य वेचबिखन सबै कुकृत्य रोक्न सरकार नै गम्भीर हुनुपर्छ । नेपालमा त जनप्रतिनिधि नै मानववेचबिखनमा संलग्न भएको र उसको अभियोग पुष्टि हुँदा पनि अदालतले सम्मानपूर्वक रिहा गरेका उदाहरण पनि प्रशस्त छन् । यस्तो परिस्थितिमा सरकार संवेदनशिल भएर जिम्मेवारपूर्वक लाग्नुको विकल्प हुँदैन । 

‘विगतको पृष्ठभूमीले हो कि के हो थाहा छैन अझैपनि केही दलालहरु आफनो खोजीमा आएको सुन्छु, तीनिहरुले सोझासोझी कतिलाई फसाइरहेका हुनसक्छन्, त्यसको चिन्ता लाग्छ । व्यक्तिगत रुपमा त सम्मान धेरै पाएकी छु, कहिलेकाहिं कसैले सामाजिक संजालमा गलत आशय प्रकट गरेको महसुस गर्छु, त्यस्तालाई तुरुन्त साथीको सूचीबाट हटाउँछु । ’ दनुवारले आफनो पनि अनुभव सुनाइन् । 

विशेष