महानगरका ३३ वटै वडामा डेंगु नियन्त्रण अभियान
कास्की । डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि पोखरा महानगरका ३३ वटै वडामा मन्त्री तथा प्रदेशसभा सदस्यहरुलाई सहजकर्ताको जिम्मेवारी तोकेर नियन्त्रण कार्ययोजना तयार गरिएको छ । सामाजिक विकास मन्त्रालयले ‘घर परिवार र सम्पूर्ण समुदायको सहभागिता, डेङ्गुमुक्त गण्डकी प्रदेश हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित वडास्तरमा कार्ययोजना निर्माण गरेर नियन्त्रणको अभियान शुरु गरेको हो ।
प्रत्येक वडामा नियन्त्रण कार्ययोजना निर्माण गरेर विभिन्न सङ्घसंस्था, विद्यालय, स्वास्थ्य संस्था तथा वित्तीय संस्थाहरुको समेत सहकार्यमा खोज र नष्टको अभियान सञ्चालन गर्ने लक्ष्य राखिएको छ । सरकारका मन्त्री, प्रदेशसभाका सदस्य सहजकर्ता तथा सम्बन्धित वडाका वडाध्यक्ष, स्वास्थ्यका प्राविधिक कर्मचारीले वडाका राजनीतिक दल, सङ्घसंस्था, आमा समूह, क्लबलगायतको सहभागितामा आफ्नो वडामा डेङ्गु नियन्त्रण कार्ययोजना निर्माण गरेर सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिने सामाजिक विकासमन्त्री नरदेवी पुनले बताए ।
लामुखट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग भएकाले वडास्तरमा सञ्चालन गरिने कार्यक्रममा हप्तामा दुई दिन सबै स्थानमा खोज र नष्ट गर्ने अभियान चलाउने, डेङ्गु नियन्त्रणका बारेमा सम्पूर्ण विद्यालयलाई जानकारी दिने, वडाभित्रका अनावश्यक टायरको व्यवस्थापन गर्ने र पानी जम्ने स्थानका खाल्डाखुल्डीहरु पुर्ने रहेको छ ।
त्यसैगरी कार्ययोजनामा लामखुट्टेका बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने, वर्कशप, ग्यारेज र फोहरमैला व्यवस्थापन गर्ने, टोल विकास संस्था र नागरिक समाजका व्यक्तिहरुलाई अभिमुखीकरण गर्ने, घर कार्यालय, विद्यालय, होटल तथा सङ्घसंस्थाहरुमा स्वतस्फूर्त रुपमा आफैँ खोज्ने र नष्ट गर्ने गरी जनपरिचालन गर्ने, असुरक्षित कन्टेनरहरुको व्यवस्थापना गर्ने तथा सञ्चारमाध्यमबाट डेङ्गु रोग नियन्त्रणसम्बन्धी सन्देश प्रकाशन गर्नेलगायत छन् ।
पर्यटकीय शहर पोखरामा डेङ्गुको सङ्क्रमण बढ्दै गएर पर्यटनलगायत समग्र क्षेत्रलाई प्रभावित पार्ने खतरा देखिएको तथा सरकार एक्लैले भन्दा पनि समुदायको सहकार्यबाट नियन्त्रण सम्भव हुने भएकाले सरकारले कार्ययोजना निर्माण गरेर नियन्त्रणको उपायहरु शुरु गरेको मन्त्री पुनको भनाइ छ ।
वडास्तरमा सञ्चालन गरिने कार्यक्रमहरुको कार्यान्वयनको अनुगमनका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी तथा उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रदेश सरकारका प्रमुख सचिव हरिप्रसाद बस्याल रहेको समिति गठन गरिएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा एक हजार ८५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । प्रदेशका प्रत्येक जिल्लाबाट हरेक दिन साँझ निर्देशनालयमा जानकारी गराउने व्यवस्था गरिएको बताउँदै निर्देशनालयका अधिकृत होग्रेथ भुर्तेलले जानकारीमा नआएको र सङ्क्रमित भएर घरमै उपचार गराइरहेकाहरुको सङ्ख्या योभन्दा बढी भएको हुन सक्ने बताए ।
निर्देशनालयका अनुसार सबैभन्दा बढी कास्कीमा एक हजार ८४४, स्याङ्जामा आठ र पर्वतमा एक जनामा डेङ्गु देखिएको छ ।