दलहरुको इमान्दार प्रयत्न नै संविधानको दीर्घजीवन (भिडियोसहित)
सरकारले संविधान दिवस भव्यतापूर्वक मनाइरहँदा सरकारमै सहभागी समाजवादी पार्टी, नेपालले सरकारी कार्यक्रम बहिष्कार गरेको छ । सो पार्टीले औपचारिक रुपमै संविधान दिवस र कालो दिवस दुवै नमनाउने निर्णय गरेर द्वैध चरित्र प्रदर्शन गरेको छ । उता, राजपा नेपालले भने संविधान दिवसलाई ‘कालो दिन’ भनेर सगौरव घोषणा गरेको छ ।
यी सबै पृष्ठभूमिलाई हेर्दा संविधानमाथिको विवाद झन उग्र भएर जाने देखिन्छ । तर, ठ्याक्कै परिस्थिति त्यस्तो नभएको बताउँछन् वरिष्ठ अधिवक्ता एवम राजनीतिक विश्लेषक महेशकुमार नेपाल । उनका अनुसार संविधान सर्वस्वीकार्य भएको छ । केही झिनामसिना मत मतान्तर भएपनि संविधान अनुसार सबै असन्तुष्ट पक्ष तीनै तहका सरकारमा समाहित भैसकेकाले अब ठूलो विवाद छैन । समाजवादी नेपाल होस् वा राजपा उनीहरु संविधान अनुसार नै चलेका छन्, संविधान अनुसार नै राज्यका पदमा बसेर लाभ लिइरहेका छन् ।
नेपाल भन्छन्, ‘राजपा र समाजवादी पार्टी दुवैले संविधान संशोधनका नाममा राजनीतिक मोलमलाई गरे । राजनीतिक खपतका लागि संविधान संशोधनको नारा उछाले । यो काम अहिले पनि गर्दैछन् । तर, वास्तवमा उनीहरुले पनि संविधान संशोधन भित्रैदेखि चाहेका छैनन् । उनीहरु जुन क्षेत्रको नाममा राजनीति गर्छन्, त्यसमा पनि इमान्दार देखिएनन् । नितान्त व्यक्तिगत र पार्टीगत लाभ नै उनीहरुको राजनीतिको प्रमुख उद्देश्य देखियो । आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने भएपनि अहिले त्यसको जरुरत छैन । ’
दलहरुको द्वैध चरित्र नै संविधानको सुरक्षित भविष्यका लागि खतरा छ । सत्तारुढ दल नेकपा र विपक्षी कांग्रेसमा पनि द्वैध चरित्र देखिन्छ । कांग्रेसले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका सवालमा कहिलेकाहीं प्रश्न उठाएको देखिन्छ । यी विषयमा पार्टीभित्र छलफल चल्नु सामान्य भएपनि परिवर्तन नै गर्नुपर्छ भनेर हिंड्नु उचित होइन । यो विषयमा अब सोच्नु पनि हुँदैन ।
संविधानले अंगिकार गरेको तीन तहका सरकारमा संविधानको सम्पूर्णतामा काम हुन नसकेपनि विस्तारै संविधान कार्यान्वयनको काम भैरहेको छ । यसतर्फ जनप्रतिनिधिहरु सचेत रहेको पाइन्छ । संविधान अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी आयोग गठन नहुनु, संवैधानिक आयोग प्रभावकारी नहुनु, संविधानसंग बाझिएका कानुनको संशोधन तथा संवैधानिक हकका कानुन निर्माणमा ढिलाइ हुनु केही कमजोरीका रुपमा देखिएका छन् । वर्तमान सरकारले यी विषयमा गम्भीरतापूर्वक काम गरेको देखिन्छ । सरोकारवाला सबैले यसमा साथ दिएर अघि बढनुपर्छ ।
नेपालको संविधानप्रति छिमेकी भारतसहित विभिन्न देशहरुको चासो देखिन्छ । अझ भारतले हिन्दु राष्ट्र, राजसंस्था र प्राकृतिक श्रोतहरुमाथि चासो राखेको भन्ने अप्रत्य सुनिन्छ । भारतले स्वागत नगरेसम्म संविधान जहिले पनि जोखिममै रहने कुरा पनि सुनिन्छ । यी सबै विषयबाट पार पाउन नेपालका दलहरु एकवद्ध हुनुको विकल्प छैन । नेपालका प्रमुख दलहरु अझ संविधान जारी गर्ने सबै शक्ति एकताबद्ध हुने हो भने संविधानको आयु धेरै लामो हुनसक्छ ।
संविधानलाई असफल पार्न थुप्रै चलखेल अहिले पनि मुलुकभित्र भैरहेको देखिन्छ । यी शक्तिलाई विदेशी तत्वहरुले पनि खेलाएको हुनसक्छ । नेपालको राजनीतिमा विदेशीले खेल्न खोज्नु सामान्य जस्तै भइसक्यो । यी सबै कुरालाई परास्त गर्न सक्ने गरी अघि बढ्नु नै आजको आवश्यकता हो ।